आजको मिति: शुक्रबार, जेठ १, २०८३
१०:२३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

‘जनताको सेवा गर्ने मनैदेखिको इच्छा पूरा भएको छ’

कुबेरप्रसाद भट्टराई दमक वडा नम्बर ९ का वडा अध्यक्ष हुन् । दमक नगर शिक्षा समिति अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरिरहेका भट्टराई आफूलाई जागिरे जीवन छाडेर जनप्रतिनिधिका रूपमा काम गर्न पाएकोमा खुशी र आनन्दित भएको प्रतिक्रिया दिन्छन् । दमक वडा नम्बर ९ को वडा अध्यक्ष भएपछि आफूले वडाको समग्र विकासमा इमान्दारिताका साथ काम गरिरहेको उनको दावी छ । इमान्दारिता नै आफ्‌नो सफलताको कडी भएको भट्टराईको भनाइ छ । साप्ताहिक बहसको लागि समाचार प्रमुख सन्तोष विष्टले गरेको कुराकानी :

वडा अध्यक्ष भएर के कति काम गर्नु भो ? भनेर प्रश्न गर्नेलाई तपाईको जवाफ ?
मैले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार गरेर हामीले गरेका कामलाई वर्गीकरण गर्न चाहेँ । अभियान नै सञ्चालन गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने प्रयास गरेका छौँ । शैक्षिक र पूर्वाधार दुवैमा गुणस्तर वृद्धि हुनेगरी काम गरेका छौँ । विपन्न विद्यार्थीका लागि निःशुल्क पढ्ने वातावरण बनाएका छौँ । प्राविधिक धारका विद्यार्थीका लागि निःशुल्क शिक्षाका निम्ति सिफारिस गर्ने गरिएको छ । चिया मजदुरका बालबालिकालाई लक्षित गरेर पाणेनी मावि मातहत रहनेगरी बाल विकास केन्द्र स्थापना गरी पठनपाठन गराइएको छ । सरस्वती मावि र महालक्ष्मी आविमा २—२ कोठे पक्की भवन, पाणिनी माविका ४ कोठे पक्की भवन बनायौँ ।
स्वास्थ्यको क्षेत्रमा २ जनाको दरबन्दीबाट बढाएर हाल वडाकै आधारभूत स्वास्थ्य केन्द्रबाट दैनिक नर्सिङ र ल्याब सेवा सञ्चालन गरिएको छ । हप्तामा दुई दिन नियमित चिकित्सक सेवा उपलब्ध छ । नगरपालिकासँगको समन्वयमा स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेर सेवा दिने तयारीमा छौँ । जसबाट वडाबासीलाई सामान्य किसिमका स्वास्थ्य परीक्षण, औषधि उपलब्ध गराउन सहज हुनेछ । नियमित स्वास्थ्य शिविर, खोप सेवा उपलब्ध छन् । खोप केन्द्रका लागि सर्वेश्वर मन्दिर छेउमा जग्गा प्राप्ति भएर हामी भवन निर्माणको चरणमा छौँ ।

कृषि र पूर्वाधारको कुरा नि ?
सहकारी संस्थाहरुसँगको समन्वयमा कृषक समूहहरुमार्फत काम गरिरहेका छौँ । बिउ विजन, टनेल, वाटर पम्प वितरण, पशुपालनका लागि चापकटर जस्ता कृषि समग्री उपलब्ध गराउने काम भएका छन् । अर्गानिक कृषि उत्पादनमा जोड दिने उद्देश्यले सेतुमारी कृषि सहकारीसँगको सहकार्यमा बेसार उत्पादन गरिरहेका छौँ । जसमा बेसार खेती गर्ने कृषकले सिधै अनुदान पनि पाएका छन्, सहकारीमार्फत पनि सुविधा पाउँछन् । हामीले बेसारको समर्थन मूल्य तोकिदिएका छौँ । उत्पादित बेसार सहकारीले खरिद गर्नेगरी सहकारीलाई अनुदानको व्यवस्था गरिएको छ ।

पूर्वाधारको कुरा गर्दा शान्ति मार्ग र पाणेनी माविदेखि पश्चिम सानो अर्नाखाडी जाने बाटो क्रमशः ३ करोड र पौने दुई करोडको काम भएको छ । हाल सानो अर्नाखाडी जाने बाटामा थप ३ करोडको काम भइरहेको छ । इन्द्रेणी मार्ग, चियादोकानदेखि दक्षिण जाने बाटो र आरती कपी उद्योगको बाटो क्रमशः २ करोड, डेढ करोड र १ करोडको काम भएका र हुँदै छन् । वडाका विपन्न बस्तीहरुमा सडक पहुँच पुर्‍याउने लक्ष्यसहित ३.५ किलोमिटर लकिङ टायल बाटो निर्माणको काम यसै आर्थिक वर्षमा पूरा हुँदैछ । ९ नम्बर वडामा पर्ने दिपिनी, बाह्रघरे र खरखरे खोलाहरुमा ७ करोडको तटबन्धनको काम गरेका छौँ ।

९ नम्बर वडामा लोपन्मुख उराव, दमकको प्रथम नागरिक धिमाललगायत अन्य समुदायहरुको बसोबास छ । उनीहरुको हकमा के कस्ता कार्यक्रम भएका छन् ?
उराव समुदायको समग्र स्थिति थाहा पाउने उद्देश्यले हामीले घरधुरी सर्वेक्षण गरेर ३५० जनाको तथ्यांक निकालेका छौँ । उराव बालबालिकाका लागि बिहानको समयमा वडाले निःशुल्क ट्युसनको प्रबन्ध गरेको छ । उच्च शिक्षासम्म अध्ययन र प्राविधिक धारको शिक्षाका लागि पनि वडाले लगानी गरेको छ । उनीहरुको लोकबाजा र संस्कृति संरक्षणका लागि र करम पूजा (उराव जातिको महत्वपूर्ण पूजा) का लागि वार्षिक बजेट बिनियोजन गरेका छौँ ।
त्यस्तै, दमकको प्रथम नागरिक धिमाल जातिको संग्रहालय (पूर्वाधार) निर्माणमा लगानी गरेका छौँ । चाडपर्व मनाउन वार्षिक रूपमा सहयोग गर्दै आएका छौँ । राई जातिको संस्कार संस्कृति संरक्षणका लागि काम गरेका छौँ । तामाङ जातिको संस्कार संस्कृति संरक्षणका लागि शन्ति चोकमा सङ्घ, प्रदेशसहित दमक नगरपालिका र वडाको सहयोगले बौद्ध गुम्बा निर्माण भएको छ । नेवार समुदायको संस्कार संस्कृति संरक्षणका लागि नेवाः देय दवुमार्फत वार्षिक रूपमा कार्यक्रम गर्न सहयोग गरेका छौँ । हिन्दु धर्मावलम्बीले उल्लासका साथ मनाउने श्रीकृष्ण रथयात्राका लागि वडाका तर्फबाट सहयोग गर्दै आएका छौँ ।

देशभर सुकुम्बासी समस्या चर्किएको छ । ९ नम्बर वडामा पनि यो समस्या छ । वडावासी त्रसित छन् । कसरी आस्वास्त पार्नु हुन्छ ?
आम बुझाईमा निजी स्वामित्वको जमिन नभएर ऐलानी र सार्वजनिक जग्गाहरुमा बसोबास गर्ने मानिस र बस्तीलाई सुकुम्बासी भनिएको छ । हाम्रो वडाको चियाबगान (हिमालय महालक्ष्मी टी स्टेट) क्षेत्रमा मात्रै साढे तीन सय बस्ती छन् । दिपिनी खोला, खरखरे खोला आसपासमा पनि बस्तीहरु छन् । सुकुम्बासी समास्याको समाधान र व्यवस्थापन सङ्घ सरकारको नीति बमोजिम हुनुपर्दछ । तर, हामी उचित व्यवस्थापनसहित समस्या समाधानको पक्षमा छौँ । ९ नम्बर वडामा ४५० घर परिवारलाई निस्सा वितरण गरिएको छ । काठमाडौँमा जस्तै डोजर चल्ने हो कि भन्ने चिन्ता सर्वत्र छ । वडा तहमा जिल्ला प्रशासन कार्यालयलगायत निकायबाट पत्राचार भएको छैन । अत्तालिनुपर्ने अवस्था छ जस्तो लाग्दैन ।

जनप्रतिनिधिमाथि किन नकारात्मक टिप्पणी र आलोचना बढी भए जस्तो लाग्छ ?
जनप्रतिनिधि भन्ने बित्तिकै सबैलाई एउटै डालोमा हालेर हेर्ने र मूल्यांकन गर्ने गलत परिपाटी छ । वास्तवमा त्यो गलत छ । व्यक्तिगत मप्रति कसैले लक्षित गरेर गाली गरेको थाहा छैन । म त निरन्तर जनताको काम गरेर सन्तुष्ट र खुशी छु । जागिर छोडेर जनप्रतिनिधि भएको हुँ । जनताको सेवा गर्ने मनैदेखिको इच्छा पूरा भएको छ । आफ्‌नो कार्य मूल्यांकन गर्नुपरेमा म आफूलाई ४ जिपीए दिन नसके पनि डिस्टिङ्सन अंक दन सक्छु । आफ्‌नोतर्फबाट शतप्रतिशत योगदान दिएको छु । नगरवासीले र वडावासीले कसरी मूल्यांकन गर्नुभएको छ, उहाँहरुको कुरो हो । गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि र खासगरी प्रतिनिधिसभा निर्वाचनपछिको अवस्था अलिक फरक छ । पुराना परिपाटी अन्त्य भएको छ र वर्तमान अवस्थामा असन्तुष्टि घटेका छन् ।

तपाई दमक नगरको शिक्षा समितिको अध्यक्ष पनि । ४ वर्षमा के—के काम गर्नुभो ?
हामीले गरेका कामलाई पूर्ण नै त नमानौँ । तर, एउटा विन्दुबाट हेर्दा सन्तुष्ट छु । सामुदायिक विद्यालयहरुमा आवश्यकताअनुसार शिक्षक उपलब्ध गराउनेदेखि शैक्षिक गुणस्तरमा सुधार गर्ने, पूर्वाधार थप गर्ने र शैक्षिक सामग्री उपलब्ध गराउने जस्ता कार्य भएका छन् । स्थानीय पाठ्यक्रम तयार भएको छ, अब पाठ्यपुस्तक छपाई गर्छौं । सबै विद्यालयको निगरानीका लागि सिसी क्यामेरा जडानको कार्य पूरा भएको छ । बिगतको तुलनामा कक्षा ८ को डिएलई परीक्षाको नतिजामा सुधार भएको छ । एसईईको परीक्षा भर्खरै सकिएर नतिजा आउने क्रममा छ, त्यसमा पनि बिगतको भन्दा सुधार हुने अपेक्षा छ । बिगत भन्दा विद्यार्थी भर्नादर बढेको छ । सामुदायिक र निजी गरी माध्यमिक तहमा ३० हजार बढी विद्यार्थी दमकका विद्यालयहरुमा अध्ययनरत छन् । शिक्षामा दमकलाई पूर्वकै हब बनाउने प्रयास निरन्तर छ ।

कार्यकालको करिब ४ वर्ष पूरा भयो । बाँकी समयमा थप के—के काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?
गर्न चाहेर पनि विविध कारणले गर्न नसकिएका कामहरु छन् । जस्तै वडा कार्यालय जाने बाटो निर्माण गर्ने लक्ष्य छ । वडाका विपन्न नागरिकलाई विपन्न आवास कार्यक्रमअन्तर्गत पक्की र सुरक्षित घर निर्माण गरिदिन पाए हुन्थ्यो भन्ने लागेको छ । दमककै गौरवका रूपमा रहेको दमक सभाहल सञ्चालनमा ल्याउन पाए हुन्थ्यो भन्ने छ । कदम थिएटरको अधुरो निर्माण कार्यलाई पूरा गर्न पाए हुन्थ्यो भन्ने छ । वडाकै नारायणज्योति कबर्डहल निर्माण कार्यलाई पूर्णता दिनपर्ने छ । शिक्षाको क्षेत्रमा भन्नुपर्दा दरबन्दी मिलानको समस्या, विद्यालय मर्जर, डाउन साइज र अपग्रेडको काम अधुरा छन् । निजी विद्यालयको ग्रेडिङ कार्य पूरा भएको छैन, त्यसलाई पूरा गर्नपाए हुन्थ्यो भन्ने लाग्छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *