विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ’ भन्ने नारासहित शुक्रबार काठमाडौंमा मार्चपास गरेको छ । त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए ।
प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ लगायतका नारासहित प्लाकार्ड प्रदर्शन गरेका थिए ।
विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा र्याली आयोजना गरिएको बताएका छन् । उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
विद्यार्थी दिवसको सन्दर्भमा आयोजित उक्त प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति र शैक्षिक संस्थाको स्वायत्तताको पक्षमा गरिएको सांकेतिक प्रतिरोधका रूपमा हेरिएको छ ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी :
-1778838055.jpg)



