आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:०६ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

पाथीभरा मन्दिरको आयलाई व्यवस्थित गर्दै रोङ

यसरी सम्भव भयो गाउँपालिकाकोे आय बनाउन, तीन वर्षमा चार करोड भेटी

झापा । इलाम रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा तीन वर्ष एक महिनामा ४ करोड बढी भेटी र ८ तोला बढी सुन संकलन भएको छ । सानो पाथीभरा मन्दिरको नामले परिचित यो मन्दिरमा भक्तजनले चढाएको भेटीबापत ४ करोड ६४ लाख २५ हजार ७८२ रुपैयाँ भेटी संकलन भएको हो ।

यस्तै, यो अवधिमा ८ तोला १२ आना १ लाल सुन पनि संकलन भएको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । यस्तै, ३०७ तोला चाँदी, एक हजार ३७ केजी काँसको घण्टी, ५३२ केजी तामाको त्रिशुल, १०६ केजी तामाको ल्होटी, २९१ केजी तामाको दियो, १११ केजी तामाको माना÷पाथी, २२ केजी पित्तलको थाली÷प्लेट÷बत्ती र २८ केजी झर्के थाल÷ल्होटा संकलन भएको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

१ फागुन ०७९ बाट रोङ गाउँपालिकाले पाथीभरा मन्दिरको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ बनाएर गाउँपालिकाले यो मन्दिरको व्यवस्थापन गर्दै आएको हो । मन्दिरबाट संकलन भएको भेटी गाउँपालिकाको आन्तरिक राजश्व खातामा जम्मा हुँदै आएको अध्यक्ष स्याङ्बोले बताए । सो आम्दानी र त्यसमा गाउँपालिकाको बजेटबाट थप गरेर वार्षिक बजेट तथा कार्यक्रममार्फत पूर्वाधार, विकास र संरक्षणमा लगानी गर्दै आएको उनले बताए ।
यो मन्दिर ०७९ अघि गैरसरकारी संस्था पाथीभरा संरक्षण संस्थाबाट सञ्चालन हुँदै आएको थियो । त्यस समयमा मन्दिरबाट संकलन भएको भेटी अनियमितता भएको भन्दै रोङ गाउँपालिकाले प्रश्न उठाएको थियो । रोङ गाउँपालिकाले ताकेता गरेपछि तत् समयमा जिल्ला प्रशासन कार्यालय इलामले छानविन समिति गठन गरेको थियो । छानविनको क्रममा ८८ लाख हिनामिना भएको प्रतिवेदन सार्वजनिक भएको थियो । प्रतिवेदनमा चित्त नबुझेको भन्दै पुरानो समितिले उच्च अदालत विराटनगर, इलाम इजालसमा रिट दायर ग¥यो ।

उच्च अदालतले समितिलाई सफाइको मौका नदिई असुल उपरको ताकेता गरेको भन्दै रिट जारी ग¥यो । त्यसपछि सफाइको प्रमाणको आधारमा पुनः प्रमाणलाई अध्ययन गरी हुन आउने रकम असुल गर्न अदालतले २७ साउनमा आदेश दिएको थियो । उक्त आदेशपछि जिल्ला प्रशासन कार्यालय इलामले छानविन समिति गठन गरी काम गरिरहेको छ ।

यसरी सम्भव भयो समितिमाथि स्थानीय सरकारको हस्तक्षेप

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो गाउँपालिका अध्यक्ष हुनुअघि रोङ ६ को वडाध्यक्ष थिए । उनी जब स्थानीय सरकारको पहिलो कार्यकालको वडाध्यक्ष बने उनलाई पाथीभरा मन्दिरमा भएको बेथितिबारे जानकार थियो । तर, आफू ‘फस्ट मेन’ नहुँदा टुलुटुलु हेरे बस्नबाहेक केही गर्न सकेनन् । ०७९ मा भएको स्थानीय तह निर्वाचनपछि गाउँपालिका अध्यक्ष बने । त्यसपछि उनले गाउँपालिकाबाट ऐन बनाएर पाथीभरा मन्दिरको संरक्षण गर्न बनेको पाथीभरा संरक्षण संस्थामाथि हस्तक्षेप गरे । सो संस्था पारदर्शी नभएपछि रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ जारी गरेर पाथीभरा विकास समितिमार्फत व्यवस्थापन सुरु ग¥यो । त्यसपछि पाथीभरामा संकलन भएको भेटी तथा अन्य जिन्सी, गरगहना रोङ गाउँपालिकाको अन्तरिक आय बन्न पुग्यो ।

यसअघिको पुरानो समितिले हिसाब गोलमाल गरेको थियो । पुरानो समितिले हिसाब मात्र गोलमाल गरेको थिएन । संस्थाले ०७३ असारदेखि संस्था नवीकरण र साधारणसभा पनि नगरी अवैध भएको थियो । गाउँपालिकाको अन्तरिक अध्ययन प्रतिवेदनले ८८ लाख गोलमाल भएकोे प्रतिवेदन तयार ग¥यो । भक्तजनले चढाएको भेटीमा समितिको नाममा भएको अनियमितता रोक्न उनलाई सहज थिएन । पुरानो समिति जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएकाले यसको छानविन जिल्ला प्रशासन कार्यालय इलामले गर्नुपर्ने थियो । तर, जिल्ला प्रशासन कार्यालय सहज छानविन गर्न तयार भएन । जसका कारण जिल्ला प्रशासन कार्यालय र रोङ गाउँपालिकाबीच टसल सुरु भयो । अन्ततः जिल्ला प्रशासन कार्यालय बाध्य भएर छानविन गर्न पुग्यो । छानविनको क्रममा गाउँपालिकाको जस्तै जिल्ला प्रशासन कार्यालय इलामले पनि ८८ लाख रुपैयाँ पुरानो समितिबाट असुलउपर गर्नुपर्ने तथ्य फेला प¥यो । त्यसपछि गाउँपालिकालाई पाथीभरा मन्दिर व्यवस्थापनमा थप सहज भयो ।

पुरानो समिति पाथीभरा संरक्षण संस्थालाई गाउँपालिकामातहत ल्याउने भन्दै रोङ गाउँपालिकाले ०७५ मा पाथीभरा क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि पनि बनाएको थियो । उक्त कार्यविधिमा भने संकलित नगद, सुन तथा चाँदीको ७५ प्रतिशत गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने उल्लेख थियो । यद्यपि, कार्यविधि बने पनि त्यस संस्थाले गाउँपालिकाको खातामा आम्दानी दाखिला गरेन । पुरानो समितिले गाउँपालिकालाई अटेर गर्दै रजगज गरेपछि रोङ गाउँपालिकाले पुरानो समितिमाथि हस्तक्षेप गरेर पाथीभराको आम्दानीलाई पारदर्शी बनाएको थियो ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *