आजको मिति: शुक्रबार, जेठ १, २०८३
१०:४२ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

पुलिस सेमिफाइनल प्रवेश

भद्रपुर ।

नेपाल पुलिस फुटबल क्बल झापाको चन्द्रगढीमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप २०८३ को सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबारको खेलमा भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ को गोलअन्तरले पाखा लगाउँदै पुलिस सेमिफाइनल पुगेको हो । जितसँगै उसले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको हो ।

बिहीबारको सुरुवाती खेलको १४ मिनेटमै डिबक्स बाहिर बल समाएकी पुलिसकी गोलकिपर उषा नाथ रेडकार्ड पाएर बाहिरिएकी थिइन् । उनको स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरिन् ।

१० खेलाडीमा सीमित भएको पुलिसविरुद्ध लक्ष्मीबाईले त्यही डिबक्स नजिकै पाएको फ्रिकिकलाई सदुपयोग गर्यो । बिनी कुमारीले प्रहार गरेको फ्रिकिकमा पुलिसकी गोलकिपरबाट रिबाउन्स भएको बललाई हेमन्ती कुमारीले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाइन् ।

तर, खेलको ३८औँ मिनेटमा पुलिसकी रेखा पौडेलले मिना देउवाको क्रस पासमा हेडरमार्फत गोल गर्दै पुलिसलाई खेलमा फर्काइन् ।

खेलको दोस्रो हाफमा भने पुलिसले रानी लक्ष्मीबाईमाथि बलियो नियन्त्रणमात्रै राखेन, थप ४ गोल थपेर जितको दायरा फराकिलो बनायो ।

खेलको ४६ औँ मिनेटमा पुलिसकी कप्तान अमृता जैसीले गोल थप्दै टिमलाई अग्रता दिलाइन् । पूजा रानाले गरेको कर्नर प्रहार लक्ष्मीबाईकी गोलकिपर रुपाली कुमारीको हातबाट रिबाउन्स भएको मौकामा जैसीले वान टच गोल गरिन् ।

५३ औँ मिनेटमा पुलिसका लागि सम्झना लावतीले पूजा रानाको क्रस पासमा टिमका लागि तेस्रो गोलको योगदान गरिन् ।

त्यस्तै, खेलको ६७ औँ मिनेटमा पुलिसका नियमित स्ट्राइकर मिना देउवाले पूजा रानाको फ्रिकिकमा रेखा पौडेलले डिबक्समा मिलाइदिएको बललाई गोलको दिशा दिइन् ।

खेलको इन्ज्युरी समयमा पूजा रानाले मैदानको करिब मध्यभागबाट गरेको लङ रेञ्जर सट गोलमा परिणत भएसँगै गोल अन्तर ५–१ मा पुग्यो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

भोलि (बिहीबार) अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *