बेइजिङ शिखर सम्मेलनपछि ट्रम्प र सी व्यापार–केन्द्रित सम्बन्धतर्फ अघि बढ्ने संकेत देखिएको छ । विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणपछि अमेरिका र चीनबीच साझा हितका व्यावहारिक क्षेत्रहरूमा केन्द्रित सम्बन्ध विकास हुन थालेको छ । जसले २०२५ मा देखिएको तनावलाई केही हदसम्म पछाडि धकेलेको छ ।
यस साता ट्रम्प तीन दिनका लागि बेइजिङ पुगेका थिए, जहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरे । उनीसँगै एप्पल, एनभिडिया, ब्ल्याकरक र गोल्डम्यान साक्सका प्रमुखसहित अमेरिकी कम्पनीका उच्च अधिकारीहरूको प्रतिनिधिमण्डल पनि थियो । दुई नेताबीचको भेट दक्षिण कोरियामा भएको बहुपक्षीय सम्मेलनमा अमेरिका–चीन व्यापार युद्ध एक वर्षका लागि स्थगित गर्ने सहमति भन्दा करिब छ महिनापछि भएको हो । ट्रम्पले अमेरिकामा चीनको आर्थिक नीतिको आलोचना गर्दै आएका भए पनि, भ्रमणका क्रममा उनले सीसँग निकै मैत्रीपूर्ण व्यवहार देखाए र उनको खुलेर प्रशंसा गरे ।
ट्रम्पले बिहीबार सीलाई भने, ‘तपाईंसँग रहन पाउँदा सम्मानित महसुस गरिरहेको छु, तपाईंको मित्र हुन पाउँदा पनि सम्मानित छु र चीन तथा अमेरिकाबीचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुनेछ ।’ ह्वाइट हाउसद्वारा जारी विवरणमा दुई देशबीच आर्थिक सहकार्य बढाउने विषयलाई प्राथमिकता दिइएको थियो । विवरणअनुसार दुवै नेताले ‘अमेरिकी व्यवसायहरूलाई चीनमा थप बजार पहुँच दिने र चिनियाँ लगानी अमेरिकाका उद्योगहरूमा बढाउने’ विषयमा छलफल गरेका थिए ।
तर उक्त विवरणमा दुर्लभ खनिजसम्बन्धी चीनको निर्यात नियन्त्रणबारे कुनै उल्लेख गरिएको थिएन । प्रविधि, रक्षा र ऊर्जा क्षेत्रमा प्रयोग हुने यी महत्वपूर्ण सामग्रीको विश्व बजारमा चीनको लगभग एकाधिकार छ र उसले अमेरिकाको पहुँच सीमित गर्ने कदम चालेको छ ।
क्राइसिस ग्रुपका वरिष्ठ उत्तरपूर्वी एसिया विश्लेषक विलियम याङका अनुसार ट्रम्पका भनाइले अमेरिका–चीन सम्बन्धलाई भूराजनीतिक तनावबाट अलग राख्दै सहकार्य गर्न सकिने क्षेत्रहरूमा केन्द्रित गर्ने प्रयास देखाउँछ ।
सी चिनफिङले पनि ‘रचनात्मक रणनीतिक स्थिरता’ मा आधारित नयाँ अमेरिका–चीन सम्बन्धको आवश्यकता औंल्याएका थिए । याङका अनुसार यसको अर्थ प्रतिस्पर्धा कम गर्ने, मतभेद व्यवस्थापन गर्ने र स्थायित्वलाई द्विपक्षीय सम्बन्धको आधार बनाउने हो । दुवै नेताले ताइवान जस्ता संवेदनशील विषयलाई पनि धेरै चर्चा नगरेको देखिएको छ । चीनले आफ्नो भूभाग दाबी गर्ने तर अमेरिकाले अनौपचारिक समर्थन गर्दै आएको २ करोड ३० लाख जनसंख्या भएको लोकतान्त्रिक ताइवान अमेरिका–चीन सम्बन्धको सबैभन्दा संवेदनशील मुद्दामध्ये एक हो ।
सीले ट्रम्पलाई ताइवान ‘सबैभन्दा महत्वपूर्ण मुद्दा’ भएको बताएका थिए र यसको गलत व्यवस्थापनले ‘ठोक्किन सक्ने वा द्वन्द्वसम्म पुग्न सक्ने’ चेतावनी दिएका थिए । चीनले अमेरिकाले ताइवानलाई दिने सैन्य सहयोगको विरोध गर्दै आएको छ । यद्यपि अमेरिकी र चिनियाँ दुवै पक्षको आधिकारिक विवरणमा ताइवानबारे विस्तृत चर्चा वा सम्भावित हतियार बिक्री सम्झौताबारे कुनै उल्लेख गरिएको थिएन । विश्लेषकहरूका अनुसार ट्रम्पले यस विषयमा स्पष्ट धारणा राख्न टारेको हुन सक्छ ।
यसैबीच, इरान र होर्मुज जलडमरूमध्यको विषयमा पनि सावधानीपूर्वक चर्चा भएको देखिन्छ । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि होर्मुज जलडमरूमध्य बन्द भएको छ, जसबाट विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास आपूर्ति हुँदै आएको थियो । अमेरिकी विवरणअनुसार ट्रम्प र सीले ‘ऊर्जाको स्वतन्त्र आपूर्तिका लागि होर्मुज जलडमरूमध्य खुला रहनु पर्छ’ भन्नेमा सहमति जनाएका थिए । साथै सीले उक्त क्षेत्रमा सैन्यीकरणको विरोध गर्दै भविष्यमा चीनले अमेरिकी तेल थप खरिद गर्न इच्छुक रहेको बताएका थिए । दुवै देशले ‘इरानसँग कहिल्यै पनि आणविक हतियार हुनु हुँदैन’ भन्नेमा पनि सहमति जनाएका थिए ।
तर चिनियाँ विवरणमा इरान वा यसको आणविक कार्यक्रमबारे कुनै उल्लेख गरिएको थिएन । बेइजिङस्थित हटोङ रिसर्चका संस्थापक साझेदार चुचेङ फेङका अनुसार यी विषयहरूमा मतभेद अझै कायम भए पनि समग्र सन्देश सम्बन्धलाई स्थिर र व्यवस्थापनयोग्य बनाउने प्रयासतर्फ केन्द्रित छ । उनले भने, ‘बेइजिङका लागि सबैभन्दा महत्वपूर्ण कुरा सम्बन्धको न्यूनतम स्थायित्व कायम गर्नु हो, ताकि अचानक तनाव वा अनियन्त्रित वृद्धि नहोस् । त्यसकारण, छुट्टाछुट्टै असहमतिहरू अहिले दोस्रो प्राथमिकतामा छन् ।’




