आजको मिति: शुक्रबार, जेठ १, २०८३
११:३६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

`विकास र सेवा सँगसँगै अघि बढ्दा मात्र जनताको विश्वास जितिन्छ´

कमल गाउँपालिका – १ बाट वडाअध्यक्षमा निर्वाचित केदार कटुवाल संघीयता कार्यान्वयनपछि लगातार दुई कार्यकालसम्म जनप्रतिनिधिको रूपमा सक्रिय रहँदै आएका छन् । नेपाली कांग्रेसबाट विजयी कटुवालले आफ्नो कार्यकालमा विकास, सेवा प्रवाह र पारदर्शितालाई प्राथमिकतामा राख्दै काम गर्दै आएका छन् । वडास्तरमा पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका उनी जनताको घरदैलोमै पुगेर सेवा दिने अभ्यासका लागि पनि परिचित छन् । विकाससँगै समावेशी सेवा र समान व्यवहारलाई जोड दिँदै आएका कटुवालसँग साप्ताहिक बहसले समसामयिक विषय, अनुभव र आगामी योजनाबारे कुराकानी गरेको छ ।

प्रस्तुत छ सम्पादित अंशः

१. दोस्रो कार्यकाल सकिन एक वर्ष बाँकी रहँदा, जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी तपाईंले हासिल गरेका प्रमुख उपलब्धि के के छन् ?
मैले २०७४ सालदेखि जनप्रतिनिधिको रूपमा जिम्मेवारी सम्हालेपछि वडामा भएको परिवर्तन जनताले प्रत्यक्ष रूपमा अनुभूति गरेका छन् । हिजोको अवस्था र आजको विकासबीचको अन्तर स्पष्ट देखिन्छ ।
पूर्वाधारतर्फ उल्लेखनीय प्रगति भएको छ । पहिले कालोपत्रे सडकका लागि केर्खा राजमार्ग पुग्नुपर्ने अवस्था थियो भने अहिले वडाभित्रै २७ किलोमिटर सडक निर्माण भइरहेको छ ।
शिक्षा क्षेत्रमा पनि ठूलो सुधार आएको छ । पहिले सीमित विद्यालय रहेको अवस्थामा अहिले विस्तार र गुणस्तर दुवै बढेको छ । बाँसबारी विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गरिएको छ र नरेन्द्र जनता माविसहित विभिन्न विद्यालयमा विद्यार्थी संख्या उल्लेखनीय रूपमा बढेको छ । साथै, विद्यालयहरूमा करिब १५-१६ करोड रुपैयाँको भौतिक पूर्वाधार निर्माण गरिएको छ । शैक्षिक वर्ष २०८१ मा बाँसबारी माविले एसईईमा १००% नतिजा ल्याई उत्कृष्ट विद्यालयको रूपमा पहिचान स्थापित गरेको छ।
स्वास्थ्य सेवामा पनि ठूलो सुधार आएको छ । पहिले सामान्य उपचारका लागि दमक जानुपर्ने अवस्था थियो भने अहिले वडामै आधुनिक स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको छ । यहाँबाट नियमित रूपमा आधारभूत स्वास्थ्य सेवा, सुगर र प्रेसर जाँच तथा अन्य सेवा निःशुल्क रूपमा उपलब्ध भइरहेका छन् ।
वडा कार्यालय स्थापनाका लागि साढे १६ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराई सेवा प्रवाहलाई अझ सहज बनाइएको छ । अहिले अधिकांश सेवाहरू वडामै उपलब्ध हुने व्यवस्था गरिएको छ, जसले नागरिकलाई पालिकासम्म जानुपर्ने झन्झट हटाएको छ ।
टोल विकास संस्थामार्फत योजनाबद्ध रूपमा विकास निर्माण तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । साथै, संघ र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गर्दै वडामा उल्लेखनीय बजेट भित्र्याउन सफल भएका छौं ।
सबैभन्दा महत्वपूर्ण कुरा, मैले कुनै पनि दलगत विभाजन नगरी सबै नागरिकप्रति समान व्यवहार गर्ने नीति अवलम्बन गरेको छु । यसले वडावासीहरूमा समावेशी र समान सेवाको अनुभूति दिलाएको छ ।
२. तपाईं वडाअध्यक्ष पदमा पुनः दोहोरिनु भयो । यो तपाईंको व्यक्तिगत इच्छा थियो कि परिस्थितिजन्य बाध्यता ?
मैले सुरुमा वडाअध्यक्ष पदमा पुनः नदोहोरिने घोषणा गरेको थिएँ । त्यसबेला म पालिका अध्यक्षको आकांक्षीका रूपमा अघि बढिरहेको थिएँ ।
तर, २०७४ को निर्वाचनमा गोलाप्रथाबाट पराजित हुनुभएका हाम्रो पार्टीका हुकुमसिंह राई । जो अहिले पालिका अध्यक्ष हुनुहुन्छ – उहाँले पुनः चुनाव लड्न आग्रह गर्नुभयो । हामीबीचको आन्तरिक समन्वय र समझदारीका कारण मैले एकपटक पछि हट्नुपर्ने बाध्यात्मक अवस्था आयो ।
त्यसपछि पार्टीबाट पनि निकै दबाब आयो, जसका कारण मलाई पुनः वडाअध्यक्ष पदमै उम्मेदवार बन्नुपर्ने अवस्था सिर्जना भयो । यस अर्थमा, मेरो पुनः उम्मेदवारी व्यक्तिगत इच्छाभन्दा पनि परिस्थितिजन्य बाध्यता नै थियो ।
तर, यसलाई मैले अवसरका रूपमा लिएँ । मेरो पहिलो कार्यकालको कामप्रति जनताको विश्वास देखियो । २०७४ सालमा म जम्मा २१ मतको अन्तरले विजयी भएको थिएँ भने २०७९ को निर्वाचनमा प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले विजयी भएँ ।
पार्टीभित्रकै केही व्यक्तिहरूले मलाई पराजित गराउने प्रयास गरे पनि, मैले गरेको कामकै मूल्यांकन गर्दै जनताले मलाई अझ बलियो जनमतका साथ पुनः जिताएका हुन् ।

३. जग्गा वर्गीकरणको विषयमा कमल १ मा समस्या देखिएको छ । यसको मुख्य कारण के हो र यसको समाधान कसरी गर्नुहुन्छ ?

जग्गा वर्गीकरणको समस्या केवल हाम्रो वडा मात्र होइन, कमल गाउँपालिकाका सबै ७ वटै वडामा देखिएको विषय हो । सेवाग्राहीहरू मालपोत तथा नापी कार्यालयमा सेवा लिन जाँदा यो समस्या झन् प्रस्ट रूपमा देखिन्छ ।
यसमा केही हदसम्म पालिकाको तर्फबाट अपेक्षित जिम्मेवारी पूरा हुन नसकेको जस्तो लाग्छ । विशेषगरी, वर्गीकरणको कामका लागि नियुक्त गरिएको कन्सल्टेन्सीबाट अपेक्षाअनुसार पारदर्शी र प्रभावकारी काम हुन सकेन, जसका कारण अहिले विभिन्न जटिलता देखिएका छन् ।
हालको अवस्थामा त्यो त्रुटिपूर्ण कामलाई सुधार गर्ने सम्भावना सीमित छ । त्यसैले, आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्था गरी अघिल्लो कामलाई पुनरावलोकन गरेर नयाँ परामर्शदाता नियुक्त गर्ने योजना बनाएका छौं ।
यस प्रक्रियामार्फत देखिएका सबै जटिलताहरू क्रमशः समाधान गर्दै जाने हाम्रो प्रतिबद्धता छ ।

४. तपाईंले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आउनुभएको छ । यी प्रयासहरूको प्रभावस्वरूप वडावासीको जीवनस्तरमा कस्तो परिवर्तन आएको देख्नुहुन्छ ?
वडावासीको अवस्था बुझ्नका लागि यसको सामाजिक र ऐतिहासिक पृष्ठभूमिलाई पनि हेर्नु आवश्यक हुन्छ । हाम्रो वडा मूलतः ग्रामीण क्षेत्र हो । माओवादी द्वन्द्वअघिसम्म यो क्षेत्र अपेक्षाकृत सम्पन्न वर्गको बसोबास भएको स्थानका रूपमा चिनिन्थ्यो ।
तर, द्वन्द्वपछिको अवस्थामा धेरै हुनेखाने तथा सक्षम परिवारहरू बाहिर बसाइँ सरे, जसका कारण अहिले यहाँ विपन्न तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारहरूको संख्या उल्लेखनीय रूपमा बढी भएको छ ।
अहिलेको अवस्थामा हेर्दा, वडामा बसाइँसराइ गरेर आउनेभन्दा बाहिर जानेको संख्या बढी छ, जुन चुनौतीपूर्ण पक्ष हो ।
यद्यपि, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेको प्रगतिले समग्र विकासको दिशामा सकारात्मक संकेत दिएको छ । त्यसैले, सामाजिक संरचनामा केही चुनौतीहरू भए पनि विकासको हिसाबले वडा क्रमशः अगाडि बढिरहेको छ ।

५. तपाईंको वडाले गरेका कुन कुन काम अन्य वडाले पनि अनुसरण गर्न सक्ने खालका छन् ?
हाम्रो निरन्तर पाँचौँ बजेट थियो, जसअन्तर्गत प्रत्येक घरधुरीलाई स्वास्थ्य बीमामा जोड्ने लक्ष्य राखिएको थियो । जेन्जी आन्दोलनपछि आएको सरकारले उक्त कार्यक्रमको बजेट कटौती गरिदियो । यदि बजेट निरन्तरता पाएको भए सबै वडावासीलाई बीमा सेवामा समेट्ने योजना थियो ।
दोस्रो, म आर्थिक विकास समितिको संयोजक भएपछि स्थानीय तहमा रहेका वितरणमुखी कार्यक्रमलाई उत्पादनमुखी बनाउने प्रयास गरियो । अहिले कमल गाउँपालिका उत्पादनमा आधारित अनुदान प्रणालीमा गएको छ । किसानहरूलाई उत्पादनका आधारमा तरकारी, कोदो, फापर लगायतमा अनुदान दिइन्छ, र उत्पादन नगरी अनुदान नपाइने व्यवस्था गरिएको छ ।
तेस्रो, कमल १ मा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको छ, जुन कोशी प्रदेशमै उदाहरणीय बनेको छ । हाम्रो उत्पादनले प्रदेशस्तरीय प्रदर्शनीमा प्रथम स्थान हासिल गरेको छ । रासायनिक मललाई निरुत्साहित गर्दै प्राङ्गारिक मल प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य छ ।
चौथो, सिँचाइ क्षेत्रमा नविन कार्यक्रमअन्तर्गत सिँचाइ मिटरमा ५०% अनुदान दिइएको छ, जुन नेपालमै पहिलो अभ्यास हो । साउनदेखि चैतसम्म लागू हुने यो कार्यक्रमले वास्तविक किसानसम्म प्रत्यक्ष लाभ पुर्‍याएको छ ।

६. विपन्न वर्ग लक्षित कार्यक्रमहरू के – के सञ्चालन भएका छन्, र ती कत्तिको प्रभावकारी भएका छन् ?
विपन्न वर्गलाई लक्षित गर्दै हामीले वितरणमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । जसअन्तर्गत झुल, सिरक तथा खाद्यान्न सामग्री वितरण गरिन्छ । तर, यी कार्यक्रमहरूभन्दा पनि हाम्रो मुख्य ध्यान विपन्न परिवारका सन्तानलाई निःशुल्क शिक्षा प्रदान गर्नेमा केन्द्रित छ ।
यहाँका नरेन्द्र जनता माध्यमिक विद्यालय र बाँसबारी माध्यमिक विद्यालय सरकारी विद्यालय भए तापनि अन्य स्थानहरूमा शुल्क लिने प्रचलन रहेको छ । यस अवस्थालाई मध्यनजर गर्दै, कुनै पनि विद्यार्थीबाट शुल्क नलिई शिक्षाको अवसर उपलब्ध गराउन वडाले विद्यालयलाई आवश्यक बजेट उपलब्ध गराएको छ । सोही अनुसार विद्यालयले थप शिक्षकको व्यवस्था गरी विपन्न विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

७. वडाले प्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्ने व्यवस्था त हुँदैन, तर के तपाईंहरूले सीपमूलक कार्यक्रमहरू आयोजना गर्नुभएको छैन ?

हामीले विभिन्न चरणमा सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गरेका छौं । तर, मुख्य समस्या के छ भने विपन्न तथा लक्षित वर्गका व्यक्तिहरूलाई यस्ता तालिममा सहभागी हुन समयको अभाव हुन्छ । उनीहरू दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यतामा रहने भएकाले लामो अवधिका तालिम (जस्तै १५ दिन, एक महिना वा दुई महिना) मा निरन्तर सहभागी हुन सक्दैनन् । त्यसैले, रोजगारीसँगै जोडिएको सीपमूलक तालिमको व्यवस्था गरिएमा मात्र यस्तो कार्यक्रम प्रभावकारी हुन सक्छ । हालको अवस्थामा रोजीरोटी चलाउनुपर्ने दबाबका कारण यी कार्यक्रमहरू अपेक्षाकृत प्रभावकारी हुन सकेका छैनन् ।

८. तपाईंको अनुभवका आधारमा सफल वडाअध्यक्ष बन्न के कस्ता गुण र अभ्यास आवश्यक हुन्छन् ?
सफल वडाअध्यक्ष बन्नका लागि केही महत्वपूर्ण गुण र अभ्यास आवश्यक हुन्छन् । सबैभन्दा पहिले, जनताप्रति सकारात्मक सोच र उचित व्यवहार हुनुपर्छ । जनताका पीर-मर्का, पारिवारिक समस्या वा अन्य कुनै पनि व्यवहारिक कठिनाइलाई बुझेर संवेदनशील रूपमा प्रस्तुत हुन सक्नुपर्छ ।
दोस्रो, स्थानीय तहले उपलब्ध गराउने बजेट मात्रमा सीमित नभई संघ र प्रदेश सरकारसँग समन्वय गरी थप स्रोतसाधन ल्याउन सक्ने क्षमता आवश्यक हुन्छ ।
तेस्रो, सेवा जनताको घरदैलोमै पुगेर प्रदान गर्नुपर्छ । मेरो अनुभवमा, आजसम्म मेरा धेरैजसो वडावासीलाई मेरो घर कहाँ छ भन्ने थाहा छैन, किनकि म स्वयं बिहानैदेखि समस्यामा परेका जनताको घरघरमा पुगेर सेवा दिने प्रयास गर्छु । उहाँहरूलाई मेरोमा आउनुपर्ने आवश्यकता पर्दैन, म आफैं उहाँहरूकोमा पुग्छु । जनताले विकाससँगै सहज र पहुँचयोग्य सेवालाई पनि उत्तिकै महत्त्व दिएका हुन्छन् । त्यसैले, निर्वाचित भइसकेपछि ‘म फलानो पार्टीको हुँ, मैले सुविधा आफ्ना समर्थकलाई मात्र दिनुपर्छ’ भन्ने सोच राख्नु हुँदैन । सबैप्रति समान व्यवहार गर्न सकेमा मात्र हामी साँचो अर्थमा सफल हुन सक्छौं ।

९. दुई पटक वडाअध्यक्ष हुनुभयो । अब अर्को निर्वाचनमा के गर्ने योजना छ ?
सामाजिक कार्यमा म पहिलेदेखि नै सक्रिय छु र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिनेछु । अब पनि करिब एक वर्षको समय बाँकी छ । यस बीचमा, मलाई पालिकास्तरसम्मको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने सुझाव र सल्लाहहरू प्राप्त भइरहेका छन् ।
अघिल्लो निर्वाचनमै पनि म पालिकाको नेतृत्वका लागि दाबेदार रहेको थिएँ । त्यसैले अब पुनः उक्त जिम्मेवारी लिन अगाडि बढ्दा धेरै कठिनाइ नआउला भन्ने विश्वास छ । यद्यपि, यस विषयमा आवश्यक सोच-विचार गरेर मात्र निर्णय लिनेछु । तर, पदमा रहूँ वा नरहूँ, सामाजिक कार्यमा मेरो सक्रियता निरन्तर रहनेछ ।

१०. बाहिरबाट सजिलो देखिने जनप्रतिनिधिको जीवनभित्र कस्ता दबाब र चुनौती हुन्छन् ? कहिल्यै ‘जनप्रतिनिधि हुनु बेकार रहेछ’ भन्ने लागेको छ ?

बाहिरबाट हेर्दा जनप्रतिनिधिको जीवन सहज देखिए पनि भित्र धेरै दबाब र चुनौतीहरू हुन्छन् । मेरो हकमा, व्यवसायिक पृष्ठभूमि र परिवारको साथले धेरै समस्या भएको छैन । तर, जनप्रतिनिधि भएको ९ वर्षमा भदौ २४ को जेन्जी आन्दोलनको एउटा घटनाले गहिरो अनुभूति दिलायो । वडाकार्यालयमा तोडफोड भयो, मेरो घरसम्म आएर धम्की दिइयो । त्यस क्षण परिवारको पीडा देख्दा ‘समाजलाई २४ घण्टा दिनु ठीक भयो कि भएन’ भन्ने महसुस भयो । यद्यपि, मैले अहिलेसम्म पूर्ण इमानदारीका साथ काम गरेको छु । राज्यको एक रुपैयाँ पनि दुरुपयोग नगरी । यस्ता घटनाहरूले जनप्रतिनिधिको जिम्मेवारीसँगै आउने मानसिक दबाब र चुनौती कति गम्भीर हुन्छ भन्ने देखाउँछ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *