भद्रपुर ।
झापाको भद्रपुरमा जारी ओमसाई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्कपको मंगलबारको खेलमा पदमा स्पोर्टस क्लब ओखलढुङ्लाई ६–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै सशस्त्र प्रहरी बलको महिला टोली विजयी भएको छ ।
अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपिएफ टोलीले पहिलो हाफमा १–० को गोल अन्तर बनाए पनि दोस्रो हाफमा गोलको वर्षा गरेको थियो ।
पहिलो हाफको २८ औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् ।
दोस्रो हाफको ४१ औँ मिनेटमा घिसिङले विपक्षी गोलकिपर अगाडि बढेको समयलाई सदुपयोग गर्दै अग्रता दोब्बर पारिन् । खेलको ४२ औँ मिनेटमा एपिएफको लागि तेस्रो गोल रेनुका नगरकोटीको नाममा रह्यो ।
त्यस्तै, खेलको ५२ औँ मिनेटमा रश्मिले ह्याट्रिक पूरा गरिन् । उनले गरेको कडा प्रहार पदमा स्पोटर्स क्लबकी गोलकिपर झरना डुम्राकोटीको हातमा लाग्दै बलले जाली चुम्यो । खेलको ५४ औँ मिनेटमा अनिता केसीले अर्काे गोल थपिन् ।
पदमा स्पोर्टस्की डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै उनले गरेको प्रहार गोल भएको थियो । ५६ औँ मिनेटमा रश्मिले अर्काे गोल थपिन् ।
पदमा स्पोर्टस्ले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि स्कोर भने निकाल्न सकेन । खेलको ५४ औँ मिनेटमा पदमाकी पुष्पा खड्काले डिबक्सबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले मुस्किलले बचाएकी थिइन् ।
खेलको प्लेयर अफ दी म्याच एपिएफकी रश्मी घिसिङ भइन् । उनले नगद ११ हजारसहति ट्रफी हात पारिन् ।

जितसँगै एपिएफले संकटा फुटबल क्लबसँगसँग क्वाटर फाइनल खेल्ने छ । सो खेलका विजेताले चर्च ब्वाइज युनाइटेट एफसीसँग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।
यस समूहबाट यअघि नै चर्च ब्वाइज युनाइटेटले टोली थिम्पु सिटी एफसीलाई पाखा लगाएर सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
बुधबारको पहिलो क्वार्टर फाइनल खेलमा नेपाल पुलिस फुटबल क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।
