सजन राई
दमक । झापाको दमक नगरपालिका दोस्रो ‘दमक खेलकुद महोत्सव ’तामझामसहित भयो । यो महोत्सवलाई नगर सरकारले आफ्नो ठूलो उपलब्धिका रूपमा चित्रण गरिरहेको छ । ९ वटा विधाका खेलहरू समेटिए । २५ लाख बजेट विनियोजन भयो । नगरका वडा–वडामा खेलाडी मैदानमा पुगे । तर, यही तामझाम र उत्सवको रौनकताभन्दा टाढा दमक–२ को एउटा धुलाम्य प्लटिङमा केही मुक्काहरू हावामा बज्रिरहेका छन् । तिनीहरू दमकका बक्सिङ खेलाडी हुन् । ती खेलाडी, जसले दमकलाई मात्र होइन, सिंगो नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदको मञ्चमा पदक दिलाएर चिनाए ।
तर, विडम्बना आफ्नै आँगनमा हुँदैगरेको यो ठूलो खेलकुद उत्सवमा तिनीहरूको खेल ‘बक्सिङ’ भने अँटाउन सकेन । पदक दिलाउने बक्सिङका खेलाडी खेलकुद महोत्सवमा ‘दर्शक’ मात्रै बन्न पुगे । खेलको एउटा विशिष्ठ विधा बक्सिङ दमक नगरपालिकाको उपेक्षामा प¥यो । यो उपेक्षाबाट न प्रशिक्षक सन्तुष्ट छन् न त खेलाडी नै । कुनै पनि खेल महोत्सव तब मात्र सफल मानिन्छ, जब त्यसले आफ्ना सबै सिर्जनशील र मिहिनेती हातहरूलाई ठाउँ दिन्छ ।
तर, दमक नगरपालिकाले बक्सिङलाई समेट्न सकेन । दमक नगरपालिकामा खेलकुद महोत्सवबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा बसिक्ङका प्रशिक्षक तथा झापा जिल्ला बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष एवं दमकका मुख्य प्रशिक्षक केशर मगरले बक्सिङ समावेश नभएकोमा आपत्ति जनाएका थिए । उनले आफ्नो आक्रोश पोख्दासमेत नगरपालिका र खेलकुद समितिले भने टालटुले जवाफ दिएर थमथम्याउने प्रयास गरेको थियो ।
यसरी खेलकुद महोत्सवमा स्थानीय तहले उपेक्षा गर्दा दमक–२ स्थित पानीट्यांकी छेउको एउटा खाली जग्गामा भेला भएर कडा मिहिनेतका साथ अभ्यास गरिरहेका खेलाडीको मन भक्कानिएको छ । बक्सिङ मार्सल आर्टको एउटा यस्तो विधा हो, जहाँ दया र मायाका लागि कुनै ठाउँ हुँदैन । टाउकोमै प्रहार गर्नुपर्ने भएकोले यो अत्यन्तै जोखिमपूर्ण छ । तर, यी युवाहरूका लागि त्यो जोखिमभन्दा ठूलो पीडा आफ्नै नगर सरकारको उपेक्षा बनेको छ । ‘देशका विभिन्न ठाउँमा मलाई सम्मान गरिन्छ, तर आफ्नै दमक नगरपालिकाले भने बक्सिङलाई खेल नै मान्दैन,’ प्रशिक्षक मगर भन्छन्, ‘दोस्रोपटक पनि महोत्सवमा नसमेट्दा त अब रिस उठिसक्यो । बरू नगरले खेलकुदको लिस्टबाट बक्सिङको नामै हटाइदिए ढुक्क हुन्थ्यो । नत्र यो हेला किन ?’
दमकमा बक्सिङको जग कसरी बस्यो भन्ने कथा निकै मर्मस्पर्शी छ । २०५२ सालमा दमक–६ स्थित पानीट्यांकी तल्लो पट्टि जेठा बाउ लामाको एउटा काठको गोदामबाट यो खेल सुरु भएको थियो । त्यस समयमा दमकमा बक्सिङ के हो भन्ने बुझाउनै गाह्रो थियो । ‘काठको गोदामको भुइँमा धुलोसँग खेल्दै हामीले बक्सिङ सुरु ग¥यौँ,’ प्रशिक्षक मगर सम्झन्छन्, ‘कति पटक चोट लाग्यो, कति पटक भोकभोकै खेलियो, तर दमकलाई बक्सिङको हब बनाउने सपना कहिल्यै मर्न दिएनौँ ।’
२०७७ सालमा आएर मात्र ‘दमक बक्सिङ क्लब’ विधिवत् दर्ता भयो । तर, विडम्बनाको कुरा, दर्ता भएको तीन वर्ष बितिसक्दा र खेल सुरु भएको ३१ वर्ष पुग्न लाग्दा पनि दमकको बक्सिङसँग न एउटा व्यवस्थित कभर्ड हल छ, न त एउटा गतिलो रिङ नै । हिजो गोदाममा खुम्चिएको बक्सिङ आज प्लटिङको खुला आकाशमुनि आइपुगेको छ । बर्खा लागेपछि अभ्यास रोक्नुपर्ने बाध्यता छ, तर नगर सरकार भने खेलकुद महोत्सवको नाममा रमाइलो गरिरहेको छ ।
प्रशिक्षक मगरसँग भारतका विभिन्न क्लबमा ८ वर्ष खेलेको र १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा टेक्निकल अफिसर भएर काम गरेको लामो अनुभव छ । अहिले पनि उनी विभागीय टोलीहरूको सेलेक्सन हेर्ने गर्छन् । तर, आफ्नै नगरमा उनलाई ‘नदेखे झैँ’ गरिन्छ ।
मगरका अनुसार दमकको बक्सिङले स्थानीय क्लब र व्यक्तिगतस्तरबाट सम्मान त पाएको छ । तर, सरकारबाट ‘हौसला’सम्म पाएको छैन । ‘हामीले प्रशिक्षण निःशुल्क गराइरहेका छौँ । कतिपय अवस्थामा खेलाडीहरूलाई युनिफर्मसमेत आफैँले दिनुपर्छ । तर, खै सरकार ? खै बजेट ?’, उनी भन्छन् ।
दमकबाट बक्सिङमा पदक जित्ने खेलाडीहरूको सूची लामो छ । दमक बक्सिङ क्लबबाट उत्पादित खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा दमकको शान उच्च पारेका छन् । पदक दिलाउने खेलाडीहरूमा प्रतिमा राई, प्रतिक्षा राई, युना मगर, स्मारिका राई, दिप्सा काङबाङ, सुस्मिता नेम्बाङ, मनिता राई, सुलभ मगर, सुस्मिता योङयाङ, प्रफुल थापा, सुमन बन्जरा, गगन खड्का, निर्प गजुरेल, झुलाङ काङबाङ र दिनेश अधिकारीजस्ता जुझारु बक्सरहरू छन् । यी सबै खेलाडीहरूले दमकको नाममा पदक जितेका हुन् । तर, ती खेलाडीहरू खेलकुद महोत्सवको गेट बाहिरै परे ।
‘दमक खेलकुद महोत्सवमार्फत आफ्नो वडालाई पदक दिलाउने ठूलो सपना थियो । यो महोत्सव हाम्रा लागि एउटा सुनौलो अवसर हुनुपर्ने थियो,’ दमक २ बाट प्रतिनिधित्व गर्ने बक्सिङका राष्ट्रिय खेलाडी ग्याल्बो आङदेम्बे भन्छन्, ‘तर, त्यो सपनामै सीमित भयो । यति मिहिनेत गर्दा पनि अवसर नपाउँदा साह्रै नमज्जा लागिरहेको छ ।’
दमक बक्सिङ क्लबका सहायक प्रशिक्षक प्रफुल्ल थापा नगरको यो निर्णयले बक्सिङ खेल नै संकटमा परेको बताउँछन् । ‘नगरले आफैँ बक्सिङका खेलाडी सकाउन खोज्दैछ,’ उनी भन्छन्, ‘पहिले नै बक्सिङमा आकर्षण कम हुँदै गएको बेला सरकारले प्रोत्साहन दिनुपर्नेमा उल्टै महोत्सवबाटै हटाउँदा त खेलै छाडिदिऊँ जस्तो लाग्छ ।’ अभ्यासका लागि आवश्यक सामानहरू प्रायः अरूसँग मागेर वा व्यक्तिगत खर्चमा व्यवस्थापन गरिएको थापा बताउँछन् । ‘अब बर्खा लाग्यो, पानी परेको बेला अभ्यास गर्न ठाउँ छैन । एउटा सानो कभर्ड हल मात्र भइदिएको भए पनि कति धेरै खेलाडी उत्पादन हुन्थे होलान्,’ उनी भन्छन्, ‘नगरले अरूलाई जग्गा भाडामा दिन्छ, तर खेलकुदका लागि संरचना बनाउन चासो देखाउँदैन ।’
दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिम चौलागाईं भने बक्सिङलाई उपेक्षा नगरेको दाबी गर्छन् । तर, उनको तर्कमा खेलाडीहरू सन्तुष्ट छैनन् । ‘कम्तिमा ५ वटा वडाले सहभागिता जनायो भने मात्र प्रतिस्पर्धा राम्रो हुन्छ । थोरै सहभागी हुँदा प्रतिस्पर्धात्मक हुँदैन,’ अध्यक्ष चौलागाईंले भने, ‘यसपटक बक्सिङको सामान खरिदका लागि ५० हजार रुपैयाँ छुट्याएका छौँ र आउँदा कार्यक्रममा समेट्छौँ ।’
दमकमा खेलकुदका नाममा बजेट त आउँछ, तर त्यो कुन खेलमा र कसरी खर्च हुन्छ भन्नेमा सधैँ विवाद रहने गरेको छ । फुटबलजस्ता लोकप्रिय खेलहरूमा लाखौँ खर्चिँदा बक्सिङजस्तो सबैभन्दा धेरै पदक दिलाएको खेलले ‘सहभागी पुगेनन्’ भन्नु हाँस्यास्पद हुने बक्सिङ खेलाडीरूको भनाइ छ । महोत्सवमा यसपटक पहिलो महोत्सवमा नभएको म्याराथुन समावेश गरियो । नयाँ विधा थप्नु राम्रो हो, तर स्थापित विधालाई नै गलहत्याउनुले दमकको खेलकुद प्रशासनको नियतमाथि शंका उब्जाएको बक्सिङ खेलाडी बताउँछन् ।
