नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुनविपरीत भएको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले ‘मन्त्रीहरूले कानुन नमाने अरु कसले मान्ने ?’ भनेर प्रश्न उठाउँदै मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
‘उहाँले खुट्टा भाँच्ने भन्नुभयो देशमा नियम कानुन छैन । उहाँहरूले देशको कानुन मान्नु भएन भने कसले मान्छ ?,’ सांसद यादवले भनिन् ।
मन्त्री लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका थिए । मन्त्री लम्सालले भनेका थिए, ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’
त्यस्तै, सांसद यादवले प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्तिमा मन्त्रीले जवाफ दिएर नहुने बताइन् । ‘मन्त्रीले जवाफ दिने होइन, मन्त्रीले विषयगत मन्त्रालयको मात्र हो । प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिको बारेमा उहाँले के अभिव्यक्ति दिनुभएको छ ? मिडिया ट्रायल हो ? यदि हो भने त्यो पनि आएर सदनमा जवाफ दिनुपर्छ,’ उनले भनिन्, ‘सीमासम्बन्धी संवेदनशील विषयमा चिज खाएर कुनै जुत्ताको प्रचार गरेजस्तो गरेरे हिँड्नुभयो त्यसपछि हामीले देखेको छैनौँ । अभिव्यक्तिबारे प्रधानमन्त्रीले केही बोल्नुभएको छैन ।’
सांसद यादवले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको गतिविधिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि गरिन् । ‘सीमामा जे भइरहेको छ त्यसको जिम्मेवारी कसले लिने ? सुस्तामा एसएसबी आएर नेपाली नागरिकले धपाउनुपर्ने अवस्था आएको छ, त्यसको जवाफ कसले दिन्छ ? दार्चुलामा नेपाली आकाशमा हेलिकोप्टर आएर आफ्नो काम गरेर जान्छ, त्यसको जवाफ कसले दिन्छ ?,’ सांसद यादवले प्रश्न गरिन् ।




