आजको मिति: बुधबार, जेठ १३, २०८३
१०:२१ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

सडकमा स्वतन्त्रताको पदचाप

Infinite Scroll Ad

घाम डुब्ने समयसँगै महिलाको घर बाहिर निस्कने समय सकिन्छ । कारण अनेक छन् । तर, विकल्प केवल हामीमा लगाइने बन्देज भने पक्कै होइन । सार्वजनिक स्थानहरूमा सुरक्षा र दृश्यता दाबी गर्न हामी निरन्तर रातमा हिँड्ने अभ्यासमा छौँ ।

सपना कन्दङ्गवा
हामी महिलाहरूले कति धेरै डरहरूसँग जुधेर बाँचेका हुन्छौँ । कहिले सुरक्षा, कहिले संस्कार त कहिले घरको इज्जतको नाममा । हिँड्दा, बोल्दा, बस्दा हरेक कुरामा डर मिश्रित हुन्छ । हामी डरहरूसँग बाच्छौँ । जानीनजानी यही जीवनलाई आफ्नो दैनिकी बनाएका छौँ । सीमाहरूलाई हामी मौन स्वीकृति दिन्छौँ । यही मौनताले हामीलाई एउटा अनौठो घेराभित्र राख्छ । जहाँ हामी निरन्तर त्यही डरहरूको बन्देजमा बाँच्छौँ । र, यी डर हाम्रा आउने पुस्तौँ पुस्तासम्म पनि सर्दै जान्छ ।

यस्तै एउटा डर हो – महिला भएर राति हिँड्नु । यस्ता डरलाई हामीले नजानिँदो पाराले जीवनशैली नै बनाएका छौँ । हामी कतिपय महिलालाई त थाहा नै पनि हुँदैन रात पनि दिनजस्तै सबैको लागि हो । महिला जहाँसुकै भए पनि अँध्यारो हुनुअघि घर पुग्न हतारिनु पर्दछ, आफूलाई सुरक्षित राख्न । घरमा रातको खाना बनाउन, खुवाउन हतारिनु पर्दछ । ‘रातमा छोरी मान्छे हिँड्नु हुँदैन ।’ यसले हामीलाई अनौठो गरी बाँधेको छ । रात, अन्धकारले हामीलाई यसरी त्रसित बनाएको छ, मानौँ महिला रातमा मात्र असुरक्षित हुन्छन् । रात र महिला यी दुईबीचको सम्बन्धलाई जमिन र आकाशको जतिकै दूरी बनाइएको छ ।

Sidebar Premium Ad

महिलामा हुने अनेकौँ हिंसाका कारण महिला सशक्तिकरणका लागि विश्वव्यापी रूपमा थुप्रै पहलहरू भएका छन् । अनेकौँ अभ्यास, अभियान भइरहेका छन् । यसमध्ये एक हो, Women walk at midnight । यो एक अभ्यास हो । एक पहल हो । हामी महिलालाई अदृश्य रूपमा जकटेको हाम्रो ‘सिन्ड्रेला आवर’लाई बढाउने एक प्रयास हो । यो अभ्यास, यो हिँडाइमा हामी आराम गर्छौँ । हाम्रा(महिलाका) कुरा गर्छौँ, सँगै मनपर्ने विषयका गफ गर्छौँ । रमाइलो गर्छौँ । रातको खुला आकाश नियाल्दै, जुन तारा हेर्दै, बाटामा भेटिने फूल, सुवास, गाडी, मान्छे हरेकलाई अनुभूत गर्दै रातको आनन्द लिन्छौँ । विना कुनै ब्यानर, विना कुनै नारा र विना कुनै कार्यक्रम हामी हिँड्छौँ । सडक, गल्ली, पार्कमा हिँड्छौँ । हामी महिलाहरू समूहमा हिँड्छौँ । र, एकअर्कालाई प्रोत्साहन गर्छौँ । यो हिँड्ने अभ्यास आफैँमा एक कलात्मक विरोध हो । मौन विरोध । हामी महिलामा लगाइएको अनावश्यक पाबन्दीको ।

दमकमा विगत चार महिनादेखि मध्यरातमा हिँड्ने अभ्यास भइरहेको छ । हरेक महिनाको एकपटक, हामी महिलाहरूको समूह दमकका सडक, फुटपाथ र गल्लीहरूमा रातमा हिँड्दै छौँ ।

पहिलोपटक काठमाडौंको दिदी, बहिनी र साथीहरू रातमा हिँड्ने अभ्यास गर्नुभएको खबर सुन्नेबित्तिकै एक हुटहुटीले जन्म लियो । यो त हामीले पनि गर्नुपर्छ भन्ने लाग्यो । किनकि महिला हामी पनि हौँ । र, हाम्रो डर पनि अन्य महिलाभन्दा फरक छैन । त्यसैले महिनौँसम्मको सल्लाह, सुझाव र सहयोगले मनिषा चौहान र मलगायत हाम्रो साथीहरू मिलेर यो हिँड्ने अभ्यासलाई भारतदेखि काठमाडौं हुँदै हामीले हाम्रो शहर दमकमा ल्याइपु¥याएका छौँ । यो अभ्यास केवल हिँड्ने भन्ने कुरा मात्र हैन । रातमा हिँड्नुको राजनीति र यसको आवश्यकता पनि हो । विशेषगरी महिलाको सुरक्षा र स्वतन्त्रता दाबी गर्ने एक अभ्यास हो । यो महिलाहरूका लागि महिलाद्वारा स्वचालित छ । मध्यरात्री हिँडाइ अँध्यारोको जुनसुकै समयमा हिँडिन्छ । दिनमा, मध्यरातमा वा बिहान ३ बजे, ‘म हिँड्नेछु÷ हामी हिँड्नेछौँ,’– माया कृष्ण रावले आफ्नो नाटक ‘वक’ मा भन्नुभएझैँ ।

Sidebar Premium Ad

महिलालाई बन्देज गरिने समय जुन समय हुन्छ । सोही समय नै महिलाको लागि मध्यरात हो । कसैका लागि ७ बजे, कसैका लागि ९ बजे त कसैका लागि १२ बजे ।

आफूलाई महिला पहिचान गर्ने जो कोही विद्यार्थी, समुदाय, पेसा वा क्षेत्रका सम्पूर्ण महिला, जो डरलाई आफ्नो सीमामा बाँध्न अस्वीकार गर्छन् । सबै महिला एकसाथ यस अभ्यासमा हिड्छौँ । यो अभ्यास एक निःशुल्क र स्वयंइच्छा (भोलुन्टरी) रूपमा गरिने अभ्यास हो । यो अभ्यास कसैबाट प्रायोजित छैन । यो अँध्यारोसँगको सहयात्रा हो । महिला साथीहरू यहाँ आफ्नो नाम दर्ता गरेर यस अभ्यासमा सहजै जोडिन सकिन्छ । संविधानमै व्यवस्थित गरिएको आफ्नो हक, अधिकार र स्वतन्त्रताको दाबी गर्दै । हामी हिँड्छौँ । मध्यरातमा, दमकमा । साँझ नै हाम्रो लागि मध्यरात हो । घाम डुब्ने समयसँगै महिलाको घर बाहिर निस्कने समय सकिन्छ । कारण अनेक छन् । तर, विकल्प केवल हामीमा लगाइने बन्देज भने पक्कै होइन । सार्वजनिक स्थानहरूमा सुरक्षा र दृश्यता दाबी गर्न हामी निरन्तर रातमा हिँड्ने अभ्यासमा छौँ । हामी कसैसँग अनुमति माग्दैनौँ । किनकि यो हाम्रो हक हो । किनकि हामी सक्छौँ । त्यसैले हामी हिँड्छौँ।

रंगकर्मी मल्लिका तनेजाद्वारा सन् २०१६ मा भारतको दिल्लीबाट यो अभ्यास सुरुवात भएको हो । यस सोचको बीऊ भने सन् २०१२ बाटै अंकुराएको थियो । जब देशमा विभिन्न स्थानहरूमा ‘निर्भया केस’जस्ता थुप्रै महिला हिंसा बढिरहेको थियो, यसविरुद्धको अनेकौँ बहस र विद्रोह पनि बढिरहेको थियो । यसै समयमा एउटा नाटक मञ्चन भयो walk (वक) । रंगकर्मी माया कृष्ण रावज्यूको एकल नाटक मञ्चन थियो । यस नाटकमा महिला र हिँड्ने कुरालाई जोडिएको छ ।

Above Content Ad
Header Top Ad

यस नाटक र देशमा भइरहेका विभिन्न महिला हिंसा, महिला सशक्तिकरणका बहस र यसले ल्याएका परिवर्तनहरूले ‘Women walk at midnight’ सुरुवात हुनुमा ठूलो भूमिका निर्वाह गरेको छ । हामी, हामीभन्दा अघि र पछि आएका धेरै महिलाहरूको संघर्ष र अथक प्रयासको योगदानले आज यहाँसम्म आइपुगेका छौँ । त्यसैले यो अभ्यास हामीभन्दा अघि र पछिका सबै महिलाहरू र उहाँहरूको संघर्षमा समर्पित छ । आमा,दिदी,बहिनी,काकी,छोरी, ट्रान्स महिला, क्वीयर महिला सबै । जसले आफूलाई महिला पहिचान गर्नुहुन्छ । यो अभ्यास उहाँहरूको हो । सबै महिलाहरूको हो ।

यो अभ्यास पहिलोपटक दिल्लीको शहरमा २४ घण्टासम्म एक्लै हिँड्ने प्रयासबाट भयो । त्यो २४ घण्टाभित्र रात पनि आयो र रातको समयमा एक महिला एक्लै हिँडिरहेको दृश्य कल्पना गर्नसमेत कठिन भयो । त्यसैले धेरै महिलाहरू एकसाथ समूहमा हिँड्ने अभ्यासको थालनी भयो । वर्षौँ लाग्यो, समाजलाई बुझाउन, महिला रातमा सडकसम्म आइपुग्न, साझेदारी गर्न तर ध्यmभल ध्बपि बत ःष्मलष्नजत को अभ्यास रोकिएन । आज एक दशक पूरा हुँदै गर्दा भारत मात्र नभई जर्मनी, फ्रान्स, अफ्रिका, नेपालजस्ता विश्वका धेरै देशको शहरहरूमा यो अभ्यास भइरहेको छ । दमक पनि हिँड्ने अभ्यास ‘Women walk at midnight’ को एक च्याप्टर बनेको छ । हरेक महिना हामी महिलाहरू रातसँगको आफ्नै डर र नाजानिँदो पाराले हामीमा लगाइएको यस बन्देज प्रति मौन विद्रोह गर्दै हिडिरहेका छौँ ।

यस रातमा, मध्यरातमा हिँड्ने साधारण कार्य महिलात्व Feminism को कट्टरपन्थी दाबी र समान नागरिकताको माग हो । विश्वमा सकारात्मक परिवर्तनहरू भइरहेका छन् । महिलाहरू जुनसुकै समयमा पनि आफ्ना कर्म गरिरहेका छन् । हाम्रो समाजको सोच पनि खुला हुँदैछ । यद्यपि आज पनि महिला (छोरी, बुहारी) सुरक्षित र निडर भएर अँध्यारो सडकमा निस्कन मुस्किल छ ।

The wire जस्ता प्लेटफर्महरूद्वारा हाइलाइट गरिएका पहलहरूले व्याख्या गर्छन् कि जब महिलाहरू पूर्णरूपमा आनन्दको लागि समूहमा हिँड्छन्, उनीहरूको मांसपेशीहरू आराम गर्छन्, र उनीहरूले वास्तविक स्वतन्त्रताको अनुभव गर्छन् ।

नारित्व प्रायः सावधानी र हेरचाहको बोझद्वारा परिभाषित गरिन्छ । मध्यरातको समय पुनः प्राप्त गर्नु विशुद्ध फुर्सदको कार्य हो । यो खुला सुनुवाई हो कि, शहर, रातको आकाश, र डर विना बाँच्नको सरल स्वतन्त्रता सबैको लागि समान रूपमा हो ।

म विश्वस्त छु, एक समय यस्तो आउनेछ कि हामी घरमा विना कसैको डर, सडकमा विना कसैको भय बाटाहरूमा मध्यरातमा अँध्यारो सँगै हिँड्न सक्नेछौँ । र, हतार नगरी, नडराई आफ्नो काम गरेर घर पुग्न सक्नेछौँ । रात, सडक र समाज सबै हाम्रो लागि सुरक्षित स्थान बन्नेछ ।

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *