दमक ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ बैशाखमा सार्वजनिक हुने भएको छ ।
सरकारको पछिल्लो घोषणाअनुसार परीक्षा सकिएको १ महिनाभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने दबाबका बीच राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एसईईको नतिजा सार्वजनिक गर्न लागेको हो ।
२९ बैशाखमा नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी चलिरहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक तुकराज अधिकारीले जानकारी दिएका छन् । ‘तोकिएअनुसार बैशाख २९ भित्र नतिजा सार्वजनिक हुन्छ । हामी त्यसमै खटिइरहेका छौं’, उनले भने ।
अघिल्लो वर्षहरुमा करिब तीन महिनामा एसईईको नतिजा आउने गरेको थियो ।
१९ चैतदेखि देशभर सञ्चालन भएको एसइई परीक्षा २९ चैतमा सकिएको थियो । सरकारले नै यसपालि महिना दिनभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । त्यसकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको तीन दिनभित्रै नतिजा पठाउन परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको थियो ।
कापी जाँच्ने काम पनि मापदण्ड तोकेर परीक्षा भएकै केन्द्रमा गरिएको थियो । त्यस कारण यसपालि उत्तरपुस्तिकाहरू संकलन गरेर अन्यत्र पठाउनु नपर्दा नतिजा चाँडै निकाल्न सम्भव भएको बताइन्छ ।
बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले १ महिनाभित्र रिजल्ट ल्याउन बोर्डका कर्मचारीले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म काम गरेको बताए । समयमै काम सक्न बोर्डले जनशक्ति पनि थप गरेको थियो ।
यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी थिए ।
