दमक ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार साँझमा भएको सर्वोच्च अदालतको फैसलालाई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यास भनेका छन् । काँग्रेसभित्रको आधिकारिकता विवाद बारे फैसला गर्दै सर्वोच्चले शुक्रबार साँझ विशेष महाधिवेशन आयोजना गरेर अगाडि बढेको गगन थापा र विश्वप्रकाश शर्माको टिमलाई बैधानिकता दिएको थियो ।
सर्वाेच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगन–विश्व समूहविरुद्ध शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन विधानविपरीत रहेको भन्दै अदालतमा दायर गरेको रिट खारेज गरिदिएको हो ।
आफू पक्षधर काँग्रेसे बैधानिकता पाएसँगै शनिबार गगनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –‘सम्मानित सर्वाेच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ । यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’
सभापति थापाले पार्टी सदस्य र शुभेच्छुकलाई आ–आफ्नो ठाउँबाट पार्टी काममा लाग्न आह्वानसमेत गरेका हुन् । ‘पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ ।’
उनले आफू पार्टीको सभापति भएकाले आफ्नो सबैभन्दा ठुलो जिम्मेवारी रहनेसमेत स्पष्ट पारेका छन् ।
थापाले अब काँग्रेसले पार्टीको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढाइसकेको भन्दै महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले स्टाटसमा भनेका छन् –‘अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ ।’
