आजको मिति: शुक्रबार, जेठ १, २०८३
०९:२० बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

राजावादी गौतमलाई बालेनको सचिवालय ‘उपहार’

फेसबुकमा ‘राजा’ जप्ने, सचिवालयमा ‘थाल’ थाप्ने !

दमक । भनिन्छ– राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । तर, यो भनाइलाई दमकका राज गौतमले जसरी चरितार्थ गरिदिएका छन्, त्यसले निष्ठाको राजनीति गर्नेहरूलाई भने निकै गिज्याइरहेको छ । हिजोसम्म जसले गरेको कामलाई ‘स्टन्टबाज’ र ‘दशा’ भन्दै सामाजिक सञ्जालमा कटाक्ष गर्थे, आज उनकै सचिवालयको ‘उपहार’ थापेर गौतम दमकका गल्लीहरूमा ‘शक्तिशाली’ पात्रका रूपमा उदाएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका शक्तिशाली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य र झापा क्षेत्र नं. ५ सचिवालय संयोजकको जिम्मेवारी पाएसँगै गौतमको विगत र वर्तमानको अन्तरद्वन्द्व सार्वजनिक चर्चाको विषय बनेको छ । एक कट्टर राजावादी र बालेनका प्रखर विरोधी कसरी एकाएक ‘बालेन पथ’को सारथि बने ? यो प्रश्नले अहिले झापाको राजनीतिक वृत्तमा नयाँ बहस छेडेको छ ।

गौतमको परिचय केबल दल अदलबदलमा मात्र सीमित छैन । उनको व्यक्तिगत आचरणमाथि पनि प्रश्न उठ्ने गरेको छ । प्रतिनिधिसभा निर्वाचनअघि प्रहरीमा उनको व्यवहारलाई लिएर परेको उजुरी र त्यसमा गरिएको मिलापत्रले उनको छविलाई शंकाको घेरामा राखेको छ । विवादित छविका व्यक्तिलाई मुलुकको कार्यकारी प्रमुखको सचिवालयमा स्थान दिनुले ‘सुशासन’ र ‘नयाँपन’ को नारा दिने बालेन शाहको टिममाथि नै नैतिक प्रश्न खडा गरिदिएको छ ।

गौतमको विगत कोट्याउने हो भने उनी कट्टर राजावादी हुन् भन्नेमा कुनै द्विविधा छैन । पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर राखेर ‘अदालत र जनता कसैसँग नटेर्ने फटाहाहरूलाई तह लगाउन यही एउटा अनुहार बाँकी रहेछ’ भन्दै लेख्ने उनै गौतम आज गणतन्त्रका प्रधानमन्त्रीको छत्रछाँयामा ओत लाग्न आइपुगेका छन् ।

उनको विरोधको निशानामा केबल बालेन मात्र थिएनन्, अहिले सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पनि थिए । बालेनले पूर्वराजालाई जरिवाना तिराउँदा ‘बालेनको दशा’ भन्दै स्टाटस लेख्ने उनले रास्वपा सभापति रवि लामिछानेलाई ‘गफले खेत जोत्ने’ पात्रका रूपमा व्यंग्य गरेका थिए । तर, समयको चक्र यस्तो घुम्यो कि, हिजोका तिनै ‘विरोधी’ आज तिनै पात्रहरूले चलाएको सत्ताको चासनीमा भाग बस्न पुगेका छन् ।

उनी सचिवालय सदस्य मात्रै हैनन् दमक १ मा खुलेको प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रीय कार्यालय झापा ५ को संयोजकको जिम्मेवारीमा समेत छन् । राजावादी गौतमलाई बालेनले सचिवालयको ‘उपहार’ दिएका हुन् । उनले केही साताअघि मात्रै बालेनको सचिवालयको जिम्मेवारी पाएका हुन् । सचिवालयको जिम्मेवारी पाएपछि अहिले उनी सरकारी कार्यालयतिर डाटा संकलनको नाममा हिँडिरहेका छन् ।

