काठमाडौं ।
घरेलु उडान गर्दै आएको श्री एयरलाइन्सले छिमेकी मुलुक भारत र बंगलादेशका विभिन्न गन्तव्यमा नियमित उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको ‘एयर अपरेटर सर्टिफिकेट’ संशोधन गरेसँगै उसलाई छिमेकी मुलुक भारतका मुख्य दुई शहरहरु दिल्ली र कोलकातामा उडान गर्ने अनुमति प्राप्त भएको हो । त्यस्तै, उसले बंगलादेशको राजधानी ढाकामा पनि उडान गर्नेछ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार एयरलाइन्सले अब काठमाडौंबाट यी गन्तव्यहरुमा नियमित उडान गर्नेछ । श्रीले यसअघि आन्तरिक उडान र विदेशमा चार्टर उडान मात्रै गर्दै आएको थियो ।
प्राधिकरणको वैशाख ४ गतेको निर्णयअनुसार यी उडानका लागि कम्पनीका दुईवटा सिआरजे र दुईवटा डिएचसी–८ सिरिजका जहाजलाई अनुमति दिइएको हो ।
यी विमानहरू मार्फत एयरलाइन्सले अब काठमाडौं–दिल्ली–काठमाडौं, काठमाडौं–कोलकाता–काठमाडौं र काठमाडौं–ढाका–काठमाडौं रुटमा व्यावसायिक उडान भर्नेछ ।
यसअघि निजी क्षेत्रबाट बुद्ध एयरले मात्र नियमित अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको थियो ।
अब श्री एयरलाइन्स पनि थपिएपछि नेपालबाट विदेशमा नियमित उडान गर्ने नेपाली विमान कम्पनीको संख्या चार पुगेको छ ।
यसमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्स रहेका छन् ।
