आजको मिति: शुक्रबार, जेठ १, २०८३
१०:४२ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

टिकटकमा ‘सस्तो अफर’को पासो

मोबाइल बैंकिङ र ओटीपीमार्फत यसरी हुँदैछ ठगी

एआईको सहयोगमा बनाइएको काल्पनिक तस्वीर ।

सुजता लिम्बू
विराटनगर ।

प्रविधिको विकाससँगै मनोरञ्जनका लागि लोकप्रिय बनेको छोटो भिडियो एप टिकटक अचेल अपराधीहरूका लागि ठगी गर्ने नयाँ र सुरक्षित थलो बन्दै गएको छ । रमाइला भिडियो हेर्दाहेर्दै प्रयोगकर्ताको स्क्रिनमा आकर्षक र लोभलाग्दो विज्ञापनहरू झुल्किन्छन्, जसले आम मानिसको मनोविज्ञानसँग खेल्दै सस्तोमा सामान दिने लोभ देखाउँछन् । तर, त्यही सस्तो सामानको लोभले धेरैको बैंक खाता रित्याइरहेको छ ।

स्वास्थ्य क्षेत्रमा कार्यरत पाँचथरकी सबिना (नाम परिवर्तन) लाई आफू यति सजिलै कसैको जालमा परिएला भन्ने लागेको थिएन । एक दिन टिकटक चलाउँदै गर्दा उनले जुत्ता–चप्पलको एउटा आकर्षक विज्ञापन देखिन् । बजार मूल्यभन्दा निकै सस्तो दरमा राम्रा चप्पल देखेपछि उनले भिडियोमा रहेको नम्बरमा सम्पर्क गरिन् ।

उनको कुराकानी ह्वाट्सएपमार्फत अगाडि बढ्यो । बिक्रेताले आफ्नो पसल विराटनगरमा रहेको र अनलाइन अर्डर गरेको भोलिपल्टै सामान पु¥याइदिने आश्वासन दिए । तर, उनले एउटा सर्त राखे, सामान पठाउनुअघि केही रकम ‘एडभान्स’ दिनुपर्ने ।

सविनाले तत्कालै मोबाइल बैंकिङबाट सानो रकम पठाइन् । तर, खेल त्यतिमा मात्र रोकिएन । ठगले उनलाई भन्यो, ‘हाम्रो अनलाइन सिस्टममा भेरिफाई गर्नुपर्छ, तपाईंको मेसेजमा एउटा ओटीपी कोड आउँछ, त्यो भन्नुहोस् ।’ सबिनाले विश्वासमा परेर कोड सुनाइन् । कोड सुनाएको केही मिनेटमै उनको मोबाइलमा एउटा म्यासेज आयो, जसले उनलाई छाँगाबाट खसे झैँ बनायो । उनको खाताबाट झन्डै २४ हजार रुपैयाँ काटिएको थियो । अर्डर गरेको चप्पल त परको कुरा, उल्टै खाताको पैसा गुमेपछि उनले फोन गरिन्, तर उताबाट उनलाई ब्लक गरिसकिएको थियो ।

पछि प्रहरीकहाँ पुगेर उजुरी दिएपछि मात्र सबिनाले थाहा पाइन् कि त्यो पसलको कुनै अस्तित्व नै थिएन । उनी भन्छिन्, ‘प्रहरीले अनुसन्धान गरेपछि थाहा भयो । मलाई दिएको लोकेसनमा कुनै पसल नै रहेनछ । रिपोर्ट गरेपछि पो आफू ठगिएको पत्तो पाएँ ।’

यस्तै, विराटनगरका असिम (नाम परिवर्तन) भने ठगी हुनबाट जोगिएका एक पात्र हुन् । उनले टिकटकमा महँगो ‘ग्यालेक्सी फोन’ मात्र १० हजारमा पाइने विज्ञापन देखेका थिए । विज्ञापन यति आकर्षक थियो कि जो कोही पनि लोभिन सक्थ्यो ।

उनले सम्पर्क गर्दा बिक्रेताले पोखराबाट सामान पठाउने भन्दै सुरुमा १ हजार रुपैयाँ ई–सेवा गर्न भन्यो । असिमले क्युआर कोड मागे तर बिक्रेताले दिन मानेनन् । भोलिपल्ट फोन गर्दा स्विच अफ थियो । तर, राति फेरि बिक्रेताको फोन आयो र भन्यो, ‘तपाईंको प्रोसेसिङका लागि ओटीपी नम्बर दिनुस् ।’ सबिनाकै जस्तो शैली अपनाउन खोजे पनि असिम सचेत भए । उनले ओटीपी नदिएकै कारण आफ्नो ठूलो रकम जोगिएको महसुस गरे ।

यसरी चल्छ ठगीको ‘नेटवर्क’

प्रहरीका अनुसार यो एउटा सङ्गठित गिरोहको काम गर्ने शैली हो । यसमा आकर्षक विज्ञापन बजार मूल्यभन्दा निकै कम मूल्य (भारी छुट) राखेर सामानको भिडियो पोस्ट गरिन्छ ।

ह्वाट्सएप वा मेसेन्जरमा कुरा गर्दा उनीहरू निकै नम्र भएर बोल्छन् र आफूलाई ठूलो होलसेल व्यापारीका रूपमा चिनाउँछन् । एडभान्स पेमेन्ट, कुरियर चार्ज वा बुकिङका नाममा ५ सयदेखि १ हजार रुपैयाँसम्म पहिले नै माग्छन् । सबैभन्दा खतरनाक चरण भनेको ओटीपी माग्नु हो । ‘भेरिफिकेसन’ वा पेमेन्ट कन्फर्मेसनको बहाना बनाएर उनीहरूले प्रयोगकर्ताको खातामा पहुँच बनाउँछन् र रकम ट्रान्सफर गर्छन् ।

पढेलेखेका नै किन पर्छन् पासोमा ? भन्ने प्रश्नमा सबिना भन्छिन्, ‘सस्तो सामान देखेपछि मान्छेको दिमागले अरू सोच्न नै नसक्ने रहेछ ।’

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार लिमिटेड अफर वा फ्ल्यास सेल जस्ता शब्दले मानिसमा सामान छुट्ला कि भन्ने डर पैदा गर्छ, जसका कारण उनीहरू हतारमा निर्णय लिन्छन् । ठगहरूले यही मानवीय कमजोरीको फाइदा उठाउने गरेको प्रहरीको भनाइ छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार अनलाइन ठगीका घटना डरलाग्दो गरी बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्ममा मात्रै कोशी प्रदेशमा २ करोड २७ लाख ५३ हजार ८९० रुपैयाँ बराबरको रकम ठगी भएको छ ।

प्रहरीका अनुसार यस अवधिमा २ सय १० वटा उजुरी परेका छन् । ठगिनेमा सबैभन्दा बढी ६४ जना गृहिणी, ४२ जना कृषक र ३३ जना विद्यार्थी छन् । उमेर समूहका आधारमा हेर्दा १९ देखि ४० वर्षका युवा तथा वयस्कहरू ठगको निशानामा बढी परेका छन् ।

के भन्छन् प्रहरी ?

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी विनोद घिमिरेका अनुसार यस्ता ठगीमा संलग्नहरूले अत्यन्तै चलाखीपूर्ण तरिका अपनाउने गरेका छन् ।

उनले भने, ‘यस्ता ठगीमा प्रायः फेक आइडीको प्रयोग हुने गरेको छ । कतिपय अवस्थामा ठगहरू विदेशमा बसेर सञ्जाल चलाइरहेका हुन्छन् भने कतिपयले नेपालकै सोझा मानिसहरूको डकुमेन्ट दुरुपयोग गर्ने गरेका छन् । गाउँका सोझा मानिसहरूलाई बैंकमा खाता खोलिदिन्छु’ भनेर उनीहरूको नागरिकता लिने र उनीहरूकै नाममा सिमकार्ड र बैंक खाता खोलेर ठगीको रकम जम्मा गर्ने गरिएको पाइन्छ ।’

उनी थप्छन्, ‘अनुसन्धान गर्दा नागरिकता भएको मान्छे फेला पर्छ, तर उसलाई आफ्नो नाममा खाता खोलिएको वा ठगी भइरहेको पत्तो नै हुँदैन । डकुमेन्ट मिसयुज गरेर गिरोहले ठगी गरिरहेका छन् । यस्तो अवस्थामा पैसा फिर्ता हुने सम्भावना निकै कम हुन्छ ।’

डिआइजी घिमिरेका अनुसार ठगले तत्कालै रकम अन्यत्रै व्यवस्थापन गरिसकेको हुन्छ । त्यसैले अपरिचित व्यक्तिलाई ओटीपी दिनु वा प्रलोभनमा पर्नु नै मुख्य जोखिम हो । यस प्रकारका साइबर अपराधबाट बच्न अपरिचित व्यक्ति वा शंकास्पद विज्ञापनको पछि नलाग्न र आफ्नो गोप्य पासवर्ड तथा ओटीपी कसैलाई सेयर नगर्न साइबरब्युरो र प्रदेश प्रहरीले पटक–पटक आग्रहसमेत गर्दै आएका छन् ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *