आजको मिति: बुधबार, असार ३, २०८३
०९:५९ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी, सांसद धामी पराजित|कमजोर चुनावी नतिजापछि एमालेको कोशीमा समीक्षा, पुनर्गठनको दबाब बढ्दै|

व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी

Infinite Scroll Ad

कमन देवान

भारतमा नयाँ आन्दोलनले जबरजस्त प्रवेश पाएको छ । जसलाई कक्रोच जनता पार्टी नाम दिइएको छ । सहजगरी बुझ्न कक्रोच जनता पार्टीले आफूलाई सिजेपी भनेको छ । सत्तासिन पार्टी भारतीय जनता पार्टीले आफूलाई बिजेपी वा भाजपा भनेर चिनाएकै शैलीमा कक्रोच जनता पार्टीको यो अभियानलाई सिजेपीका रूपमा चिनाएको छ, जो भारतको एक व्यंग्यात्मक राजनीतिक आन्दोलनका रूपमा महिना दिनमै देशव्यापी फैलन पुगेको हो । जानकारहरुले यसलाई पारम्परागत शैलीको आन्दोलन र राजनीतिक दल मानेका छैनन् । यो मुख्य रूपमा इन्टरनेटमार्फत् सामाजिक सञ्जालमा आधारित युवा केन्द्रित विरोधी अभियान भएको बताइन्छ । २ करोड २० लाख युवा पुस्ताले सिजेपीलाई सामाजि सञ्जालहरुमा फलो गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ । ११ लाख बढी युवा सिजेपीको वेबसाइटसँग आबद्ध भएको मानिन्छ । गत शनिबार, ६ जुनमा भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा सिजेपीले पहिलो पटक भौतिक उपस्थितिसहित भाजपा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सिजेपीका प्रमुख अभियान्ता महाराष्ट्र (औरंगाबाद) का ३० वर्षीय युवा अभिजीत दिप्के हुन् । दिप्केको व्यक्तिगत प्रयासमा सुरु भएको सिजेपीमा नाटकीय ढङ्गले हजारौँ युवा भर्चुअल माभ्यमबाट जोडिएर यो आन्दोलन सुरु भएको हो । वोष्टन विश्वविद्यालयबाट पब्लिक रिलेसन्समा मास्टर्स गरेका उनले पहिले आम आदमी पार्टी (एएपी) को सोसल मिडिया टिमका सदस्य रहेर काम गरेका थिए । दिप्केले सुरु गरेको सिजेपी अभियानलाई शिक्षाविद्, लद्दाखका पर्यावरण अभियानकर्ता सोनम वाङ्चुकले खुलेर समर्थन गरेका छन् । उनले आफूलाई ‘मानार्थ कक्रोच’ घोषणा गरेका छन् ।

Sidebar Premium Ad

मोदी सत्ताले भारतीय संविधानको धारा ३७० मा प्राप्त लद्दाखवासीको स्वायत्तताको अधिकार खोसेको भन्दै वाङ्चुक लामो समयदेखि आन्दोलित छन् । उनले नेतृत्व गरेको आन्दोलनले लद्दाखको भूमि बाहिरी पूँजी र जनसांख्यिक दबाबबाट जोगाउनुपर्ने, स्थानीय युवाको रोजगारी सुरक्षित हुनुपर्ने, आदिवासी तथा स्थानीय सांस्कृतिक पहिचान जोगिनुपर्ने र लद्दाखमा निर्वाचित उत्तरदायी सरकार हुनुपर्ने माग अघि सारेका छन् । आन्दोलनका दौरान उनीमाथि केन्द्रीय सत्ताले पक्राउ गरी हिरासतमा राख्ने र विभिन्न मुद्दा लगाउने काम गरेको छ ।

कसरी जन्मियो कक्रोज जनता पार्टी ?

भारतका प्रधानन्यायधीश सूर्यकान्तले १५ मे २०२६ मा एक टेलिभिजन अन्तरवार्तामा युवा पुस्तामाथि गरेको भद्दा टिप्पणीको विरोधमा कक्रोच जनता पार्टी (सिजेपी) ले रातौँरात अस्तित्व ग्रहण गरेको अवस्था छ । उनले बेरोजगार युवा, सोसल मिडिया एक्टिभिस्ट र फर्जी डिग्री भएकाहरूलाई कक्रोच (साङ्ला) को संज्ञा दिँदै ‘तिनीहरु समाजका परजीवी हुन्’ भनेका थिए । तर युवा पुस्ताले यो टिप्पणीलाई आफ्नो अपमान गरेको मात्रै बुझेनन् । मूलधारको सत्ता र उसका जनघाती कार्यहरुका विरुद्ध संगठित हुने र लड्ने अवसरका रूपमा यस टिप्पणीलाई आधार बनाए ।

Sidebar Premium Ad

दृश्य रूपमा कक्रोच जनता पार्टीले तत्कालका लागि इन्टरनेटमार्फत सामाजिक सञ्जालमा सक्रिय बेरोजगार र आलसी युवा पुस्ताको आवाजलाई एकगट्ठा गर्ने, व्यवस्थाको आलोचना गर्ने, भ्रष्टाचार, बेरोजगारी, नीट युजी परीक्षा पेपर लीक, महिला अधिकार, मिडिया स्वतन्त्रता जस्ता मुद्दाहरूमा सरकारविरुद्ध व्यंग्य गर्ने र दबाब दिने उद्देश्य सार्वजनिक गरेको छ । यसले विरोध लाई मीम्स, व्यंग्य र डिजिटल क्याम्पेनमार्फत आलोचना गर्ने ट्रेन्डलाई बलियो प्लेटफर्मका रूपमा विकास गरिरहेको छ ।

सिजेपीले आफ्नो वेबसाइटमा बुँदागत रूपमा विभिन्न मागहरू अघि सारेको छ । ती मध्ये मुख्य मागका रूपमा रहेका छन् –
– प्रधानन्यायाधीशहरूलाई अवकासपछि राज्य सभामा कोटा उपलब्ध नगराउने ।
– विद्युतीय मत डिलिट भएमा प्रमुख निर्वाचन आयुक्तलाई पक्राउ र कारबाही ।
– महिलालाई संसद्मा र क्याबिनेटमा पनि ५० प्रतिशत आरक्षण अनिवार्य ।
– पार्टी फेर्ने सांसद÷विधायकलाई २० वर्षसम्म चुनाव लड्न र सार्वजनिक पदमा बस्न नदिने ।

सामाजिक सञ्जालबाट सडकमा सिजेपी :
नीट–यूजी २०२६ परीक्षा प्रकरणपछि सिजेपीले सरकारविरोधी प्रदर्शनलाई भर्चुअल दुनियाँबाट प्रत्यक्ष र सडकमा उतारेको हो । गत ३ मे मा सम्पन्न नीट–युजी परीक्षा (चिकित्सा शिक्षाका लागि स्नातक तहमा प्रवेश पाउन लिइने राष्ट्रिय योग्यताको प्रवेश परीक्षा) मा प्रश्नपत्र चुहावट भएपछि ५ जना परीक्षार्थीले आत्महत्या गरेको प्रकरणले भाजपा सत्तालाई नै धक्का दिएको छ । १२ मे मा परीक्षा रद्द र पुनः परीक्षाको घोषणा गरेर सरकार आफ्नो बचाउमा लागेको भए तापनि सिजेपी यो प्रकरणलाई परिणममुखी आन्दोलनको इतिहास बनाउने रणनीतिका साथ अगाडि आयो । त्यस परीक्षामा सामेल भएका २२ लाख ८० हजार भन्दा बढी परीक्षार्थी आफ्नो भविष्य के हुने भन्ने बारेमा चिन्तित रहेका बेला कक्रोच जनता पार्टीको अगुवाईमा दिल्लीमा भएको प्रदर्शनले गम्भीर राजनीतिक हस्तक्षेपको संकेत गरेको छ ।

Above Content Ad
Header Top Ad

आन्दोलनरत युवाले भारत सरकार मातहतको स्वतन्त्र परीक्षा सञ्चालन निकाय ‘नेश्नल टेस्टिङ एजेन्सी’ (एनटीए) को भूमिकामाथि मात्रै प्रश्न उठाएका छैनन्, शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत मागिएको घटनाले मोदी सरकारमाथिको सामाजिक दृष्टिकोणलाई नै धमिल्याउन सक्ने देखिन्छ । यस घटनाले प्राविधिक रूपमा मोदी सत्तालाई धक्का नलागे पनि राजनीतिक धक्का भने लागेकै छ । सँगै, कक्रोच जनता पार्टीको उदयलाई सडक समर्थनमार्फत वैधता प्राप्त भएको छ ।

दीर्घकालीन राजनीतिमा पार्न सक्ने प्रभाव :

सामाजिक सञ्जालमा अत्यन्त प्रभावशाली सिजेपी आन्दोलनले भारतीय सत्ता राजनीति र बेथिति, विसंगतिविरुद्ध मीम्स, भाइरल कन्टेन्ट र व्यंग्य मार्फत युवा जागरणमा जोड दिने काम गरिरहेको छ । त्यसका अतिरिक्त भौतिक उपस्थितिका बीच मोदी सरकार र सरकारी निकायहरुवीरुद्ध प्रदर्शन गर्ने र दबाब दिनेलगायत काममा कक्रोच जनता पार्टीले अग्रसरता लिएको देखिन्छ । यद्यपि, यो आन्दोलनलाई डिजिटल आन्दोलन मानिएको छ । अर्थात् यो कुनै ठूलो राजनीतिक दल बन्न सक्दैन भन्ने भारतीय संस्थापन पक्षको दावी हो । तथापि युवा पुस्ताको बढ्दो आकर्षणले मतदाताको मनस्थिति नबदल्ला भनेर यसै भन्न सकिन्न । त्यस्तो अवस्थामा मूलधाराको राजनीति (सत्ता अदवबदल) मा नै प्रभाव पार्न सक्छ ।

केही भारतीय विश्लेषकहरू सिजेपीलाई संगठित राजनीतिक दल मान्दैनन् । किनकि यसको कुनै स्थानीय संरचना र निर्वाचन संयन्त्र छैन । तसर्थ यसले तुरुन्तै सत्तासिन दल भाजपाको मत बैंक भत्काइहाल्ने कुनै सम्भावना छैन । बेरोजगारी, परीक्षा घोटाला, युवाका मुद्दा र जनजीविकालगायत बहसलाई भने राष्ट्रिय एजेन्डा बनाउन सक्ने उनीहरुको दावी छ । अर्काथरी विश्लेषकले कक्रोच जनता पार्टीको शक्ति भनेकै इन्स्टाग्राम, मिम र डिजिटल अभियान भएकाले आफ्ना अनलाइन समर्थकलाई निरन्तर सडक आन्दोलन, संगठन र राजनीतिक कार्यक्रमसँग जोड्न नसकेन यसको प्रभाव बिस्तारै घट्ने दावी गरेका छन् । कतिपय आलोचकले सिजेपीको उदयलाई ‘क्षणिक असन्तोषको अभिव्यक्ति’ भनेका छन् । करोडौँ फलोअर्स हुनु र चुनावी प्रभाव हुनु फरक भएको उनीहरुको जिकिर छ ।

रक्षात्मक अवस्थामा भाजपा :
पछिल्ला रिपोर्टहरूमा जनाए अनुसार सत्तासिन भाजपा यतिबेला कक्रोच जनता पार्टीका कुनै पनि गतिविधिलाई दमन गर्ने भन्दा पनि टाढै बस्ने रणनीतिमा छ । उसले प्रत्यक्ष भिडन्तको रणनीति नलिएर ‘इग्नोर, डिसमिस एण्ड डिलिट’ अर्थात सिजेपीका कुनै पनि विषयलाई बेवास्ता, खारेज र मेटाउने नीति अख्तियार गरेको हो । भाजपाले आफ्ना नेतालाई कक्रोच जनता पार्टीका बारे टिप्पणी नगर्न भनेको छ । बदलामा उसले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदी र मोदी सरकारका उपलब्धिहरूको अधिकतम प्रचार–प्रसार गर्न निर्देशन दिएको हो । अर्थात् भाजपाले तत्कालै सिजेपीलाई सत्ताविरुद्धको खतरा हो भन्ने मानेको छैन, तर पूर्ण रूपले बेवास्ता पनि गरेको छैन । यसबाट के स्पष्ट हुन्छ भने युवा आक्रोशलाई संगठित गर्दै डिजिटल प्लेटफर्मबाट उदाइरहेको कक्रोच जनता पार्टीले अभियान सुरु गरेको महिना दिन पुग्दा नपुग्दै भारतीय संस्थापनलाई रक्षात्मक अवस्थामा पु¥याइदिएको छ ।

निष्कर्ष :
भारतका चर्चित र वरिष्ठ कानुनविद् प्रशान्त भूषणले कक्रोच जनता पार्टीको उदयलाई जेन जी आन्दोलनको संज्ञा दिएका छन् । इन्टरनेटमार्फत् विभिन्न सामाजिक प्लेटफर्ममा सक्रिय युवा पुस्ताले यो आन्दोलनप्रति देखाएको उत्सुकता र सहभागिताले युवा पुस्ताको मत बोकेको त देखिन्छ, तर यसले भारतको समग्र राजनीतिक परिस्थितिमा परिवर्तन ल्याउन सक्छ वा सक्दैन ? अथवा वर्तमान भाजपा सत्ताको विकल्पका रूपमा उदय हुन्छ वा विरोधको माध्यमबाट आफ्नो आन्दोलनको अस्तित्वलाई मात्रै कायम राख्छ ? आदि बारे तत्कालै अनुमान गर्न हतार हुनेछ ।

सरकारका जुनसुकै गलत कदमलाई प्रश्नको माध्यमबाट सच्याउने धर्म लोकतन्त्रमा आवश्यक र अपरिहार्य पक्ष हो । जसलाई वास्तवमा रचनात्मक प्रतिपक्षी मान्न सकिन्छ । सिजेपीले युवाहरूको असन्तोषलाई एउटै प्रतीक र भाषामा व्यक्त गर्ने माध्यम भने बनाएको देखिन्छ । तर, राजनीतिक रूपमा यस आन्दोलनको वास्तविक प्रभाव कस्तो पर्ला ? त्यो भने आगामी केही महिना वा वर्षमा थाहा हुनेछ । यो आन्दोलनले प्राप्त गरेको भर्चुअल सहभागिता र अनलाइन लोकप्रियतालाई कति सङ्गठित शक्तिका रूपमा जनताका आम मुद्दासँग घुलमिल गराउन सक्दछ र राजनीतिक रूपमा अग्रसरता लिएर जनविश्वास जित्दै सिजेपी अगाडि बढ्छ, त्यसैमा उसको राजनीतिक भविष्य निर्भर हुने देखिन्छ ।

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *