आजको मिति: शुक्रबार, जेठ १, २०८३
०९:१८ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

आँसुको व्यापार र डलरको खेती

युट्युब आतंकले भत्काउँदै गरेको सामाजिक मर्यादा

सुजता लिम्बू

विराटनगर । मोरङको एउटा सुकुम्बासी बस्ती । मध्याह्नको टन्टलापुर घाममा सानो टहरोको आँगनमा बसेकी एक महिला मोबाइलको स्क्रिनमा मग्न थिइन् । उनको मोबाइलबाट कोलाहल र रुवाबासीको आवाज आइरहेको थियो ।
अचानक उनी ठूलो स्वरमा हाँस्दै (मातृभाषामा) भन्छिन्, ‘ए हेर्नु न ! एउटै केटाको सासू र बुहारी नै बोइफ्रेन्ड रे, कस्तो अचम्म !’
ती महिलाले सुरुदेखि अन्त्यसम्म त्यो भिडियो हेरिन् । उनका अनुसार आफूलाई हेर्न मन लागेको भिडियो साहुको घरमा काम गर्न जाँदा डाउन्लोड गरेर ल्याउने गरेकी रहेछिन् । कामबाट फर्किएपछि उनले यस्तै ‘मसलेदार’ भिडियो हेरेर समय बिताउने गरेको सुनाइन् । तर, जुन भिडियोमा उनी आनन्द लिइरहेकी थिइन्, त्यो कुनै टेलिसिरियलको अंश थिएन । एउटा परिवारको विखण्डन, दुई महिलाको चरित्र हत्या र एउटा निर्दोष बालकको भविष्यमाथि गरिएको प्रहार थियो । किनभने त्यहाँ सानीनानीको जिम्मा कसले लिने भन्ने सवाल जवाफ पनि उब्जिरहेकै थियो । त्यसो त फेसबुक, टिकटक र युट्युब स्क्रोल गर्दा एउटै दृश्य जताततै देखिन्छ । इटहरी न्युजदेखि हन्डरेड प्लस न्युजसम्म र तीनजुरे अनलाइन टिभीसम्म पुग्दा दृश्यहरू उस्तै छन् । उही रुवाबासी, कुटपिट, र तथानाम गालीगलौज । १.४ मिलियनभन्दा बढी भ्यूज भएका यी भिडियोहरूले एउटा डरलाग्दो प्रश्न खडा गरेका छन् । के कसैको आँसु र आत्मसम्मान अब डलर कमाउने मेसिन मात्रै हो ? यी भिडियोहरू हेर्दा लाग्छ, यो पत्रकारिता होइन, बरू विद्रुप रियालिटी शो हो । क्यामेरा अगाडि युट्युब सञ्चालकहरू नै निर्देशक बन्छन् ।

उनीहरू नै पीडितलाई कुन शब्द बोल्ने, कसरी रुने र कसलाई कस्तो आरोप लगाउने भनेर सिकाइरहेका हुन्छन् । कतिपय भिडियोमा त एक्सन–कट कै शैलीमा कसैको श्रीमानलाई फोन गरेर तथानाम भन्न लगाइन्छ । लाग्छ, उनीहरू नै यो देशको प्रहरी हुन्, उनीहरू नै न्यायाधीश हुन् । क्यामेराको आडमा कसैको शयनकक्ष चिहाउने र निजी जीवनलाई बजारमा पस्कने यो शैलीले मानवीय संवेदनालाई पूर्णतः समाप्त पारिदिएको छ ।

यी अधिकांश भिडियोको केन्द्रमा महिला हुन्छन् । किन महिलाकै आत्मसम्मान बढी बेचिन्छ ? किनभने पितृसत्तात्मक समाजलाई महिलाको चरित्रमाथि बहस गर्न र गाली गर्नमा एउटा विकृत आनन्द मिल्छ । सासू र बुहारीले काजीलाई नछोड्नेदेखि श्रीमती फरार सम्मका शीर्षक राखेर महिलालाई सामाजिक रूपमा नग्न पारिन्छ । भिडियोको तलपट्टि आउने हजारौँ नकारात्मक कमेन्टहरूले ती महिलालाई यस्तो मोडमा पु¥याउँछन्, जहाँबाट समाजमा पुनः स्थापित हुनु असम्भवजस्तै हुन्छ । भिडियो त केही दिनमा भाइरल भएर हराउला । तर, ती महिलाले बाँकी जीवन त्यही डिजिटल दाग बोकेर कसरी बाँच्ने ? उनको आत्मसम्मानमा लागेको चोटको क्षतिपूर्ति कसले दिने ?

सबैभन्दा हृदयविदारक दृश्य त तब देखिन्छ, जब दुई पक्षबीच बच्चा खोसाखोस गरिन्छ वा गराइन्छ । एउटा सानो बालक क्यामेराको अगाडि रोइरहेको हुन्छ, उसको आमा र बाबुबीच गालीगलौज भइरहेको हुन्छ र युट्युबरले त्यसलाई क्लोज–अप सटमा खिचिरहेको हुन्छ । ती सञ्चालकहरूले सोच्दैनन् कि भोलि त्यो बालक हुर्किँदै जाँदा उसको हातमा त्यही भिडियो पर्नेछ । जब उसले विद्यालयमा पाइला टेक्नेछ, उसका साथीहरूले त्यही भिडियो देखाएर उसलाई गिज्याउनेछन् । ‘तेरी आमा त यस्ती थिई, तेरो बाबु त यस्तो थियो’ भन्दै साथीहरूले दिने प्रतिक्रियाले उसको मानसपटलमा कति नकारात्मक असर पर्ला ?
महिलावादी संस्था तरंगिनी फाउण्डेसनकी कोशी प्रदेश फिल्ड अधिकृत रुमा रिजाल सामाजिक सञ्जाल र युट्युबले महिलालाई आफ्नो कुरा राख्ने अवसर दिए पनि गोपनीयता पूर्णरूपमा सुरक्षित नभएको बताउँछिन् । ‘अनुमतिबिना फोटो भिडियो पोस्ट गर्ने, व्यक्तिगत कुरालाई भाइरल बनाउने र अनलाइन दुव्र्यवहार गर्ने घटना दिनप्रतिदिन बढिरहेका छन् । त्यसैले डिजिटल सुरक्षा र सचेतना बढाउनु एकदमै आवश्यक छ,’ उनी भन्छिन्, ‘महिलाको व्यक्तिगत पीडा, आँसु वा संवेदनशील अवस्थालाई भ्युज र मनोरञ्जनका लागि कन्टेन्ट बनाउनु बिल्कुल गलत हो । यसले प्रभावित महिलाको मानसिक अवस्था, आत्मसम्मान र सामाजिक जीवनमा गम्भीर असर पार्न सक्छ । सहमति बिना यस्ता सामग्री सार्वजनिक गर्नु मानव अधिकार र गोपनीयतामाथिको गम्भीर उल्लंघन हो ।’

उनका अनुसार नेपालमा यस्ता गतिविधि रोक्न कानुनी बाटो त छ, तर त्यो पर्याप्त देखिएको छैन । ‘नेपालमा साइबर अपराध र गोपनीयता संरक्षणसम्बन्धी कानुन भए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण देखिन्छ । धेरै पीडित महिलाहरू सामाजिक दबाब, डर र लामो कानुनी प्रक्रियाका कारण खुलेर न्याय खोज्न सकिरहेका छैनन्,’ उनले भनिन्, ‘त्यसैले कानुनसँगै कडा कार्यान्वयन, डिजिटल सचेतना र पीडितमैत्री वातावरण आवश्यक छ ।’ भाइरल हुने होडमा लागेका युट्युबरहरूले पत्रकारिताको न्यूनतम मर्यादासमेत बिर्सिएको भन्दै उनले पीडित महिलालाई न्याय दिलाउन मिडियाको भूमिका अत्यन्त जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिन्छिन् ।

मिडियाले महिलामाथि हुने हिंसा, दुव्र्यवहार तथा अपहेलनाका घटनाहरूलाई जस्ताको त्यस्तै बाहिर ल्याउनु मात्र होइन, त्यसका कारण, असर र न्याय प्राप्तिको बाटो देखिने खालका सामग्री प्रस्तुत गर्नुपर्ने बताउँछिन् । तर, धेरैजसो नेपाली मिडियाले घटनालाई सनसनीपूर्ण बनाउँदै पीडितको अवस्था अझै छताछुल्ल पार्ने काम गरिरहेका उनको भनाइ छ ।
मडियाले पीडितको गोपनीयता र सम्मान जोगाउँदै सत्यतथ्यमा आधारित सामग्री प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘घटना भइसकेपछिको न्यायिक प्रक्रिया, कानुनी सहायता र घटना हुनुअघि अपनाउनुपर्ने सचेतनाबारे पनि समाजलाई जानकारी गराउन आवश्यक छ ।’

यस्तै, डिजिटल युगमा सूचनाको पहुँच सबैमा पुगेको छ । तर, यसले ‘तथ्य जाँच’ को गम्भीर संकट निम्त्याएको कान्तिपुर टेलिभिजनका वरिष्ठ उप–सम्पादक महाप्रसाद खतिवडा बताउँछन् । ‘अहिले जो पनि इन्फ्लुएन्सर हुन सक्ने अवस्थाले गलत सूचना फैलाउने जोखिम बढाएको छ,’ उनी भन्छन्, ‘अहिले मुख्य चुनौती भनेको तथ्य जाँच हो । जिम्मेवार पत्रकारले डिजिटल माध्यममा आएको सूचनालाई सीधै विश्वास नगरी त्यसको सत्यता जाँच्नुपर्छ । परम्परागत पत्रकारिताका मूल्यहरू, तथ्य, सन्तुल, विश्वसनीयता र आचारसंहिता अहिले झन् बढी आवश्यक छन् ।’

अहिले डिजिटल युगमा देखिएका समस्याको मुख्य कारण डिजिटल साक्षरताको अभाव रहेको र नागरिकहरूले सूचना प्रवाहको प्रकृति ,गुणस्तर बुझ्न आवश्यक रहेको औँल्याउँदै उनले डिजिटल साक्षरता फैलाउने प्राथमिक दायित्व राज्यको भएको उल्लेख गरे । यद्यपि, राज्यले यसलाई गम्भीर मुद्दाका रूपमा लिनुको साटो नियन्त्रण र दण्डमुखी कानुन निर्माणमा मात्र ध्यान दिएको उनको आरोप छ ।

पत्रकारिता केबल पैसा वा डलर कमाउने माध्यम मात्र नभई समाज र राष्ट्रप्रतिको एक जिम्मेवार कार्य भएको प्रस्ट पार्दै उनले सही सूचनाले समाजलाई नै लाभ पुग्ने बताए । नागरिकहरूले सत्य, भ्रमपूर्ण र पक्षपाती सूचनाबीचको अन्तर छुट्याउन सक्ने क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमाकुमारी चेम्जोङले पत्रकार महासंघले युट्युबका सामग्री (कन्टेन्ट) लाई आफ्नो क्षेत्राधिकारभित्र राखेको भए पनि युट्युबरहरूले आचारसंहिता पालना नगरेकोप्रति चिन्ता व्यक्त गरिन् । युट्युबमा प्रसारण हुने सामग्रीहरूमा सत्यतथ्यमा आधारित सूचना, सन्तुलित समाचार र सार्वजनिक सरोकारका विषयहरूको अभाव देखिएको उनको ठम्याइ छ । ‘घटना सत्य भए पनि सरोकारवालाहरूको गोपनीयताको फिटिक्कै ख्याल गरिएको छैन । केबल भ्युज बढाउने र कन्टेन्ट भाइरल बनाएर जीविकोपार्जन गर्ने माध्यम मात्र बनाइएको छ,’ उनले भनिन्, ‘यसले विशेषगरी महिला, बालबालिका र पीछडिएका वर्गमा नकारात्मक प्रभाव पारेको छ । कतिपय मानिस त यसकै कारण डिप्रेसनमा गएर आत्महत्या गर्न समेत बाध्य भएका छन् ।’

यस्ता संवेदनशील र गम्भीर विषयहरूलाई सम्बोधन गर्न नेपाल पत्रकार महासंघले नियमनको पहल गरिरहेको उनले जानकारी दिइन् । ‘हामीले सरकार समक्ष पनि यस्ता गलत प्रचार रोक्न र नियमन गर्न विभिन्न फोरम तथा सञ्चार सम्बद्ध निकायहरूमा छलफल गरिरहेका छौँ,’ उनले भनिन् । कुनै पनि परिवारको प्रतिष्ठामा आँच आउने र समाज भड्काउने खालका सामग्री बनाउनेहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ छ । महासचिव चेम्जोङले नागरिकस्तरमा डिजिटल साक्षरताको आवश्यकता औँल्याउँदै सम्पूर्ण युट्युबर र कन्टेन्ट क्रिएटर्सहरूलाई पत्रकारिताको आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह समेत गरेकी छिन् ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *