आजको मिति: शुक्रबार, जेठ १, २०८३
१०:२३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

खेलकुदको उत्सवमा रमाउँदै दमक

खेलले जोड्दै दमक, गाउँगाउँबाट खोजिँदैछन् भविष्यका `स्टार’

सजन राई
दमक । खेलकुद भन्नेबित्तिकै सामान्यतया हाम्रो मानसपटलमा फुटबलको तस्बिर झल्किन्छ । नेपाली खेलकुदको माहोलमा भलिबल, क्रिकेट र ब्याडमिन्टनले पनि आफ्‌नो स्थान सुरक्षित गरिसकेका छन् । तर, के खेलकुदको परिधि यतिमा मात्रै सीमित छ त ? पक्कै छैन । पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई पदक दिलाउने विधामा तेक्वान्दो, कराते र एथ्लेटिक्सजस्ता खेलहरूको भूमिका बिर्सन नसकिने छ ।
यही बहु—विधागत खेल भावनालाई समेट्दै झापाको दमक नगरपालिका यतिबेला खेलमय बन्ने तयारीमा छ । खेलकुदमा सबै विधा हुन्छ र खेलकुद सबैका लागि खेलकुद हुन्छ भन्ने भावनालाई आत्मसात् गर्दै आगामी बैशाख २८ गतेदेखि ३० गतेसम्म दोस्रो दमक नगर खेलकुद महोत्सव २०८३’ आयोजना हुन गइरहेको छ ।

यसपटकको महोत्सव एउटा प्रतियोगितामा मात्रै सीमित छैन । यसले ८ वटा फरक—फरक खेल विधालाई एउटै छानामुनि ल्याएको छ । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, चेस (बुद्धिचाल), एथ्लेटिक्स, कराते र तेक्वान्दो समावेश छन् । यी खेलहरूले नगरभित्रका कुना—काप्चामा रहेका प्रतिभाहरूलाई एउटै मञ्चमा आफ्‌नो कौशल देखाउने अवसर प्रदान गर्नेछन् । दमकको गाउँगाउँमा लुकेर रहेका प्रतिभालाई मञ्च दिने आयोजकको तयारी छ ।

मोफसलका खेलाडीहरूका लागि यस्ता महोत्सवहरू प्रतिभा प्रस्फुटन गर्ने सुनौलो अवसर हुने आयोजकको अपेक्षा छ । दमक नगरपालिकाले चालेको यो कदमले खेलाडीहरूमा ऊर्जा थपेको खेलाडीहरूको बुझाइ छ ।

खेलकुद शारीरिक व्यायाम मात्र होइन, यो नगरको इज्जत र एकताको प्रतीक पनि हो । त्यसैले, बैशाख २८ गतेदेखि सुरु हुने यो खेलकुदको महाकुम्भलाई सफल बनाउन सम्पूर्ण नगरबासी एक ढिक्का भएर लाग्नुपर्ने आयोजक दमक नगर खेलकुद विकास समितिको भनाइ छ । जबसम्म स्थानीयस्तरमा खेलाडीले मैदान पाउँछन्, तबसम्म देशले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पदकको आशा गर्ने भएकाले यो महोत्सवको आयोजना गरिएको नगर खेलकुद महोत्सवका संयोजक प्रकाश राई बताउँछन् । खेलकुदको विकासलाई जगैदेखि बलियो बनाउन स्थानीयस्तरका यस्ता कार्यक्रमहरू मेरुदण्ड भएको उनको भनाइ छ । नगरलाई खेल क्षेत्रबाट चिनाउन र खेलाडीको जग बसाल्न यस्ता महोत्सवको आवश्यकता छ, उनी भन्छन्, हामी दमकको एउटा बलियो पहिचान खेलकुदबाट पनि बनाउन चाहन्छौँ ।

अहिलेको आर्थिक मन्दीका कारण प्रायोजक (स्पोन्सर) पाउन गाह्रो भइरहेको अवस्थामा दमक नगर खेलकुद विकास समितिले एउटा साहसिक कदम चालेको छ । यो दोस्रो महोत्सव कुनै बाह्य स्पोन्सरबिना नै नगरपालिकाको २५ लाख रुपैयाँ बजेटबाट सञ्चालन हुन लागेको हो । विशेषगरी यो महोत्सवलाई ठूलो बजेटको दमक गोल्डकप’जस्ता प्रतियोगितासँग जोडेर हेर्न नहुने उनको आग्रह छ । विगतका कुरालाई अहिलेको कार्यक्रमसँग नजोडौँ, यो नितान्त स्थानीय खेलाडी उत्पादन र खेल क्षेत्रलाई चलायमान बनाउने अभियान हो, राई थप्छन् । दमक गोल्डकप नगरपालिकाले नियमित गर्न नसकेको र कतिपय घोषणा गरिएका पुरस्कार पनि हालसम्म दिन नसकेको भन्दै दमक गोल्डकपको आलोचना हुने गरेको छ ।

महोत्सवको एउटा मुख्य चुनौती भनेको भौतिक पूर्वाधारको अभाव रहेको आयोजकको ठम्याइ छ । सबै खेलहरू एकै ठाउँमा सञ्चालन गर्न नसक्दा आयोजक, खेलाडी र दर्शकलाई केही असहजता हुने देखिएको छ । अहिले फरक—फरक खेलका लागि फरक—फरक स्थान र समय तय गरिएको छ । समय अभावका कारण केही खेलहरू उद्घाटन समारोह (२८ गते) भन्दा अगावै सुरु हुँदैछन् । फुटबल प्रतियोगिता वैशाख २१ गतेबाटै दमक—१० स्थित आम्बारी खेल मैदानमा सुरु भएको छ । क्रिकेटका खेलहरू बैशाख २५ गतेदेखि सुरु हुने कार्यतालिका छ । स्थायी भौतिक संरचना निर्माणमा जोड दिन सके आगामी दिनमा यस्ता महोत्सव अझ प्रभावकारी हुने खेल प्रेमीहरूको बुझाइ छ ।

फुटबलमा वडास्तरबाटै उत्कृष्ट टोलीको खोजी

दमकको खेलकुदमा फुटबलको क्रेज सधैँ माथि रहन्छ । फुटबल विधाका संयोजक मोहन मगरका अनुसार फुटबल क्षेत्रमा खेलाडी संख्या र खर्च दुवै धेरै लाग्ने गर्दछ । खेलाडीको उत्साह बढाउन यसपटक फुटबलतर्फ प्रथम पुरस्कार १ लाख रुपैयाँ राखिएको छ ।

दमकको सुस्ताएको खेलकुदलाई यस महोत्सवले नयाँ जीवन दिएको छ । हाम्रो लक्ष्य प्रतियोगिता मात्रै सकाउनु होइन, उनी भन्छन्, प्रत्येक वडाबाट उत्कृष्ट खेलाडीहरू छनोट गरी दमक नगरको एउटा मजबुत टिम तयार गर्न पनि हो ।

यसरी दमकमा खेलकुदको महोत्सव हुँदा खेलाडी पनि उत्साहित छन् । तर, वर्षमा एकपटक मात्र हैन नियमित खेलकुद गतिविधि गर्नुपर्ने फुटबल प्रशिक्षक तथा खेलाडी बादल माझीको तर्क छ । नियमित खेलकुदका गतिविधि नहुँदा खेलाडी पलायन हुनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । खेलकुद महोत्सव राम्रो कार्यक्रम भए पनि वर्षमा एक पटक मात्र खेलकुद कार्यक्रम हुँदा धेरै खेलाडीहरू खेल क्षेत्रबाट बाहिरीएको नमिठो अनुभव हामीसँग छ, उनी भन्छन्, खेलकुद महोत्सव ६/६ महिनामा हुने हो भने वा खेलकुदको कार्यक्रमहरू नियमित भइरहने हो भने खेलाडी व्यस्त हुन्थे । जसले खेल क्षमता अभिवृद्धि हुने र ठूला अवसरहरू पाउने थिए ।

दमक खेलकुद महोत्सवले पुरानोभन्दा क्षमता भएका नयाँ खेलाडीहरूलाई अवसर दिनुपर्ने तर्क राख्छन् । दमक वडा नम्बर ५ का फुटबल टिम क्याप्टेनसमेत रहेका माझी यसपटक वडाको टिमलाई सशक्त बनाएको बताउँछन् । टिममा युवा खेलाडीलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
दमक नगर खेलकुद समितिले खेलाडी सहभागिता हुँदा कागजात कडाइका साथ हेर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार कोही खेलाडी दुई पालिकाबाट प्रतिनिधित्व गर्छन् । जसले गर्दा अवसर पाउनुपर्ने खेलाडीले अवसर नपाउने गरेको उनको गुनासो छ ।

मार्सल आट्र्स र खेलाडी प्रोत्साहन

तेक्वान्दो र कराते जस्ता विधामा पनि दमकको आकर्षण उत्तिकै छ । तेक्वान्दो संयोजक नवीन तामाङका अनुसार पहिलो महोत्सवको सफलतापछि खेलाडीहरू दोस्रो संस्करणका लागि निकै उत्साहित छन् । यसपटक जुनियर (२०—४५ केजी) र सिनियर (४५—६० केजी र सोभन्दा माथि) तौल समूहमा स्प्यारिङ’ र प्याटर्न’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । तामाङको एउटा महत्वपूर्ण सुझाव भने स्थानीय सरकारको खेलाडी सम्मान नीतिमा छ ।

स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने खेलाडीलाई सरकारले उचित सम्मान गर्ने हो भने उनीहरूको मनोबल उच्च हुने थियो, उनी भन्छन् । नगरपालिकाले मात्र होइन, क्लबहरूले पनि वर्षमा कम्तीमा २—३ वटा साना—ठूला प्रतियोगिता गरिरहनुपर्ने उनको तर्क छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *