– नवीन प्राचीन
२३ र २४ भदौको अकल्पनीय हिंसा र ध्वंसपछि मुस्किलले जोगिएको संवैधानिक व्यवस्था, त्यसपछि भएको निर्वाचन र त्यसले दिएको अभूतपूर्व परिणामले नेपाली प्रजातान्त्रिक इतिहासमा एउटा नौलो मोड ल्याइदिएको छ ।
मुस्किलले ४ वर्ष पुरानो पार्टी, त्यसको एकदम युवा र नयाँ नेतृत्व र ९० प्रतिशत हाराहारी बिल्कुल नयाँ प्रतिनिधिसहितको प्रतिनिधिसभाप्रति एकथरीले चरम आशा र अर्काे थरीले चरम शंका र भयसहित हेरिरहेका छन् ।
अघिल्लो पुस्ताले सामाजिक जिम्मेवारी र राजनीतिक रूपमा एकदम अलगथलग ठानेको पुस्ताले पारदर्शिता, सुशासन र जवाफदेहिताका पक्षमा गरेको प्रदर्शनमाथि अमानवीय एवं क्रुर दमन, त्यसपछिको दम्भ र विद्रोहीहरूप्रतिको निरन्तर अपमानलाई संयम एवं प्रजातान्त्रिक तवरले नेपाली जनताले मतदानमार्फत कठोर जवाफ फर्काएका छन् ।
विद्रोहका दौरान भएका अमानवीय दमन, त्यसपछिको आक्रोश र त्यो आक्रोशमा आफ्नो रोटी सेक्न खोज्ने राजनितिक दल, समूह एवं व्यक्तिहरूका स्वार्थ एवं दबाब पन्छाएर झन्डै–झन्डै राजनीतिक शून्यतामा पुगेको मुलुकलाई निर्वाचनमार्फत प्रजातान्त्रिक प्रक्रियामा फर्काउन अडान लिने जेनजी अगुवा र अन्तरिम सरकार धन्यवादका हकदार छन् ।
नेपाली जनताले आफ्नो स्वभावअनुसार चरम सहनशीलता, अति भएपछिको विष्फोटक चरित्र र भविष्यप्रतिको आशावादितालाई हरेक संक्रमणहरूमा जोगाएका छन् ।
यसपटक पनि २०६२÷६३ पछिको राजनीतिक परिवर्तनझैँ लोकतन्त्रका पहरेदार मानिने राजनीतिक दल, त्यसको संरक्षणमा फैलिएको दलतन्त्र र दल कब्जालाई जनताले अस्वीकार गरेका छन् । दलहरूको विकल्प अन्य दल हुन सक्छन् तर लोकतन्त्रको विकल्प छैन भन्ने कुरालाई पनि नेपाली जनताले स्पष्टसँग व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा पुराना दलहरूले आफूभित्र हुर्काएका विकृति र त्यसको आडमा समाजका हरेक अंगमा छिरेको विकारका विरुद्ध तुलनात्मक रूपमा नयाँ र केही फरक गर्ने दाबी गरेको दललाई जनताले अपार समर्थन गरेर एउटा अभूतपूर्व मौका दिएका छन् ।
ठूला राजनीतिक, सामाजिक मुद्दा लगभग टुङ्गिएको, स्पष्ट संवैधानिक खाका भएको, संवैधानिक र कानुनी जटिलता फुकाउन सक्ने जनमत भएको र स्थिरताका लागि अन्य कुनै शक्तिको भरपर्नु नपर्ने अनुकुलता भएको दल र सरकारसँग जनताले अपेक्षा गरेका कुरा एकदम सरल छन् ।
भ्रष्टाचारको न्यूनीकरण
दलतन्त्रको अन्त्य र लोकतन्त्रको अभ्यास
जवाफदेहिता
पारदर्शिता
डेलिभरी
वषौँदेखिका ढिलासुस्ती, अपारदर्शिता, अनिश्चय, जवादेहिता बेगरको शासन, बूढो र उही नेतृत्वबाट वाक्कदिक्क भएका नेपाली नागरिकले यसपटक खुलेर शासन गर्ने अवसर दिएको राजनीतिक दलसँग अब कुनै बहानाको छुट छैन । यो एउटा गम्भीर अवसर र चुनौती दुवै हो । यो सरकारलाई असफल हुने न बहाना न छुट दुवै छैन ।
यो हदको जनविश्वास र जिम्मेवारी पाएको दल र नेतृत्व कुनै पनि बहानामा अल्मलियो वा यसले जनअपेक्षा पूरा गर्न असफल भयो भने त्यसले समाजमा ल्याउने निराशाले नेपाली समाजलाई पार्ने असर कल्पनातीत छ ।
यति हुँदै गर्दा, जेनजी विद्रोहीका रगतमा टेकेर संसद् भवन प्रवेश गर्दै गरेको दल, त्यसको नेतृत्व स्वयम्मा विवादरहित भने छैन ।
विद्रोहको गलत फाइदा लिएर कारागारबाट शानसहित बाहिरिएको भनेर जेनजी स्वयंले चरमआलोचना गरेका दलका सभापति र विद्रोहका दौरान सामाजिक संजालमा मात्र देखा परेर निर्देशन दिएका भनेर आलोचित नेता त्यही विद्रोहको कार्यभार बोकेर सत्तारोहणको तयारीमा छन् ।
केही टोकन प्रतिनिधित्वबाहेक विद्रोहलाई नेतृत्व गरेका, त्यसबाट क्षति बेहोरेका, घाइते तथा शहीद परिवारलगायतका सरोकारवाला सडकमै अलपत्र छुटेका छन् । अनि देखिन थालेको अर्को डर छ, जेनजी विद्रोहमा लागेका नारा र उनीहरूको माग छुट्ने ।
मागहरू थिए नातावाद, कृपावाद (‘नेपोटिज्म’), अपारदर्शिता र सबै किसिमका भ्रष्टाचारको सफाया । तर, यी सबै मागको जिम्मेवारी हामी लिन्छौँ भनेर ठेकेदारी दाबी गरेको दल र त्यसको नेतृत्वका सुरुवाती कदम नै त्यस अनुकूल देखिएका छैनन् ।
नयाँ, सिकारु वा गर्लान् भनेर छुट राज्य सञ्चालनमा खास हुन्न । अझ पुराना दलको लिखासमेत लेन्स प्रयोग गरेर देखाउन अभ्यस्त दललाई त झनै नहुनुपर्ने हो । तर, दिलदार नेपाली जनताले केही समयलाई दिएकै छन् । भन्न के सकिन्छ भने नयाँ भनाउँदो दल र त्यसको नेतृत्वले आफ्नो विकासमा भन्दा बढी ऊर्जा अरूको आलोचना र कमजोरी देखाउन खर्च गरेको रहेछ ।
सक्रिय राजनीतिमा प्रवेशको साढे तीन वर्षमै प्रधानमन्त्रीको कुर्सीमा सवार हुने अवसर पाउन लागेका जेनजीका दाइको स्वभाव पनि जेनजी विद्रोहको मागअनुसारको देख्न सकिएको छैन ।
डेलिभरीमा पूरा ध्यान दिने भनेर निर्माण गरिएको उनको व्यक्तित्व लोकतन्त्रले आधारभूत रूपमा माग गर्ने केही गुणमा भने शून्य अंक मिल्ने किसिमको छ । जस्तो कि पारदर्शिता र जवाफदेहिता ।
उनका राजनीतिक गतिविधि, जीवन पारदर्शी र जवाफदेही पटक्कै देखिएको छैन । संसदीय राजनीतिमा दलको सदस्य भएर, कुनै क्षेत्रको प्रतिनिधित्व गरेर सत्ताको नेतृत्व गरिने हुनाले उसको जिम्मेवारी र जवाफदेहिता सम्बन्धित दल र आफू निर्वाचित क्षेत्रका मतदाताप्रति स्पष्ट रूपमा हुन्छ । तर, उनको त्यो आचरण काठमाडौं महानगरको नेतृत्व गर्दा होस् वा अहिले प्रधानमन्त्रीको तयारीका बखत होस् महसुस गर्न पाइएको छैन । कतिसम्म भने उनको दलले आफ्ना सांसदहरूको अभिमुखीकरण कार्यक्रममा समेत उनको उपस्थिति वा अनुपस्थित हुनुपर्ने कारण सार्वजनिक भएन । यसले जेनजी विद्रोहको प्राथमिक माग पारदर्शितालाई सोझै ‘माझी औँलो’ देखाइदिएको छ ।
हो, इतिहासको एउटा अकल्पनीय मोडबाट हामी भर्खर तङ्ग्रिँदै छौँ, हो अहिले सबथोक नयाँ छ, हो बिहान भर्खर हुँदैछ । तर, बिहानीले दिउँसोको संकेत पनि गर्छ ।
देश विकास त अलिअलि हुँदै थियो, डेलिभरी पनि सुस्ततासहित जनतामा पुग्दै थियो, तर त्यतिले मात्र नपुगेर जनता निराश थिए । उनीहरूले पारदर्शिता र जवाफदेहिता खोजेर विद्रोह गरे । विद्रोह समग्र दलहरूका विरुद्ध थिएन, मूलभूत रूपमा त्यहाँभित्रको गलत अभ्यास, आचरण र निरंकुश र अपारदर्शी नेतृत्वका विरुद्ध थियो । त्यसैले अबको राज्य, दल, नेतृत्वले लोकतन्त्र र जनअपेक्षाको कुनै एक पक्ष मात्र सम्बोधन गरेर शासन गर्न सहज छैन ।
यस कुरालाई उनीहरूले जति चाँडो बुझ्छन् उति हामी सबैको भलो हुन्छ । नभए एक जना झापाली जेनजी अभियन्ताले रास्वपाका पदाधिकारीलाई अनौपचारिक कुराकानीका क्रममा दिएको जवाफझैँ, जेनजी विद्रोह हुँदै गर्दा पनि दुईतिहाइकै सरकार थियो र त्यसको हविगत २८ घण्टामै देखियो, सडक यहीँ छ, जनता यहीँ छन्, अझ हिजो अस्ति भर्खरै रगत बगाएका घाउहरू ताजै छन् र निकै समयसम्म यी निको हुनेवाला पनि छैनन् ।
तर, आशा गरौँ यो विद्रोह अन्तिम हुनेछ । कहिलेकाहीँ बिहान धुमिल–धुमिल भए पनि दिउँसो झलमल्ल उज्यालो हुन्छ । यो संसारमा आशा सुन्दर कुरा हो । नभए सडकले सधैँ विद्रोहीहरूलाई पर्खिरहेकै हुन्छ ।
(लेखक नेपाल जेनजी फ्रन्टका सल्लाहकारसमेत हुन् ।)
