भद्रपुर ।
झापाको भद्रपुरमा आयोजित ओम साई पथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि विभागीय सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले हात पारेको छ । अर्काे विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफले उपाधि हात पारेको हो ।
उपाधिसँगै एपीएफले नगद ११ लाख, मेडल, ट्रफी तथा प्रमाणपत्र पाएको छ ।
उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो ।
एपीएफलाई उपाधि दिलाउन एक मात्र गोल रश्मिकुमारी घिसिङले गरिन् । खेलको ७२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पासलाई अनमार्क रहेकी घिसिङले हेडमार्फत सुन्दर गोल गरिन् ।
खेलको अधिकांश समय बल पोजिसन राखेको एपीएफले निर्धारित ९० मिनेटमा गोल गर्ने थुप्रै अवसर बनाए पनि थप स्कोर भने गर्न सकेन । एपीएफका डिफेन्डरसामु आर्मीका स्ट्राइकर चल्न नसक्दा उपविजेतामा सीमित रहेको छ ।
खेलको प्लेयर अफ दी म्याच विजेता टिम एपीएफकी सरु लिम्बू भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी एपीएफकी रेनुका नगरकोटी भइन् । उनले नगद १ लाख एक हजार रुपैयाँ पुरस्कार पाइन् ।
उत्कृष्ट गोलकिपर अञ्जना रानामगर (एपीएफ), डिफेन्डर गीता रानामगर (एपीएफ), मिडफिल्डर दिपा शाही (आर्मी), उच्च गोलकर्ता रश्मिकुमारी घिसिङ (एपीएफ), राइजिङ प्लेयर सबनम राई (आयोजक चन्द्रगढी युथ क्लब) भए । उनीहरुले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी फुबटल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेल, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।

