आजको मिति: सोमबार, असार १५, २०८३
११:१३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

लिम्बू भाषालाई कामकाजमा ल्याउँदै माङसेबुङ गाउँपालिका

प्रदेश सरकारको उपेक्षा, स्थानीय सरकारको टेवा

माङसेबुङ गाउँपालिकाले नवआगन्तुकलाई स्वागत गर्न राखेको नेपाली, लिम्बू र अंग्रेजी भाषाको त्रिभाषिक स्वागत बोर्ड ।

Infinite Scroll Ad

माङसेबुङ ।

नेपाल सङ्घीय संरचनामा प्रवेश गरेसँगै नेपाली बाहेकका मातृभाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने माग उठ्दै आएको छ । कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई कामकाजी भाषा बनाउनेबारे प्रदेश सभामा पेश भएको विधेयक प्रदेश सभामा अलपत्र छ । तर, यसैबीच माङसेबुङ गाउँपालिकाले भने लिम्बू भाषालाई पालिका कामकाजको भाषा घोषणा गरेर कार्यान्वयनमा ल्याउने भएको छ ।

आउँदो १२ जेठमा एक समारोहका बीच बृहत् कार्यक्रम आयोजना गरेर माङसेबुङ गाउँपालिकाको कामकाजको भाषाका रूपमा लिम्बू भाषालाई घोषणा गरेर कार्यान्वयनमा ल्याउन लागेको हो ।

Sidebar Premium Ad

लिम्बू भाषा कामकाज घोषणा र कार्यान्वयनसँगै ‘बान्तावा भाषाको स्थानीय पाठ्यक्रम सार्वजनिक’ र ‘माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी पुस्तक’ विमोचन गरिने माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
‘हामीले आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रमबाट नै लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा कायम गर्ने तय भएको हो । ११ बैशाखको कार्यपालिका बैठकले कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । १२ जेठमा घोषणा गरेर कार्यान्वयनमा लैजान्छौँ’, अध्यक्ष राईले भने, ‘मातृभाषाको प्रबर्द्धन गर्ने उद्देश्यका साथ बान्तावा भाषाको स्थानीय पाठ्यक्रमसमेत सार्वजनिक गर्नेछौं ।’ आगामी हरेक वर्षहरुमा पालिकाले १२ जेठलाई लिम्बू भाषा कामकाजी घोषणा भएको दिनको रूपमा वार्षिक उत्सव मनाइने राईले बताए ।

माङसेबुङले ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५’ को अधिनमा रहेर आवश्यक सम्पूर्ण तयारी पूरा गरेको प्रमुख प्रशासकीय अधिकृत दिलशेर राईले जानकारी दिए । ‘हामीले लिम्बू भाषालाई पालिकाको कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न गराउन सहायक पाँचौ तहको भाषिक कर्मचारी नै नियुक्त गरिसकेका छौँ ।’

लिम्बू भाषालाई वडा तहमा कामकाजको भाषा घोषणा गरेर कार्यान्वयन गर्ने पहिलो पालिका पनि माङसेबुङ नै हो । वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङदेन ‘सेइङ’ को बासस्थान र किरात धर्मावलम्बीको आस्थाको केन्द्र लारुम्बासमेत अवस्थित माङसेबुङ ५ नम्बर वडाले भने १३ मंसिर ०७५ बाटै यो कार्य गर्दै आएको छ ।

Sidebar Premium Ad

०७६ सालदेखि सहायक चौँथो तहको भाषिक कर्मचारी नियुक्त गरेर लिम्बू भाषाबाट समेत सेवा दिइँदै आएकोमा हाल कर्मचारी रिक्त रहेको पालिकाको भनाइ छ । ‘जसले वडामा नियुक्त भएर काम गरिरहनुभएको थियो । उहाँ (कर्मचारी) नै पालिकाले आह्वान गरेको पाँचौ तहको कर्मचारी आवश्यकतामा उत्तिर्ण भएकाले वडामा कर्मचारी रिक्त रहेको हो’, प्रमुख प्रशासकीय अधिकृत राईले भने, ‘रिक्त पदपूर्ति गर्न कर्मचारी छनौट परीक्षाका लागि विज्ञ तोकेका थियौँ । १२ जेठ भन्दा अघि नै छनौट प्रक्रिया पूरा गर्नेछौँ ।’

लिम्बू बाहुल्य माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषा बनाउने कुराले मातृभाषाको प्रबर्द्धनमा योगदान गर्ने पूर्व शिक्षक कमल कार्कीको भनाइ छ । ‘मातृभाषाको प्रबर्द्धनका लागि यो निर्णय स्वागतयोग्य छ । स्थानीय मातृभाषाबाट सुसूचित हुन पाउनु र त्यसलाई कामकाजमा प्रयोगमा ल्याउने कुराले स्थानीय तहलाई बलियो बनाउँछ भन्ने लाग्छ’, कार्कीले भने ।

शिक्षण पेशामा रहँदा आफूले राई भाषा पढाएको स्मरण गर्दै कार्कीले भने, ‘माङसेबुङ २ को जनकल्याण आधारभूत विद्यालयमा मैले राई भाषा पढाउँथे । भाषिक परीक्षामा काफ्ले थरका विद्यार्थीले बढी अङ्क प्राप्त गर्थे । त्यसैले भाषिक शिक्षा र ज्ञान व्यक्तिको क्षमताको मापन पनि हो ।’ उनले माङसेबुङ गाउँपालिकाले दोस्रो बाहुल्य जनसंख्या रहेको राई भाषालाई पनि कामकाजको भाषाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

Above Content Ad
Header Top Ad

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास रहेको छ । बाँकी अन्य जातिका मानिसको बसोबास रहेको छ ।

ऐन बन्यो, बजेट अभावले रोकियो

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले भने ०८० मै लिम्बू भाषालाई पालिकाको कामकाजको भाषा बनाउन ऐन नै जारी गरिसकेको छ । तर, फाल्गुनन्दले यस ऐनलाई कार्यान्वयन गर्न भने सकेको छैन ।

०७ असार ०८० मा नै फाल्गुनन्द गाउँपालिकाले ‘फाल्गुनन्द गाउँपालिको सरकारी कमकाजको भाषा ऐन, २०८०’ बनाएर राजपत्रमा प्रकाशित गरिसकेको छ ।

‘नेपालको संविधानको २२१, धारा २२६ र अनुसूची ८ को १२ र २२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (फ) (१), (५) र ऐ. को १०२ बमोजिम फाल्गुनन्द गाउँपालिकाको गाउँ सभाले यो ऐन तर्जुमा गरी जारी गरेको छ ।’ ऐनको प्रस्तावनामा उल्लेख छ ।

लिम्बू भाषालाई पालिकाको कामकाजको भाषा कार्यान्वयन गराउन बजेट अभावका कारण सम्भव नभएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वृजहाङ आङ्देम्बेले जानकारी दिए । ‘०८० सालमै ऐन बनेको हो । तर, बजेट अभावले हालसम्म कार्यान्वयन गर्न सकेका छैनौँ । हामी आउँदो आ.व. ०८३/८४ को नीति तथा कार्यक्रमबाट बजेट बिनियोजन गरेरै कार्यान्वयन गर्ने तयारीमा छौँ’, अध्यक्ष आङ्देम्बेले भने ।

किरात याक्थुङ चुम्लुङकी सङ्घीय उपाध्यक्ष निरन्ती तुम्बापोले केही वडाहरुले लिम्बू भाषालाई कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको भए पनि पालिकास्तरमा भने इलामको माङसेबुङ गाउँपालिका पहिलो पालिका हुने बताइन् ।

बान्तावा भाषाको स्थानीय पाठ्यक्रम बन्यो

३३.६ प्रतिशत राई जातिको बसोबास रहेको माङसेबुङ गाउँपालिकामा बान्तावा भाषाको स्थानीय पाठ्यक्रम तयारी भएको छ ।

माङसेबुङ ३ चतुरेस्थित जीवनज्योति माविका शिक्षक मदनकुमार राईको संयोजकत्वमा गठित पाठ्यक्रम निर्धारण समितिले कक्षा १–३ (पूर्व प्राथमिक तह) को बान्तावा भाषाको स्थानीय पाठ्यक्रम तयार गरिसकेको माङसेबुङ गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।

पाठ्यक्रम निर्धारण समितिका सदस्यमा भक्त एवाई राई, अम्बिका राई, उदय राई, गुञ्जकुमार राई, मनकुमार राई, नरबहादुर राई सदस्य रहेका थिए ।

पालिकाले बान्तावा भाषाको स्थानीय पाठ्यक्रमअनुसार चाँडै पुस्तक छपाई गरी पठनपाठनको वातावरण बनाउने शिक्षा शाखा प्रमुख खतिवडाको भनाइ छ ।

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *