आजको मिति: बुधबार, जेठ २७, २०८३
०८:०८ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर भएको एक विद्यालय

कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या ‘शून्य’

Infinite Scroll Ad

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा एउटा अनौठो र चिन्ताजनक अवस्था देखिएको छ। विगत ४३ वर्षअघि (विसं २०४० मा) स्थापना भएको यस विद्यालयमा हाल अध्ययन गर्ने विद्यार्थी र पढाउने शिक्षक तथा कर्मचारीको सङ्ख्या ठ्याक्कै बराबर अर्थात् ३–३ जना मात्र रहेको छ।

कक्षा ३ सम्म पठनपाठन हुने यस विद्यालयको कक्षा १ र कक्षा २ मा यस वर्ष विद्यार्थी सङ्ख्या पूर्ण रूपमा शून्य छ। विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना मात्र विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा दरबन्दीअनुसार स्थायी शिक्षक तथा प्रधानाध्यापक शान्ति राम्जाली, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र कार्यालय सहयोगी सुर्जना रोका गरी तीन जना कार्यरत छन्।

हाल विद्यालयमा भर्ना भएका विद्यार्थीहरूमा जेसिका खड्का बालकक्षामा छिन् भने नेलसन रोका र श्रीसा खड्का कक्षा २ उत्तीर्ण गरेर यसपालि कक्षा ३ मा भर्ना भएका हुन्।

Sidebar Premium Ad

विद्यालयको यो दयनीय अवस्था हुनुमा तीव्र बसाइँसराइ र घट्दो जन्मदर मुख्य जिम्मेवार रहेको प्रधानाध्यापक शान्ति राम्जालीले बताए।

“विद्यालयको सेवा क्षेत्रभित्र पर्ने भालेबासमा १५ र कोप्चेपानीमा जम्मा १० घरपरिवारको मात्र बसोबास छ,” प्रधानाध्यापक राम्जालीले भने, “विसं २०७२ सम्म १५ देखि २० जनासम्म विद्यार्थी हुन्थे। तर गाउँमा नयाँ बच्चा जन्मने दर घटेको र रोजगारी तथा सुविधाका लागि अन्यत्र बसाइँसराइ गर्ने क्रम बढेकाले अहिले यो समस्या आएको हो।”

यसअघि विसं २०७५ मा कोप्चेपानीमा रहेको विद्यालयको पुराना भवन कालीगण्डकी नदीमा आएको भीषण बाढीले बगाएपछि यसलाई भालेबासमा स्थानान्तरण गरिएको थियो। हाल विद्यालयमा सुविधायुक्त नयाँ भवन, शौचालय र बालमैत्री कक्षाकोठा भए पनि विद्यार्थी नै नहुँदा विद्यालय परिसर सधैँ सुनसान बन्ने गरेको छ। विद्यार्थी सङ्ख्या निकै कम भएपछि गत वर्ष गाउँपालिकाले विद्यालयको एक जना शिक्षकको दरबन्दीसमेत कटौती गरिदिएको थियो।

Sidebar Premium Ad

स्थानीय बासिन्दा तुलाराम बुढाका अनुसार बसाइँसराइले गाउँ नै रित्तिँदै गएकाले स्कुलमा केटाकेटी घटेका हुन्। तर, गाउँमा बाँकी रहेका सीमित बालबालिकाहरूलाई शिक्षाको अधिकारबाट वञ्चित गर्न नमिल्ने उनले बताए। भालेबास र कोप्चेपानीका छिमेकी गाउँहरू गाडपार र काभ्रेमा रहेका अन्य विद्यालय पुग्न साना बालबालिकाहरूलाई करिब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। त्यसैले भौगोलिक विकटताका कारण सङ्ख्या कम भए पनि गाउँकै विद्यालय सञ्चालन गरिरहनु परेको स्थानीयको भनाइ छ।

अन्नपूर्ण गाउँपालिकाभित्रका धवलागिरि मात्र होइन, ठाडा, किन्दु, स्वाँत, घराप र चित्रेमा रहेका अन्य आधारभूत विद्यालयहरूमा पनि विद्यार्थीको सङ्ख्या निकै न्यून छ। गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भौगोलिक विकटता र छरिएका बस्तीहरूका कारण विद्यालयहरूमा यो समस्या देखिएको स्वीकार गर्दै विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरूमा आगामी दिनमा कक्षा घटुवा (डाउनग्रेड) गर्ने तथा दरबन्दी व्यवस्थापन गर्ने नीति गाउँपालिकाले लिएको जानकारी दिए।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *