आजको मिति: शुक्रबार, जेठ १, २०८३
०९:१९ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

विद्यार्थी राजनीति : एक बहस

कमन देवान

विषय प्रवेश :

लामो राजनीतिक अभ्यास, सैद्धान्तिक विकासक्रम, मुलुक परिवर्तनका उथलपुथल र राजनीतिक क्रान्ति, संघर्षका चरणहरु पार गरेर नेपाली राजनीति आजको कथित लोकप्रियतावादको आँगनमा आइपुगेको छ । शहरीया बेरोजगार युवाको असन्तुष्टिलाई मसला बनाउँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी विद्रोहपछिको चरणमा त्यही लोकप्रियतावादको बुइ चढेर र पुराना पार्टीहरुको अकर्मण्यताको प्रतिफलस्वरूप जनउपेक्षामा बाजी मार्दै दुईतिहाई नजिकको बहुमत पाएर शासन गरिरहेको छ । उसले शासकीय सुधारको रटानमा नै पुरानाका नामोनिशाना मेटाउन न्वारानदेखिको बल लगाइरहेको छ । परिवर्तन गर्ने नाउँमा होस् वा नयाँका नाउँ अथवा जान्नेलाई छानिएको बहानामा रास्वपा नेतृत्वको बालेन सरकार स्थापित विधि, पद्धति र मूल्य मान्यताको खाल उतार्ने कसरतमा छ । जसरी न्यायालयमाथि कथित सक्षमलाई लैजाने नाउँमा कैफियत भएको छ, त्यसैगरी श्रमिक अधिकारमाथि प्रहार गर्न ट्रेड युनियन खारेजीको हुँकार गरिरहेको छ भने विद्यार्थी संगठन र विद्यार्थी राजनीतिमाथि बालेन सत्ताले सबै भन्दा उग्र पूर्वाग्रह साँधेको प्रष्ट छ ।

नेपालमा विद्यार्थी राजनीति केवल विश्वविद्यालय र क्याम्पसमा हुने राजनीतिक गतिविधि मात्र होइन । यो समग्रमा देशको राजनीतिक परिवर्तनको शक्तिशाली माध्यम र साधन दुवै रहँदै आएको थियो र छ । नेपाली राजनीतिको इतिहासमा निरंकुश जहानीया राणा शासन फाल्नेदेखि गणतन्त्र र जेनजी विद्रोहसम्मका आन्दोलनमा विद्यार्थीहरूको भूमिका नै निर्णायक छ । चाहे सडकमा उत्रने र लडन भिडन गर्ने, गोली खाने र मर्नेसम्मका घटना किन नहुन् ? वा, समकालीन सत्ताको तानशाह प्रवृत्तिका विरुद्ध वैचारिकी निर्माण गर्ने र चेतनाको आलोकमा परवर्तनको गोरेटो निर्माण गर्ने कार्यमा नेपाली विद्यार्थी राजनीतिको इतिहास, योगदान, बलिदानी र त्यागको बारेमा जति बखान गरे पनि कमै हुन्छ । यस दृष्टिकोणबाट केलाउँदा नेपालको विद्यार्थी राजनीतिको इतिहासलाई चरणवद्ध रूपमा केलाउन आवश्यक छ ।

नेपालको विद्यार्थी राजनीतिको इतिहास

१. राणा शासनविरुद्धको सुरुवात (२००० सालअघि–२००७ साल)
नेपालमा जब निरंकुश राणा शासनविरुद्ध जनस्तरबाट विद्रोहको तयारी हुन थाल्यो, विद्यार्थी राजनीतिले औपचारिक रूपमा त्यही समयबाट आकार ग्रहण ग¥यो । खासगरी छिमेकी मुलुक भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू राजनीतिक चेतनाले प्रभावित भए । किनकि उनीहरुले शक्तिशाली अंग्रेज साम्राज्यलाई गरिब र शक्तिहीन भारतीय जनताले लखेटेको आफ्नै आँखाले देखेका थिए । त्यस राजनीतिक आन्दोलनको प्रभावले नेपाली विद्यार्थीहरुमा नयाँ आशा, उत्साह र चेतनाको सञ्चार गरेको थियो । जस कारण उनीहरूले राणा शासनविरुद्ध विभिन्न मोर्चाबाट काम गरे । राणाहरुको अत्याचारविरुद्ध राति राति लुकेर पर्चा टाँस्ने, बहस तिव्र बनाउने र संगठन निर्माण गर्ने जस्ता कार्यकै उपज हो भन्न सकिन्छ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठहरु रााणा शासनका निशानामा परे र मारिए । यसै कालखण्डमा भएको ‘जयतु संस्कृतम्’ आन्दोलनलाई नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा पहिलो आन्दोलन मानिन्छ । १ असार ०४ सालमा तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको त्यस आन्दोलनले नेपालमा विद्यार्थी आन्दोलनको जग निर्माण गरेको थियो । त्यसैको जगमा ०७ सालको क्रान्तिमा विद्यार्थीहरूको सक्रिय भूमिका रह्यो । उनीहरुले प्रजातन्त्रको माग, अभिव्यक्ति स्वतन्त्रताको वकालत, शिक्षामा पहुँचको हुनुपर्ने जस्ता मुद्दालाई घनिभूत गरी उठान गरे । विद्यार्थी राजनीतिको प्रारम्भिक चरण मान्न सकिने यो कालखण्डले १०४ वर्षसम्म नेपालको राजनीतिक सत्तामा जकडिएको निरंकुश राणा शासनलाई सदाका लागि बिदा गर्ने सफलता प्राप्त ग¥यो ।

२. पञ्चायत काल (२०१७–२०४६)
राजा महेन्द्रले २०१७ सालमा पञ्चायती ‘कू’ मार्फत सत्ता हत्याए । जननिर्वाचित सरकार भङ्ग गरेर लादिएको पञ्चायती कालारात्रीले देशमा हुर्कन लागेको प्रजातन्त्रको बिरुवा निमोठ्ने काम भयो । क्रान्तिबाट प्राप्त प्रजातन्त्र खोसिएपछि त्यसको पुनः प्राप्तिका लागि विद्यार्थी राजनीतिले झन् बढी संघर्ष गर्नु प¥यो । विद्यार्थी राजनीतिमा राजनीतिक विचारसहितको चेतना र पक्षधरताको विकास पनि यसै चरणमा भयो । नेपाल विद्यार्थी संघ (नेपाली कांग्रेस निकट), अनेरास्ववियु, अखिल छैठौं (बामपन्थी) लगायत विद्यार्थी संगठनहरु निर्माण भए । उनीहरुले आपसमा वैचारिक संघर्ष गरे भने पञ्चायतविरुद्धको आन्दोलनमा निरन्तर र सघन सहकार्य गरे । बहुदलीय व्यवस्थाको माग गर्दै विद्यार्थीहरुले हाँकेको राजनीतिक परिवर्तनको आन्दोलनले त्यस समयमा मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा पनि योगदान गरे । विद्यार्थी आन्दोलनको दबाब थेग्न नसकेर तत्कालीन राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह नै घोषणा गर्न बाध्य भएका थिए । बहुदल वा सुधारिएको पञ्चायत चुन्ने गरी सम्पन्न जनमत संग्रहको निर्वाचनमा सुधारिएको पञ्चायत पक्ष विजयी भए पनि त्यसको १० वर्ष पनि पञ्चायत टिक्न सकेन । विद्यार्थी आन्दोलनले त्यस ताका मुलुकको राजनीतिक परिर्वतनका लागि खेलेको भूमिका अत्यन्त प्रभावशाली मानिन्छ । विचार, बहस र तर्कसहितको राजनीतिका लागि विश्वविद्यालय र क्याम्पसहरु विश्वासिलो राजनीतिक थलो बनेका थिए ।

३. २०४६ सालको जनआन्दोलन
२०४६ सालको जनआन्दोलनमा विद्यार्थी संगठनहरू अग्रपंक्तिमा थिए । ३० वर्ष जरा गाढेको निरंकुश पञ्चयत ढाल्न नेपाली काँग्रेस र संयुक्त बाममोर्चाले कम्मर कसेसँगै विद्यार्थी जमातले देशै बोक्ने काम गरेको थियो । जतिबेला सडक आन्दोलनले पञ्चहरुको मुटु थर्थराएको मात्रै थिएन, जनतको अपार सहभागिताले पञ्चायती सत्ताको धमिरा लागिसकेको संरचनाहरु एकाएक ढल्न थाले । विद्यार्थी नै हरेक ठाउँमा निकालिएका जुलुसको अग्रपंक्तिमा देखिएका थिए । विद्यार्थीले नै बहुदलीय प्रजातन्त्रको पुनर्वहालीका लागि जीवनको बलिदानी गरेका थिए । उनीहरुले हरेक मोर्चाबाट पञ्चका सबै राजनीतिक र शासकीय अवयवहरुलाई बहिष्कार मात्रै गरेका थिएनन्, जनता मारेर जनआन्दोलन दबाउन पञ्चायती सत्ताले गरेको क्रुरतापूर्ण प्रहरी दमनविरुद्ध कडा प्रतिरोध गर्ने पंक्तिमा पनि विद्यार्थी नै थिए । विद्यार्थीहरूको यही त्याग र बलिदानीपूर्ण संघर्षको बलमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो ।

४. २०५२–२०६२ (माओवादी जनयुद्धकाल)
माओवादी जनयुद्धको यस काल खण्डलाई नेपाली राजनीतिको सकसपूर्ण चरण मान्न सकिन्छ । खासगरी नेपाली जनताले देशभित्रै युद्धको भूमरीमा बाँच्नुपरेको यो कालखण्डमा विपरीत ध्रुवका दुई नाल बन्दुकको चेपुवामा ज्यान जोगाउनु परेको परिस्थिति धेरैका लागि जीवनको कष्टप्रद भोगाइमध्येमा पर्दछन् । यतिबेला जसरी नेपाली राजनीतिमा उतारचढापहरु देखा परे, ठीक त्यसैगरी नेपाली विद्यार्थी राजनीतिले पनि कष्टका पहाडहरु छिचोल्नु परेको थियो । वस्तुगत विश्लेषण गर्दा माओवादी जनयुद्धको सहादतको जग नै विद्यार्थी दिलबहादुर रम्तेल रगतबाट लेखियो । ०५२ को १४ फागुनमा १० वर्षीय रम्तेललाई सुरक्षाकर्मीले गोरखाको बारपाकमा गोली हानेर हत्या ग¥यो । यद्यपि माओवादीले भर्खरै थालेको जनयुद्ध बारे नेपाली विद्यार्थी राजनीतिले ठोस् बुझाइ निर्माण गरिनसकेको त्यस समयमा दिलबहादुरको सहादत बारे नै विद्यार्थी संगठनहरुका बीच पक्ष वा विपक्षका विवादित धारणाहरु निर्माण गरिए । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव केन्द्रित राजनीतिमा यस कालखण्डमा विद्यार्थी संगठनहरु बढी केन्द्रित देखिए । हुन त दलगत राजनीति र सत्ताका लागि चलेको छिनाझम्टीले राप्रपा जस्तो पुरातनवादी शक्तिका पोल्टामा पटक–पटक सत्ताको नेतृत्व पुग्यो । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले राप्रपा विभाजन गरेर प्रधानमन्त्रीको ज्याकपट पारे । एमाले र काँग्रस यही कालखण्डमा विभाजित भए । क्याम्पसहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउने परिपाटी पनि यही कालखण्डमा चल्यो । शिक्षण हुने वातावरण प्रभावित मात्रै भएन । माओवादी जनयुद्धको भङधङीले शिक्षकहरुलाई मासिक लेबी भराउनेदेखि सुराकीका नाउँमा विद्रोही पक्षको शिकार बनाउने र बागी विचारको समर्थन गरेको आरोपमा शाही सत्ताले पनि शिक्षकहरुकै शिकार गरेर खुनको प्यास मेट्न पनि पछि परेन । तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुनेगरी भएको दरबार हत्याकाण्डले विद्यार्थी राजनीतिमा वैचारिक ट्वीष्ट ल्याउने काम ग¥यो । जसोजसो जनयुद्धको प्रभाव देशव्यापी बढ्दै गयो, सामन्ती र निरंकुश सत्ताको प्रभाव घटेर जानु विज्ञानसम्मत असर नै थियो । विद्यार्थी राजनीतिका अनेक कमजोरीका बीच यही कालखण्डले नेपाली राजनीति र जनजीवनमा समावेशिता, गणतन्त्र, सङ्घीयता जस्ता मुद्दालाई विद्यार्थी राजनीतिको वृत्तमा व्यापक बहसका लागि खुला गरिदियो ।

