नेकपा (एमाले) ले प्रधानमन्त्री वालेन्द्र साह बालेनले संसद् र संविधानको अवमूल्यन गरेको गम्भीर आरोप लगाएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा बाहिर गएर फरक अभ्यास गर्न खोजेको भन्दै प्रश्न उठाएका हुन् ।
सचेतक महरले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराउँदै सरकारको कार्यशैलीप्रति आपत्ति जनाए । उनले वर्तमान सरकारले संविधानसम्मत शासन प्रणाली अवलम्बन गरिरहेको छ वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजेको हो भनी जिज्ञासा राखे ।
उनले भने, “बजारमा एउटा जबरजस्त प्रश्न छ— प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रलाई भन्दा पनि ‘बालेनतन्त्र’ को विकास गर्न खोज्नुभएको हो कि ? उहाँले पटक–पटक संसद्लाई उपेक्षा गर्ने र यसको हुर्मत लिने काम गर्नुभएको छ ।”
प्रमुख सचेतक महरले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गर्दै जनताका प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको निरन्तरको अनुपस्थितिले संसदीय गरिमामा आँच पुर्याएको एमालेको निष्कर्ष छ ।
