दमक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सीमा विवादको समाधान हल्लाले नभएर कूटनीतिक माध्यमबाट गरिने बताएका छन् ।
५ दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका सभापति लामिछानेले लोकप्रियताका लागि बोल्ने र कुटनीतिक समाधानको विषय फरक हुने बताएका हुन् ।
‘लोकप्रियताका लागि सजिलो हुन्छ, तर समस्या समाधान गर्न त्यसको चरण हुन्छ । कूटनीतिका पनि चरण हुन्छ । त्यसका चरणमा सहि ठाउँमा त्यस्ता कुरा राख्न नेपालले हिजो पनि राख्थ्यो आज पनि राख्छ,’ उनले भने ।
लामिछाने भारत भ्रमण जानु भन्दा अगाडि अचानक संसद्मा पुगेका प्रधानमन्त्री एवम् रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको भारतीय मिडियाहरुले समेत खण्डन गरेका थिए भने नेपालमा बालेन अभिव्यक्तिलाई ‘देशद्रोही’ भन्दै उनको राजिनामा माग्ने क्रम जारी छ ।
लामिछानेले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कूटनीतिक विषयहरू ढोल बजाएजस्तो नहुने बताएका हुन् ।
‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन,’ उनले भने, ‘ढोल नबजाइ आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।’
प्रधानमन्त्री बालेनले संसद्मा दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै लामिछानेले कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्नुपर्ने बताएका हुन् ।