५. २०६२÷६३ को आन्दोलन र त्यसपछिको अवस्था
देशमा युद्धको जर्जरताको फाइदा उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए । उनले दलहरुलाई अघोषित प्रतिबन्धमा राखे । देशभर पञ्च¥याली गराएर आफू नै देशको सर्वशक्तिमान हुन खोजे । तर, विद्रोहको आलोकबाट खारिँदै आएको मुलुकका जनतामा निरंकुशता र सामन्तवादी राजतन्त्रको निम्ति अलिकति पनि स्थान बाँकी थिएन । तत्कालीन सात दल र विद्रोही माओवादीले १२ बुँदे समझदारी गरेपछि मुलुकले वसन्त क्रान्तिको लहर समायो । राजतन्त्र अन्त्य गर्ने र संविधानसभाको गठनसहित गणतन्त्र, सङ्घीता, धर्म निरपेक्षता, समावेशी समानुपातिक राज्इ व्यवस्थामा पुग्ने शर्तमा भएको दोस्रो जनआन्दोलनमा पनि विद्यार्थी राजनीतिले आफ्नो परिवर्तनकामी धर्मलाई इमानका साथ निर्वाह गर्न सक्यो । विद्यार्थीले नै देशभर सडक आन्दोलनमा अग्रपंक्तिको रहेर नेपाली जनताको सुरक्षा मात्रै गरेनन् । शाही सत्ताको आदेश पालक सुरक्षाकर्मीलाई लठेटेर त्राहीमाम बनाए । यस कालखण्डले विद्यार्थी राजनीतिभित्र समानुपातिक प्रतिनिधित्व, समावेशी शिक्षा जस्ता सकारात्मक मुद्दाको प्रवेश भयो । सँगै, शिक्षाका नाउँमा व्यापक निजीकरण, शैक्षिक बेरोजगारी हुँदै उच्च शिक्षा अध्ययन गरेका विद्यार्थी विदेश पलायन हुने परिपाटी पनि सुरु भयो । विद्यार्थी संगठनहरूले शैक्षिक र विद्यार्थीका मुद्दामा कम चासो राखे भने विभिन्न लाभका पदमा पुग्न दलका ‘भातृ संगठन’ र नेताका चम्चा बढी भएर चाकडी गर्ने परिपाटी विकास भयो । विद्यार्थी संगठनका स्वार्थपूर्तिका लागि विश्वविद्यालय र क्याम्पसहरुमा तालाबन्दी गर्नेदेखि ग्याङ फाइट गर्ने, प्राद्यापकहरुमाथि घरेलु हतियारले आक्रमण गर्ने आदि गतिविधि भए । जसका कारण विद्यार्थी राजनीतिले आफ्नो इतिहासको गरिमा र ओज गुमाउन थाल्यो । विद्यार्थी आन्दोलनका नाउँमा कमाउ धन्दाका घटना सार्वजनिक मात्रै भएनन्, क्रमशः विद्यार्थी नेताहरुकै पो निजी शिक्षण संस्थाहरुमा लगानी हुन थाल्यो । यसले विद्यार्थी राजनीतिमाथिको आरोपहरुलाई यथार्थतर्फ लैजान थाल्यो । र, बदनाम गराउन पुग्यो ।

६. जेनजी विद्रोह (भदौ २३ र २४)
भर्खरैको यो आन्दोलनमा विद्यार्थीको सहभागितालाई अलग–अलग कोणबाट हेरिएको छ । कुनै पनि विद्यार्थी संगठनका नाउँमा त्यो विद्रोह भएको थिएन । एउटा आमुक सामाजिक आवरणमा खुलेको संस्थाले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध र भ्रष्टाचारविरोधी नारा दिएर सुशासनको हवाला दिँदै उत्रिएको नवयुवा पुस्ता (सन् १९९७–२००३) ले काँग्रेस–एमालेको शक्तिशाली दुईतिहाई गठबन्धन सत्तालाई ४८ घण्टा नपुग्दै घुँडा टेकाउने काम गरेको थियो । एकै दिन र संसद भवन अगाडि मात्रै १९ जनाको सहादत भएको थियो । ती मध्ये कतिपय विद्यालयकै पोशाकमा आन्दोलनमा सहभागी भएका थिए । यसर्थ, विद्यार्थी संगठन र राजनीतिका नाउँमा नभए पनि यो आन्दोलन विद्यार्थीहरुकै सहभागितामा र उनीहरुकै सहादतमा सफल भएको थियो । त्यसै आन्दोलनको जगबाट आजको रास्वपा र बालेन सत्ता शासनमा छन् । तर, विद्यार्थी राजनीति र विद्यार्थी संगठनप्रति वर्तमान सत्ताको जस्तो शत्रुतापूर्ण रवैया देखिएको छ । यो चाहिँ चेतनाशून्य आवेगको उपज हो ।

लोकप्रियतावादको भूत
विद्यार्थी आवाजलाई विश्वविद्यालयहरुबाट निष्तेज गर्नु भनेको प्रश्नरहित शासन र सत्ताको परिकल्पना हो । लोकतन्त्रमा प्रश्नरहित शासन र सत्ता सबै भन्दा अधिनायकवाद र तानशाह हुन्छ । खासमा यो लोकप्रियतावादको भूतलाई निरन्तर कायम राखिराख्ने अस्त्र बाहेक केही पनि होइन । किनकि लोकप्रियतावादले कुनै पनि शासन र सत्तालाई दिगो राखिरहँदैन । विद्यार्थी राजनीति र विद्यार्थी संगठन जिवित रहँदा शासन, शासक र सत्तामाथि थरीथरीका प्रश्न उठ्ने र सत्ताको अकर्मण्यता, जनघाती कार्य (सुकुमबासीमाथिको राज्य आतंक) आदि हुँदा देशव्यापी विरोध हुने देखिएपछि यतिबेला रास्वाप र बालेनहरु बेलैमा आफूहरुमाथि उठ्न सक्ने आँला काट्न हात धोएर लागेका छन् । यस भन्दा बाहेक विद्यार्थी संगठन प्रतिबन्ध गर्नुपर्ने अरु कुनै जायज कारण पुष्टि हुँदैन । पछिल्लो सर्वोच्च अदालतको आपतकालीन आदेशबारे अहिले नै बोल्न हत्तार होला । यद्यपि, आजसम्म नेपाली विश्वविद्यालयहरुबाट, शिक्षण संस्थाहरुबाट उत्पादन भएका सबै विद्यार्थी र विषय विज्ञ, ज्ञाता, कर्मचारी, व्यापारी, सुरक्षाकर्मी, राजनीतिकर्मी, किासन, मजदर, आम मानिस विद्यार्थी राजनीति इतरका उत्पादन होइनन् । यदि त्यस समयमा विद्यार्थी राजनीति थिएन भने बरु आजको परिवर्तित नेपाल नहुन सक्थ्यो भन्ने वास्तविकता अकाट्य छ । विद्यार्थी राजनीतिको योगदानको इतिहासकै जगमा अहिले रास्वपा दुईतिहाई नजिको दम्भमा उभिएर विद्यार्थी राजनीतिलाई नै नामेट गर्न लागेको घटना चाहिँ आफू पिएचडी गरेँ भनेर आफ्ना अनपढ आमा–बाबुलाई निरक्षर भनेर तिरस्कार गर्न खोजेको अनैतिक र असामाजिक हर्कत मात्रै हो ।

कमजोरी सच्याउन जरुरी
विद्यार्थी राजनीतिका नाउँमा भए गरेका सबै कुरा ठीक र राम्रा भनियो भने त्यो हलियाप्रथाकै निरन्तरता हुनेमा दुईमत छैन । किनकि विद्यार्थी राजनीतिलाई विचार निर्माणको पक्षमा सुदृढ गरेर सचेत नागरिक निर्माण गर्ने भट्टीका रूपमा विकास गर्ने ढङ्ग नपुग्दा र नसक्दा आजको परिस्थिति निर्माण भएको हो । विद्यार्थी संगठनहरुलाई सिद्धान्त र व्यवहारबीचको आपसी अन्तरघुलन गराउने माध्यम बनाउनेपर्नेमा राजनीतिक दलहरु चुके । उनीहरुले विद्यार्थी जमातलाई आफ्नो स्वार्थसिद्धीको लागि दुरुपयोग गरे । नेताको स्वार्थमा सारथि बनेका विद्यार्थी आफै पनि अनेक–अनेक लाभको लोभले पतित बने भन्ने आरोप सतप्रतिशत गलत होइन नै । विद्यार्थी हकहित रक्षा, अतिरिक्त क्रियाकलाप सञ्चालन, विश्व विद्यालय र क्याम्पस प्रशासनसँग समन्वय गर्नेदेखि विद्यार्थी नेतृत्व विकास गर्नेलगायत पवित्र लक्ष्यका साथ विद्यार्थीका प्रतिनिधि संस्थाका रूपमा स्वतन्त्र विद्यार्थी युनियनको परिकल्पना गरिएको थियो र अभ्यासमा पनि ल्याइयो । पञ्चायतले समेत विद्यार्थी क्षमताको विकासका लागि चुनावी प्रतिस्पर्धामा खुला गरेको यो संस्थालाई विद्यार्थी संगठनहरुले सदुपयोग गर्न नसक्दा आज विद्यार्थी आन्दोलन पतनको डिलमा पुगेको तथ्य नकार्न मिल्दैन । ०१८ देखि स्ववियुले आकार लिएको हो भने आज पनि यसको निरन्तरताको बारेमा चलिरहेको बहस विद्यार्थी आन्दोलनप्रतिको पक्ष–विपक्षको कडी हो । अर्थात् विद्यार्थी हकहितका निम्ति स्ववियु आवश्यक छ । नेपाली राजनीतिमा आजको अवस्थासम्म आइपुग्दा स्ववियुले जन्माएका नेताहरुको संख्या अनगिन्ती छ । त्यतिमात्रै होइन, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड (देशका प्रधानमन्त्री नै भइसकेका) नेताहरु विद्यार्थी राजनीतिकै उत्पादन हुन् । गगनकुमार थापा, योगेश भट्टराई, राजेन्द्र राई, रामकुमारी झाँक्री जस्ता युवा पुस्ताका नेता विद्यार्थी आन्दोलनका उत्पादन हुन् ।

टुङ्ग्याउनी
विद्यार्थी राजनीति र विद्यार्थी संगठन शिक्षण सुधारको पर्याय बन्ने वा बनाउने विधिको खोजी आजको आवश्यकता हो । तर, लोकप्रियतावादविरुद्ध आक्रमण हुन्छ भन्ने डरले विद्यार्थी संगठन र विद्यार्थी राजनीतिको इतिहासविरुद्ध विषवमन गर्ने हर्कत कदापि स्वीकार्य हुन सक्दैन । विद्यार्थी राजनीतिमा देखिएका विकार र राजनीतिका आडमा हुने गुण्डागर्दी नियन्त्रण गर्ने, कानुनअनुसार कारबाही गर्ने काम राज्यको, सरकारको हो । त्यसमा कसैलाई कुनै कारण उन्मुक्ति दिनुपर्ने भन्ने हुँदैन । तर, आफ्नो सत्ताको जनघाती कदमलाई चुपचाप सहिदिन्नन् र बरखुँदाई गर्छन् भन्ने नकरात्मक मानसिकता पालेर विद्यार्थी राजनीतिको इतिहासलाई हलाल गर्ने रास्वपा चन्तिन अत्यन्त सामन्ती, घोर अराजनीतिक र लोकतन्त्रको घिच्रो निमोठ्ने किसिमको हो । यो कदमलाई कदापि स्वीकार्न सकिन्न ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *