काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि निक्षेपको ब्याजदर केही घटाएका छन्। उच्च तरलता र न्यून कर्जा प्रवाहको अवस्थाले बैंकहरूको ब्याजदर क्रमशः घट्दो क्रममा रहेको देखिएको छ।
बैंकहरूले प्रत्येक महिनाको मसान्तमा आगामी महिनाका लागि ब्याजदर सार्वजनिक गर्ने प्रचलनअनुसार सोमबार वैशाख महिनाका लागि नयाँ दर सार्वजनिक गरेका हुन्। चैत महिनाको तुलनामा वैशाखमा ७ वटा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो दरलाई यथावत राखेका छन्। अधिकांश बैंकले दर स्थिर राखे पनि केहीले घटाएपछि समग्र औसत दरमा गिरावट आएको हो।
उपलब्ध तथ्यांकअनुसार, व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम ब्याजदर चैतको तुलनामा वैशाखमा औसत ०.०९४ प्रतिशत बिन्दुले घटेको छ। चैतमा औसत ४.४९४ प्रतिशत रहेको अधिकतम ब्याजदर वैशाखमा ४.४०० प्रतिशतमा झरेको छ।
ब्याजदर घटाउने बैंकहरूमा एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन्। त्यस्तै कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा बैंकहरूले अघिल्लो दरलाई स्थिर राखेका छन्।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेसँगै बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि दबाब पर्ने देखिन्छ। निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दर घट्ने र त्यसको प्रभावस्वरूप कर्जाको ब्याजदर पनि क्रमशः घट्ने गर्छ।
वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.०० प्रतिशत कायम रहेको छ। एनएमबी बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ, जुन हालसम्मकै उच्च दर हो। अन्य बैंकहरूको अधिकतम ब्याजदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
सामान्यतया बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि केही उच्च ब्याजदर दिने गरेका छन्। व्यक्तिगत मुद्दतीमा तोकिएको अधिकतम ब्याजदर पनि प्रायः लामो अवधिका निक्षेपका लागि लागू हुन्छ।
हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन। यसैबीच, नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि विभिन्न उपकरण—जस्तै बोन्ड र स्थायी निक्षेप सुविधा—मार्फत बजारबाट रकम खिच्दै आएको छ।
यस अवस्थाले निकट भविष्यमा पनि ब्याजदर न्यून स्तरमै रहने संकेत देखिएको छ।
| बैंक | चैतको ब्याजदर % | वैशाखको ब्याजदर % |
| कृषि विकास | ४.१५ | ४.१५ |
| सिटिजन्स | ४.५० | ४.१५ |
| एभरेस्ट | ४.२५ | ४.०५ |
| ग्लोबल आईएमई | ४.५० | ४.५० |
| हिमालयन | ५.०० | ४.५० |
| इन्भेस्टमेन्ट मेगा | ४.५० | ४.५० |
| कुमारी | ४.१२ | ४.०५ |
| लक्ष्मी सनराइज | ४.५० | ४.५० |
| माछापुच्छ्रे | ४.५० | ४.५० |
| नबिल | ४.५५ | ४.५५ |
| नेपाल | ४.२५ | ४.२५ |
| नेपाल एसबीआई | ४.२५ | ४.२५ |
| एनआईसी एसिया | ५.०० | ४.७५ |
| एनएमबी | ५.०० | ५.०० |
| प्राइम कमर्सियल | ४.१५ | ४.१५ |
| प्रभु | ४.५५ | ४.५५ |
| राष्ट्रिय वाणिज्य | ५.०० | ४.७५ |
| सानिमा | ४.५० | ४.५० |
| सिद्धार्थ | ४.२५ | ४.०० |
| स्ट्यान्डर्ड चार्टर्ड | ४.११ | ४.१० |
