दमक ।
लगातार चौथो कारोबार दिन पनि सेयर बजार १.५४ अंकले आरालो लागेको छ । मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेसँगै २७३३ अंकमा कायम भएको छ ।
नेप्सेमा गिरावट आए पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेर ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब ८ करोडको कारोबार भएको थियो । मंगलबारको कारोबार रकम वैशाख १५ यताकै उच्च भएको नेप्सेले जनाएको छ ।
नयाँ सूचीकृत कम्पनीहरू सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १५ प्रतिशतले बढेको छ । यी दुवै हालै बजारमा सूचीकृत भएका नयाँ कम्पनी हुन् । त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढेको बताइएको छ ।
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको हो भने सामुदायिक लघुवित्तको ७.३७, कर्पाेरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशत मूल्य घटेको हो ।




