आजको मिति: शुक्रबार, जेठ १, २०८३
१०:२२ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

मिक्लाजुङ भेट्रान्स कप २०८३ आयोजकको पोल्टामा

माङसेबुङ ।

तेस्रो आमन्त्रित मिक्लाजुङ भेट्रान्स कप २०८३ को उपाधि आयोजक मिक्लाजुङ पाँचथरले जितेको छ ।

पाँचथरको मिक्लाजुङ ५ स्थ्ति पाङ्तुवा खेल मैदानमा सोमबार भएको फाइनल खेलमा साबिक विजेता बौद्ध भेट्रान पाँचथरलाई टाइब्रेकरमा हराउदै आयोजक विजयी भएको हो ।

जितसँगै उसले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र पायो भने उपविजेता बौद्धले २५ हजारमा चित्त बुझायो ।

निर्धारित समयमा २–२ गोलको बराबरीपछि नतिजा टाइब्रेकरबाट निर्धारण भएको थियो । पहिलो हाफको १४औँ मिनेटमा मिक्लाजुङका प्रदिप राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

२०औँ मिनेटमा बौद्धले पाएको पेनाल्टीलाई हर्कबहादुर बिकले सदुपयोग गर्दै खेल बराबरी बनाएका थिए ।

रोचक र प्रतिस्पर्धात्मक बनेको खेलको २६औँ मिनेटमा दिनेश गुरुङले गोल गर्दै बौद्धलाई अग्रता दिलाएका थिए । जितको नजिक पुगेको बौद्धले अन्तिम समयमा अग्रता जोगाउन सकेन । इन्ज्यूरी समयमा प्रदिप राईले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा पुर्याएका थिए ।

बराबरीसँगै टाइब्रेकरमा मिक्लाजुङ ४–२ गोल अन्तरले विजयी बन्यो । मिक्लाजुङको लागि प्रदिप राई, सुदिप राई, धरेन्द्र लावती र पुष्प भुजेलले गोल गरे । यता बौद्धका लागि दिनेश गुरुङ र रविन गुरुङले मात्रै गोल गर्न सफल भए ।

मिक्लाजुङ भेट्रानको आयोजना भएको प्रतियोगितामा व्यक्तिगत विधातर्फ मिक्लाजुङका भक्तबहादुर सेर्मा उत्कृष्ट गोल किपर घोषित भए भने हाई स्कोरर मिक्लाजुङकै प्रदिप राई भए । बौद्ध भेट्रानका दिनेश गुरुङ उत्कृष्ट खेलाडी बन्दा बौद्धका जलकुमार गुरुङ उत्कृष्ट मिडफिल्डर चुनिए । यसैगरी उत्कृष्ट डिफेन्स बौद्धका हर्कजंग नेम्बाङ बन्न सफल भए ।

विजेता र उपविजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिम, विशेष अतिथि माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, मिक्लाजुङ ५ वडा अध्यक्ष अविसन लावती लगायतले पुरस्कार वितरण गरेका थिए ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *