दमक । विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की यतिबेला भने आफ्नो निर्वाचन क्षेत्रका गाउँ–टोलमा पुगेर जनताका गुनासा सुन्न व्यस्त देखिएका छन् ।
एकातिर व्यक्तिगत जीवनसँग जोडिएको गम्भीर विवादले उनको नाम चर्चामा छ भने अर्कोतिर उनी जनप्रतिनिधिको भूमिकामा सक्रिय देखिँदै जनताको समस्या बुझ्ने अभियानमा निस्किएका छन् ।
मोरङ–२ बाट निर्वाचित कार्की पछिल्ला दिनमा निर्वाचन क्षेत्रका विभिन्न बस्ती, टोल र समुदायमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र युवाको रोजगारीलगायतका विषयमा नागरिकका गुनासा सुन्दै उनी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
चुनाव जितेपछि राजधानी केन्द्रित हुने पुरानो राजनीतिक प्रवृत्तिभन्दा फरक शैली अपनाएको भन्दै उनका समर्थकहरूले प्रशंसा गरिरहेका छन्,भने कतिपयले यस्तै पनि बेईज्यती माननिय भन्दै उडाईरहेका छन् ।
यसर्थ,उनको यो सक्रियतालाई सबैले समान रूपमा हेरेका छैनन् । केही स्थानीय तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीमाथि लागेको गम्भीर आरोपबारे स्पष्ट जवाफ नदिई सार्वजनिक कार्यक्रममा सक्रिय हुनुलाई छवि सुधार अभियानका रूपमा व्याख्या गर्न थालेका छन् ।
उनीमाथि लागेको आरोपबारे सार्वजनिक बहस चलिरहेका बेला गाउँ–गाउँमा पुगेर जनतासँग भेटघाट गर्नुलाई कतिपयले ‘राजनीतिक क्षति नियन्त्रणको प्रयास’ समेत भनेका छन् ।
कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर जिम्मेवारीबाट पन्छिएको आरोप सार्वजनिक भएको थियो ।
सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार काठमाडौंको ठमेल क्षेत्रमा बस्दै आएकी २६ वर्षीया रिता अजुकोले कार्कीसँग आफू लिभिङ रिलेसनशिपमा रहेको र गर्भवती भएपछि उनी सम्पर्कविहीन बनेको दाबी गरेकी थिइन् ।
अजुकोले आर्थिक कठिनाइका बीच आफूले बच्चा जन्माउने तयारी गरिरहेको र कार्कीले जिम्मेवारी लिनुपर्ने बताएकी थिइन् ।
समाचारहरूमा कार्की र अजुकोबीच भएका भनिएका व्यक्तिगत सन्देश, तस्बिर तथा भिडियोहरू समेत उल्लेख गरिएका छन् ।
ती सामग्रीमा कार्कीले अजुकोलाई आफ्नी पत्नीसरह सम्बोधन गरेको दाबी गरिएको छ। यद्यपि यी आरोप र दाबीहरूको स्वतन्त्र तथा कानुनी पुष्टि भने सार्वजनिक रूपमा भएको छैन ।
यस विषयमा प्रतिक्रिया माग्दा कार्कीले विस्तृत धारणा दिन चाहेका थिएनन् ।
सञ्चारकर्मीसँग छोटो कुराकानीमा उनले आफू बैठकमा रहेको भन्दै त्यसबेला प्रतिक्रिया दिन नमिल्ने बताएका थिए। त्यसयता पनि उनले आरोपबारे सार्वजनिक रूपमा विस्तृत स्पष्टीकरण दिएको देखिएको छैन ।
कार्कीको नाम यसअघि पनि विभिन्न विवादमा जोडिँदै आएको छ । सामाजिक सञ्जालमा उनका विगतका गतिविधिहरूसँग सम्बन्धित तस्बिर र भिडियोहरू बेला–बेलामा चर्चामा आउने गरेका छन् ।
यिनै कारणले उनलाई लिएर समर्थक र आलोचकबीच मत विभाजित देखिन्छ। एक पक्षले उनलाई स्पष्टवक्ता र जनतामाझ पुग्ने नेता भनेर चित्रण गर्छ भने अर्को पक्षले सार्वजनिक पदमा रहेका व्यक्तिले व्यक्तिगत आचरणबारे पनि जवाफदेही हुनुपर्ने तर्क राख्छ ।
यता निर्वाचन क्षेत्रमा भने कार्कीले आफ्नो अभियानलाई निरन्तरता दिएका छन् ।
विभिन्न स्थानमा आयोजित भेटघाट कार्यक्रममा नागरिकहरूले विकास निर्माणका कामलाई तीव्रता दिन, रोजगारी सिर्जना गर्न र आधारभूत सेवामा सुधार ल्याउन माग राखिरहेका छन् ।
कार्कीले पनि जनतासँगको निरन्तर सम्पर्कमार्फत क्षेत्रको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
तर प्रश्न भने उही छ-विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपको सत्यता के हो ? आरोप गलत हो भने त्यसबारे स्पष्ट खण्डन किन आउँदैन ? र यदि आरोपमा तथ्य छ भने जनप्रतिनिधिको नैतिक जिम्मेवारी के हुन्छ ? यी प्रश्नहरूको उत्तर अझै सार्वजनिक रूपमा आउन बाँकी छ ।
यता कार्की भने जनताको घरदैलोमा पुगेर गुनासा सुन्ने अभियानमा व्यस्त छन् ।
व्यक्तिगत विवाद र राजनीतिक सक्रियता एकैसाथ चर्चामा रहेका बेला उनको आगामी कदम र आरोपबारेको धारणा नै अहिले धेरैको चासोको विषय बनेको छ ।
यस्तो छ कार्कीको नालीबेली
विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेपछि विवादित बनेका मोरङ क्षेत्र नम्बर २ का सांसद कृष्णकुमार कार्कीले विवाह गर्ने योजनामा ती महिलासँग सम्बन्ध गाँसेको र सांसद भएपछि मन फेरेको छरछिमेकले बताएका छन् ।
रतुवामाई नगरपालिका–९ ठकठके पुर्ख्यौली घर भएका कृष्णका छरछिमेकले सञ्चारकर्मीलाई त्यसो भनेका हुन् ।
स्कुले पढाइ सकिएपछि काठमाडौं बस्दै आएका कृष्णले जापान जानुअघि चलचित्र निर्माणमा पनि हात हालेका थिए ।
घमण्ड चलचित्र उनकै हो। २०७२ सालमा जापान पुगेका उनी साढे ९ वर्ष त्यहीँ बसे। डेढ वर्षअघि मात्रै नेपाल आएका उनले जेनजी प्रदर्शनमा जोडिएपछि राजनीतिमा प्रवेश पाएका थिए ।
प्रदर्शनमा सरकारी संरचना जलाउन गएको उनको फोटो–भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
पाँच दाजुभाइमध्ये साइँला उनी जापानबाट फर्किएपछि पनि खासै गाउँ गएनन् । ठमेलमा होटल चलाएका उनको ती विदेशी महिलासँग त्यहीँ सम्पर्क भएको हुनसक्ने स्थानीय बताउँछन् ।
भलै दिनदुखीलाई राहत भयो होला, उनले कथित सामाजिक कामको नाममा जापान रहँदा गाउँमा लत्ताकपडा खाद्यन्य तथा आर्थिक सहयोग गरे ।
एउटा पुरानो उक्ति छ, ‘काम गर फलको आशा नगर’। तर यसको ठीक उल्टो। उनी काम गर्ने भन्दा पनि प्रचारमुखीमा तल्लिन रहने गरेको र आफ्नाहरु सामाजिक सन्जालमा ब्यापाक बनाउन दवाब दिने गरेको भुक्तभोगीहरू बताउँछन् ।
उनले एक स्थानीय सामाजिक संस्था मार्फत थुप्रै सहयोग गरे, तर काम भन्दा नि नाम धेरै खोज्ने समाजसेवी दानबिर डाईनमिक लिडर जस्ता शब्द फुलबुट्टा भर्दै बयान गर्नुपर्ने दवाब दिएपछि आयोजक नै हैरानी भएका थिए ।
आयोजकले उनीबाट सहयोग पाउँनु संस्थाको पनि स्तरोउन्नती हो। कार्यक्रम गर्न सहज हो । सहयोगले नै संस्था सक्रिय हुने हो। उनको सहयोगले थुप्रै काम पनि भए ।
तर हैरानी भनि साध्य छैन्, उक्त संस्थाका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्थमा भने । तर अहिले उक्त संस्थालाई न कार्कीको सहयोग छ, न संस्था नै चलायामान ।
जेनजी प्रदर्शनमा जोडिएपछि एकाएक चर्चामा आएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले टिकट दिएको हो। चुनावका लागि उनी गाउँ गएका थिए ।
प्राप्त जानकारीअनुसार उनका दुई दाजु भारतीय सेनामा छन् । काइँलो भाइ नेपाल प्रहरीमा डिएसपी र कान्छो भाइ इलेक्ट्रिकल इञ्जिनियर छन्।
उनको सबै दाजुभाइ र एक मात्र बहिनीको बिहाबारी भइसकेको छ । उनी मात्रै अविवाहित छन् । उनको बुवा ट्रयाक्टर व्यवसायी र आमा गृहिणी हुन् ।
उनलाई टिकट दिएपछि जिल्लाका केही नेता–कार्यकर्ताले असन्तुष्टि जनाउँदै पार्टी छोडे ।
उनलाई चुनावमा सघाउनका निम्ति केन्द्रीय तहबाट ठूलै नेता नपुगे पनि बालेनपत्नी सबिना काफ्लेले भने सहयोग गरेकी थिइन् ।
उनको चुनावी क्षेत्र सबिनाको माइती गाउँ हो । लामो समय माओवादीमा सक्रिय रहेर एमालेमा छिरेपछि पनि रंगेली नगरपालिकाको मेयर भइसकेका दिलिप अग्रवाललाई १५ हजार ६२४ र नेपाली काँग्रेसका प्रभावशाली नेता डा मिनेन्द्र रिजाललाई १२ हजार ७३४ भोटमा सीमित गरी ४० हजार ९२४ भोट ल्याएर उनी विजयी भएका थिए ।
रोचक प्रसंग के भने,उनको परिवार नेपाली काँग्रेसनिकट छ । त्यसो त कृष्ण र काँग्रेसका नेता डा सुनिल शर्मा हुर्किएको गाउँ एउटै हो ।
दमकको ढुकुरपानीमा जन्मिए पनि सुनिलको बाल्यकाल रतुवामाईमै बित्यो। पछि सुनिलले आफूले पढेको ठकठकेस्थित जनता माध्यमिक विद्यालयलाई दुई करोड रुपैयाँ सहयोग गरेर आफ्नो बुवाआमाको नाममा परिवर्तन गराए ।
हाल सो स्कुलको नाम लोकनाथ होमादेवी माध्यमिक विद्यालय भएको छ । कृष्णले स्कुलको पुरानै नाम कायम गराउनका लागि जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेका थिए । अदालतले सुनिलको पक्षमा फैसला गरेको छ ।
पूर्वप्रधानमन्त्री तथा दिवंगत काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको पालादेखि नै काँग्रेसको गढ मानिने सो क्षेत्रमा जित हासिल गरेपछि कृष्ण एकदमै चर्चामा आएका थिए ।
त्योभन्दा पनि बढी चर्चा विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र छोडेको विषयले पाएको छ । स–प्रमाण समाचार प्रकाशित भएपछि स्थानीय निराश छन् ।




