दूधे ।
दूधे भेट्रान क्लबको आयोजनामा ‘चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता–२०८३’ हुने भएको छ ।
आउँदो ५ जेठदेखि १६ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १६ वटा चर्चित भेट्रान फुटबल क्लबहरूको सहभागिता रहने बताइएकोछ ।
प्रतियोगितामा पूर्व राष्ट्रिय खेलाडीहरू, अनुभवी फुटबलर तथा चर्चित भेट्रान खेलाडीहरूको उपस्थिति रहने भएकाले यो प्रतियोगितालाई साविकका प्रतियोगिता भन्दा फरक ढंगले हेरिएको छ ।
प्रतियोगिता शिवसताक्षी नगरपालिका–११ स्थित दुधे रंगशालामा सञ्चालन हुने आयोजक दुधे भेट्रानले जनाएको छ । यो रंगशाला प्रतिष्ठित ‘झापा महिला गोल्डकप २०८२’ सफलतापूर्वक सम्पन्न भएको ऐतिहासिक खेल मैदान हो । फुटवलप्रेमीहरूको बाक्लो उपस्थितिका कारण दुधे रंगशालाले पछिल्ला वर्षहरूमा राष्ट्रियस्तरको खेलकुद केन्द्रको पहिचान बनाउँदै आएको दुधे भेट्रान क्लबका अध्यक्ष सन्तोष नेम्बाङ बताउँछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ८१ हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन विभिन्न व्यक्तिगत विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ दी म्याच’ प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘सर्वोकृष्ट खेलाडी’ घोषित गरी पुरस्कृत गरिने, ‘वेस्ट गोलकिपर’, ‘हाइ स्कोरर’, “वेस्ट फरवार्ड’, ‘बेस्ट डिफेन्डर’ तथा ‘बेस्ट कोच’ को छनौट गरि पुरस्कृत गरिने आयोजकको भनाइ छ ।
प्रतियोगिताले पुराना खेलाडीहरूलाई पुनः मैदानमा उतार्दै नयाँ पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने आयोजक क्लबका सचिव विनोद खरेलले बताए ।
