भद्रपुर ।
विभागीय डर्मीका बीच शुक्रबारको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस फुटबल क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउँदै त्रिभुवन आर्मी फुटबल क्बल झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगडी महिला गोल्डकपको फाइनल पुगेको छ ।
शुक्रबारको पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी पुलिसलाई पाखा लगाउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो ।
उसले भोलि (शनिबार) हुने एपीएफ फुटबल क्लब र चर्च ब्वाइज युनाइटेट फुटबल क्लबबीच हुने अन्तिम सेमिफाइनल खेलका विजेतासँग उपाधिका लागि भिड्ने छ ।
जितका लागि आर्मीकी चन्द्र भण्डारीले बिमला चौधरीको पासमा ३१ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।
दोस्रो हाफको ५५ औँ मिनेटमा जेनिफर रानामगरले अग्रता दोब्बर पारिन् । हेमा चौधरीको क्रसबललाई पुलिसकी गोलकिपर सपना राईले पक्रन नसक्दा जेनिफरले त्यसको फाइदा उठाएकी थिइन् ।
खेलको ७० मिनेटमा पुलिसका लागि रेखा पोडेललेले हेडरमार्फत एक गोल फर्काएकी थिइन् । तर, उनको त्यो गोल पुलिसको हार टार्न पर्याप्त हुन सकेन ।
खेलको प्लेयर अफ दी म्याच आर्मीका मेन डिफेन्स बिमला विक भइन् । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

भोलि (शनिबार) हुने अन्तिम सेमिफाइनल खेलमा एपीएफ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।