विगतका गतिविधि हेर्दा गौतम राजावादी मात्रै हैनन् बालेन विरोधी पनि हुन् । तर, बालेनका राजनीतिक सल्लाहकार कुमार बेनसँगको निकटताका कारण उनले यो उपहार पाएको स्रोतको दाबी छ । प्रतिनिधिसभा निर्वाचनअघिसम्म बालेन विरोधी रहेका गौतम चुनावमा एकाएक समर्थक भएर निस्किए । कुमार बेनको संगतकै कारण विशेष सम्बन्ध बनाउँदै उनी बालेनको अघिपछि लागेर भोट माग्नसमेत निस्किए । उनले विगतमा फेसबुकमा राखेका विचार हेर्दा उनी बालेनसँगै अहिले रास्वपामा रहेका अधिकांश नेताका विरोधी हुन् ।

१५ चैत ०८१ मा काठमाडौंमा राजावादीको प्रर्दशनका क्रममा बालेन काठमाडौं महानगरपालिकाको प्रमुख थिए । त्यसबेला बालेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेका थिए । त्यो क्रममा गौतमले बालेनको विरोध गर्दै स्टाटस लेखेका थिए । ३ अप्रिल २०२५ मा गौतमले लेखेका थिए, ‘बालेनको दशा, राजा ज्ञानेन्द्रलाई काटेको जरिवानाले झण्डै आधा समर्थक गुमाउनुप¥यो । यही मौका हेरेर एमाले र अन्य दलहरूको पेलाई अझ तीव्र भयो । यो हौसिने र स्टन्टबाजी गर्ने पनि एउटा बिन्दुसम्म मात्र ठीक हुँदोरहेछ, कठै ।’

त्यति मात्र हैन रास्वपाका सांसद, बालेननिटक तथा पूर्वगृहमन्त्री सुधन गुरुङलाई पनि उनले छेडखानी गरेका थिए । उनी २० सेप्टेम्बर २०२५ मा आफ्नो फेसबुकमा लेख्छन्, ‘आगो लगाउने पृथ्वी गुरुङ । खरानी हुने मिनबहादुर गुरुङ । फाइदा लिने सुदन गुरुङ । हामी त उही हलीगोठाला ।’

उनी अहिले जुन पार्टीबाट प्रधानमन्त्रीको सचिवालयको जागरि खाँदैछन्, विगतमा त्यही पार्टीका सभापति रवि लामिछानेमाथि पनि व्यंग्य गर्थे । रविविरुद्ध २० मे २०२४ मा उनी फेसबुकमा यस्तो लेख्छन् :
रवि लामिछाने झापा भ्रमणमा निस्किएको बेला जनतासँग ।
रविः तपाईंलाई के समस्या छ ?
किसानः असार लाग्यो हजुर, खेत जोत्ने ट्याक्टर छैन पैसा नि छैन ।
रविः कति छ खेती ?
किसानः अधियाँ गर्छु हजुर १ बिघा छ ।
रविः खै खेत कता छ ? जाबो एक बिघा त म गफैले जोति दिन्छु !

उनी राजावादी हुन् भन्ने पुष्टि गर्ने अर्को एउटा स्टाटस पनि छ । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटोसहित समर्थनमा ९ मार्च २०२५ मा स्टाटस लेख्छन्, ‘साँचिकै अख्तियार, अदालत, संविधान अनि जनता कसैसँग नटेर्ने फटाहाहरूलाई तह लगाउन यही एउटा अनुहार बाँकी रहेछ देशमा जस्तो लाग्यो ।’ जसले उनी कट्टर राजावादी हुन् भन्ने प्रष्ट पार्दछ ।

नेपाली उखान छ– ‘जता मल्खु, उतै ढल्कु’ अर्थात्, जहाँ अवसर र लाभ देखिन्छ, उतैतिर ढल्किने ढुलमुले चरित्र । गौतमको हकमा यो उखान अक्षरशः लागू भएको देखिन्छ । बालेनका राजनीतिक सल्लाहकार कुमार बेनसँगको निकटतालाई भ¥याङ बनाएर उनले यो राजकीय नियुक्ति हत्याउन सफल भएको स्रोत बताउँछ ।

यद्यपि गौतम भने आफू कुनै पनि पार्टीमा नभएको दाबी गर्छन् । उनी गुण र दोषको आधारमा समर्थन या विरोध गर्ने व्यक्ति भएको आफूलाई दाबी गर्छन् । ‘म गैरराजनीतिक व्यक्ति हो । म अहिले ४० वर्षको हुँदासम्म कुनै पार्टीको साधारण सदस्य पनि लिएको छैन । राजावादी भन्दै गर्दा राम्रा कुरा जुनै पार्टीको पनि समर्थन गर्ने र नराम्रो कुरालाई आलोचना गर्ने मेरो पहिलादेखिको बानी हो,’ साप्ताहिक बहससँग उनले भने, ‘जुनसुकै पार्टी किन नहोस् म पार्टी हेरेर भन्दिनँ । मलाई लागेको स्वविवेकले समर्थन र आलोचना गर्छु । म अहिले पनि कुनै पार्टीको कार्यकर्ता हैन । राजनीतिक रूपमा रास्वपामा भन्दा पनि प्रधानमन्त्रीको सचिवालय सदस्य हो । यो सचिवालयमा राजनीतिक गतिविधि हुँदैन । जनताको समस्या सम्बोधन हुन्छ ।’

हिजोका कट्टर विरोधीलाई आज स्वार्थ मिल्नासाथ काखी च्याप्नुले राजनीतिमा नैतिकता र निष्ठा समाप्त भएको सन्देश जान्छ । यसले बालेनजस्ता वैकल्पिक शक्तिमाथि भरोसा गर्ने युवा पुस्तालाई निराश बनाएको विश्लेषण छ । जुन व्यक्तिले हिजो सार्वजनिक रूपमै नेतृत्वको खेदो खनेको थियो, उसैले आज नेतृत्वको बचाउ गर्दा जनतामा भ्रम पैदा हुन्छ । यसले सचिवालयले गर्ने काम र दिने सूचनाको विश्वसनीयतामाथि सधैँ प्रश्न उठिरहने विश्लेषकको दाबी छ । ‘जता दाउ, उतै बाउ’ प्रवृत्ति भएका व्यक्तिहरूले कुनै पनि बेला आफ्नो व्यक्तिगत लाभका लागि राजकीय सूचना वा शक्तिको दुरुपयोग गर्न सक्ने सम्भावना पनि उतिकै छ । विवादित पृष्ठभूमि भएका व्यक्तिको पहुँच सरकारी संयन्त्रमा हुनु सुरक्षा र सुशासनका दृष्टिले जोखिमपूर्ण मानिने बताइन्छ ।

भव्य सचिवालय, भाडा कसले तिर्ने सचिवालय संयोजकलाई थाहा छैन

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका लागि दमक १ स्थित न्यूरोड टोलमा अढाई तले घर भाडामा लिइएको छ । दमकको सचिवालय संयोजकको रूपमा राज गौतम र सदस्यमा बेनिस कार्की पनि छन् । कार्की दमक नगरपालिकाका नगर प्रमुख तथा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापाका भञ्जा हुन् ।

तर, यो घरको भाडा सरकारले व्यहोर्ने, बालेन आफैँले व्यहोर्ने वा पार्टीले व्यहोर्ने भन्ने टुंगो लागेको छैन । संयोजक गौतमले आफू भर्खरै सचिवालयमा काम सुरु गरेकाले सम्झौता अध्ययन गरिनसकेको बताउँछन् । केही दिनअघिसम्म यो सचिवालय रास्वपाको कार्यालयजस्तो थियो । रास्वपाको ‘थिम कलर’ निलो रंगमा बालेनको फोटो राखिएको थियो । तर, प्रधानमन्त्रीको सचिवालय पार्टी कार्यालयजस्तो भएको भन्दै आलोचना भएपछि अहिले निलो रंगको ब्यानरमा राखेको फोटो हटाइएको छ ।

विगतमा त्रुटी भएकाले अहिले बनाउँदै लगिएको गौतम स्वीकार गर्छन् । ‘सामान्य त्रुटी कता–कता भएका छन् । त्यसलाई हामी रेक्टिफाइ गर्दै लैजान्छौँ । सबैको नलेजमा भएकै कुरा हो । हामी तयारीकै चरणमा छौँ,’ उनले भने, ‘सबैका कुरा लिएर कसरी राम्रो बनाउने भन्नेमा छौँ । नागरिकको नजरले देखेका कुरा पनि समेटेका छौँ ।’

सचिवालयबाट अहिले सामाजिक काम गरिरहेको गौतमको दाबी छ । नागरिकका गुनासा हेरिरहेको उनले बताए । सबै पार्टीका वाचापत्र विश्लेषण गरेर झापा क्षेत्र नम्बर ५ लाई राम्रो बनाउने गरी लागिपरेको उनले बताए ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *