अप्रत्याशित उपस्थितिसहित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले केही दिन अगाडि संसद्बाट नेपाल–भारत सीमा विवादबारे दिएको प्रतिक्रियाका लागि नेपालले महँगो कुटनीतिक मूल्य चुकाउनु पर्ने अवस्था सिर्जना भएको छ । शहरीया बेरोजगार युवा असन्तुष्टिको चाङमा टेक्दै जोनजी विद्रोहको पर्दाभित्रबाट लोकप्रियतावादको बुई चढेर दुईतिहाई नजिक मतको आलोकमा बालेन सत्तासिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्टार्डम पात्रका रूपमा प्रधामन्त्रीको कुर्सीमा छन् ।
देशको कार्यकारीको कुर्सीमा बसेर उनले गरेका हरेक गतिविधि विवादरहित छैनन् । चाहे सुकुमबासीका टहरामाथि डोजर आतङ्क मच्चाउने काण्डमा होस् वा सङ्घीय संसद्को नियमावलीमै व्यवस्था भएको प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तरमा सहभागी नुहने जस्ता हर्कतले प्रधानमन्त्री बालेको स्टार्डम सरप्राइज रास्वपाका लागि भारी पर्दै गएको यथार्थ लुक्न सक्दैन ।
पार्टी सभापति रवि लामिछाने र सभामुख पदको शपथ लिएपश्चात दलसँगको आबद्धताबाट प्राविधिक रूपले टाढिएका डोलप्रसाद अर्यालले स्टार्डम पात्र बालेनलाई पटक–पटक दलीय अनुशासन र संसदीय मर्यादाको कठघरामा उभ्याउने कोसिस नगरेका भने होइनन्, तर काठमाडौँ महानगरपालिकाको प्रमुख रहेका बेला विभिन्न दलको नाम लेखेर ती सबैलाई ‘फ..फ.. फ’ गरेर आफ्नो स्टार्डम सरप्राइजलाई सामाजिक सञ्जालको पारो उच्च बनाउन उपयोग गरेका हालका प्रधानमन्त्रीका लागि न कसैको निर्देशनले काम गरेको छ, न त कुनै मानवीय संवेदनाले नै छोएको छ ।
यसको अर्थ बालेनले गरेका जुनसुकै र जेसुकै क्रियाकलापलाई विवादित भन्नैपर्ने बाध्यता कहीँकतै छैन र होइन । तर, जनताको तहबाट उठेका प्रश्न र प्रकट भएका असहमति, विरोध, खण्डन आदि लोकतन्त्रमा कमजोरहरुको आवाज बढी प्राथमिकताका साथ सुनिनुपर्ने र सुनाइनुपर्ने विषय हो । गृहमन्त्रालयको जिम्मेवारीसहित केही कामकाजी मन्त्रालयहरु आफ्नै पोल्टामा राखेर शासनको सनकमा बालेनले उछाल्ने सरप्राइज स्टार्डमले वास्तवमा नेपाली कुटनीतिको धज्जी नमज्जाले उडाएको छ ।
प्राविधिक र संख्यात्मक शासनका लागि बालेन र उनी नेतृत्वको सरकारका लागि कतै र कुनै दुर्घटनामा परिन्न भन्ने ढुक्कैको अवस्था छ । तर, राजनीति पर्याप्त गणित र प्राविधिक १०–५ को कर्मचारी जागिरसँग मात्रै सीमित नरहने विषय हो भन्ने तथ्य स्थानीय तहको सत्ताबाट ज्यामितीय फड्गो मार्दै देशको प्रमुख कार्यकारी पदमा सर्टकर्ट मारेका बालेनलाई जति भलिभाँती कसलाई थाहा होला र ?
छिमेकी मुलुक भारतले नै अहिलेसम्म आफ्नो आधिकारिक रेकर्डमा नराखेको र कुटनीीतक रूपमा कहिँ कहिल्यै नउठाएको विषय हो, प्रधानमन्त्री बालेनले बोलेको ‘नेपालले पनि भारतको जग्गा मिचेको छ ।’ भन्ने वाक्यांश । जुन विषयले नेपालमा संसद् नै अबरोध हुने स्थिति सिर्जना भएको छ । बालेनले संसद्मा माफी माग्नु पर्ने र बोली फिर्ता लिनुपर्ने अडानका साथ प्रतिपक्षी दलले संसद् चल्न नदिने अडान राखिरहेका छन् ।
नेपालकै प्राप्त तथ्यले पनि कतै नेपाली सेना, कुनै सुरक्षा निकायले भारतीय भूमिमा क्याम्प राखेको, चेकपोष्ट राखेको आदि घटनाको फेला परेको छैन । अर्थात् बालेन स्टार्डमको सरप्राइजिङ उत्तेजनाले परम्परादेखिको नेपाल–भारत कुटनीतिलाई भित्रभित्रै नराम्ररी थिलथिलो पारेको पक्का छ । अहिले स्वयम् सरकार, सभामुख र सत्तासिन रास्वपालाई यो कुटनीतिक असक्षमता भारी परेको छ ।
कुटनीतिमा बोलीको मर्यादा हुन्छ । देखाइने कुरा बोलिँदैन र भन्न चाहेको कुरा देखाइँदैन भनिन्छ । नेपालकै ठूलो राजनीतिक दलको हैसियतमा ४ दिने भारत भ्रमण गएर फर्किएका रास्वपा सभापति लामिछाने आफै पनि बालेन बोलीको शिकार बनेर फर्किए । कुनै समय नेपालको चुचे नक्सा देखाएर टेलिभिजन कार्यक्रममा झाँक्री झैँ उफ्री–उफ्री राष्ट्रवाद फलाक्ने लामिछाने जिल्ल्निुपर्ने अवस्थामा पुगे ।
सुगौली सन्धि भन्दा अघिको ग्रेटर नेपालको नक्सा छातीमा टाँसेर टेलिभिजनमार्फत प्रो राष्ट्रवादी छवी बनाएका उनलाई राजनीतिक प्रकरणले कालान्तरमा राष्ट्रवादको ब्राण्ड मानिएका केपी शर्मा ओली ‘बा’ सत्ताको चंगुलमा जेल जीवन बिताउनुपर्ने वाध्यतामा पु¥याएको नरमाइलो बिगत भर्खरैको हो । त्यसको खिल उखेल्न नपाउँदै लामिछानेलाई बालेन बोली र भारत भ्रमणको सिलसिला ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ सावित भएकै हो । तर, कुटनीतिक मर्यादामा माथि भनिए झैँ मुख्य विषय लुकाउनुपर्ने वाध्यता छँदैछ ।
स्टार्डमले पुल्पुलिएको बालेन अपरिपक्वता नेपाल–भारत दुईदेशीय सम्बन्धमा दरार मात्रै होइन । परस्पर हितको वाधक बन्न सक्ने खतरा छ । आपसी सीमा विवाद समाधानका लागि बेलायतको उपस्थिति (इष्ट इन्डिया कम्पनी) खोज्ने जस्तो केटाकटी चकचकले रास्वपा सरकारको परराष्ट्र नीतिको अन्योलता र अज्ञानतासहितको अकर्मण्यतालाई छर्लङ्ग पारेको छ ।
भारतसँगको छिमेकी सम्बन्ध यति धमिलिएको छ कि सत्तासिन दलका सभापतिले भारत भ्रमण सकेर स्वदेश फर्किएकै भोलिपल्ट ध्वस्त भएको विश्वास फर्काउने झिनो आशाका साथ रास्वपा सत्ताले परराष्ट्रमन्त्री शिशिर खनाललाई दिल्ली दौडामा दौडाएको घटनाले प्रष्ट छ –आलोकाँचो सनक र स्टार्डम सरप्राइज रास्वपा र देशकै लागि नै कति महँगो भयो । तसर्थ, मुलुकको हितविपरीत बेलगाम र उन्मत्त साँढेझैँ ढुँग्रिने देशघाती कार्यशैली कुनै हालतमा स्वीकार्य हुन सक्दैन । यो देशमा बालेनहरुको मतभार बढी हुनु देश र जनताविरुद्ध छिमेकीलाई उत्तेजित पार्दै नाङ्गो नाच नाच्ने लइसेन्स प्राप्त हुनु होइन ।




