आजको मिति: बुधबार, जेठ १३, २०८३
११:२० बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै|रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही गर्न आयाेगकाे सिफारिस|मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो|नयाँ कानुन बनाएर ओली लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्‌न नदिन आयोगको सिफारिस|जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस|जेन–जी आन्दोलनमा सेनाको भूमिका शंकास्पद, आयोगको अनुसन्धानमा पनि असहयोग|सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी र मानवीय क्षतिमा नेपाली सेनाको कमजोरी भएको ठहर|संविधानमा अधिकार, सडकमा तिरस्कार|‘जनप्रतिनिधिमा दम्भ र आर्थिक लोभ भए नागरिकमा वितृष्णा जाग्छ’|युट्युबसिं फत्तेले मौन वर्त तोडेपछि|

नेपालमा गरिबीको दर घट्यो, औसत आयु बढेर ७१.३ वर्ष पुग्यो

Infinite Scroll Ad

काठमाडौँ । मुलुकमा गरिबीको दरमा गिरावट आएको छ भने मानिसहरूको बाँच्ने औसत आयुमा वृद्धि भएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या घटेर २०.२७ प्रतिशतमा पुगेको छ। यसै गरी, बहुआयामिक गरिबी पनि घटेर १७.४ प्रतिशतमा सीमित भएको छ।

स्वास्थ्य सेवामा भएको सुधारसँगै नेपालीहरूको औसत आयु बढेर ७१.३ वर्ष पुगेको सर्वेक्षणले देखाएको छ। बुधवार सङ्घीय संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत सर्वेक्षणले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, बैंकिङ तथा पूर्वाधार क्षेत्रमा सुधार देखाए पनि कृषि क्षेत्रमा भने सुस्तता आएको प्रस्ट पारेको छ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा गैरकृषि क्षेत्रको योगदान बढ्दै जाँदा कृषि क्षेत्रको योगदान घट्दै गएको छ। विशेषगरी धान रोप्ने समयमा परेको खडेरी र भित्र्याउने बेलाको अत्यधिक वर्षाका कारण कृषि उत्पादन प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ।

Sidebar Premium Ad

चालू आर्थिक वर्षमा कृषि क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ, जुन गत वर्ष ३.०५ प्रतिशत थियो। यसै गरी, तराई क्षेत्रमा रोपाइँका बेला परेको खडेरी र भित्र्याउने समयमा भएको अत्यधिक वर्षाले गर्दा मुख्य खाद्यान्न बाली धानको उत्पादन यस वर्ष ४.१६ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ।

सामाजिक सूचकहरू र शिक्षातर्फ हेर्दा १५ देखि २४ वर्ष उमेर समूहका युवाको साक्षरता दर ९४.२ प्रतिशत पुगेको छ भने माध्यमिक तहको खुद भर्ना दर ५१.६ प्रतिशत रहेको छ। अर्कोतर्फ, सार्वजनिक संस्थानतर्फ आर्थिक वर्ष २०८१/८२ सम्म सञ्चालनमा रहेका ४५ संस्थानमध्ये २७ वटा मात्रै नाफामा रहेका छन् भने १६ वटा संस्थान घाटामा र २ वटा बन्द अवस्थामा छन्। गत वर्ष २८ वटा संस्थान नाफामा रहेका थिए। सरकारको सार्वजनिक संस्थानमा कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ, जसमा ३ खर्ब ७० अर्ब २५ करोड सेयर लगानी र ४ खर्ब २८ अर्ब ३१ करोड ऋण लगानी रहेको छ।

आर्थिक सर्वेक्षणका अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३६ लाख ४१ हजार पुगेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक आबद्ध भएका छन्। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६९ लाख नाघेको छ।

Sidebar Premium Ad

चालू वर्षमा मात्रै २ लाख ७३ हजारले नयाँ श्रम स्वीकृति र २ लाख ५१ हजारले पुनः श्रम स्वीकृति लिएका छन्। स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर घटेर प्रतिलाख जीवित जन्ममा १५१ मा झरेको छ भने बाल मृत्युदर ३१ रहेको छ। हाल २१ लाख ४८ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने सरकारी अस्पतालको सङ्ख्या ८ हजार ९७६ पुगेको छ।

पूर्वाधार तथा सञ्चारतर्फ देशभर सडक सञ्जाल १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। सञ्चार क्षेत्रमा टेलिफोन घनत्व १०३.२ प्रतिशत र इन्टरनेटको पहुँच १४५.७ प्रतिशत पुगेको छ। ऊर्जा क्षेत्रमा ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ भने कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ।

यसै गरी, भारततर्फ २ हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको सर्वेक्षणमा उल्लेख छ। उद्योग विभाग र लगानी बोर्डमार्फत चालू वर्षमा ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। पर्यटनतर्फ सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिने र उनीहरूको औसत बसाइ १६.३४ दिन पुग्ने अनुमान गरिएको छ।

Above Content Ad
Header Top Ad

बैंकिङ र वित्तीय क्षेत्रतर्फ फागुनसम्म बैंक तथा वित्तीय संस्थामा ६ करोड २० लाख निक्षेप खाता र २० लाख ४० हजार कर्जा खाता पुगेका छन्। मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या करिब ३ करोड पुगेको छ। वित्तीय सूचकमा निक्षेप ६.६४ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले वृद्धि भएको छ भने बैंकहरूको निष्क्रिय कर्जा अनुपात ५.४२ प्रतिशत पुगेको छ। सेयर बजारको कुरा गर्दा नेप्से परिसूचक २८२०.४५ बिन्दुमा पुगेको छ भने कुल बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। देशमा डिम्याट खाता खोल्नेको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसङ्ख्याको २६ प्रतिशत हुन आउँछ।

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *