सजन राई
दमक ।
झापाको दमक–३ स्थित हवल्दार चोकको एउटा घरमा ५९ वर्षीय गजेन्द्र देवान अचेल एक्लै भेटिन्छन् । ३० वर्षको एउटै सन्तान सात समुद्रपारि बेलायती सेनामा कार्यरत छन् । झण्डै अढाई वर्ष अगाडि ५१ वर्षको उमेरमा जीवनसंगिनी माया लिम्बूलाई अचानक आएको हृदयघातले सदाका लागि खोसेर लग्यो । हङकङमा जन्मेकी मायाले गजेन्द्रको फुटबल क्रेज हेरेरै आफूलाई सुम्पिएकी थिइन् । खेल जीवनको हरेक हिलो, आँसु र विजयमा सारथि बनेकी तिनै मायाको सम्झनामा गजेन्द्रले अहिले दमकमा ‘माया क्याफे’ चलाइरहेका छन् । आँखामा आँसु र मनमा दृढता बोकेर उनी चाँडै श्रीमतीको स्मृतिमा ‘माया स्मृति कप फुटबल प्रतियोगिता’ आयोजना गर्ने योजनामा छन् ।
जतिसुकै पारिवारिक उतारचढाव र एक्लोपन आओस्, गजेन्द्रको एउटा नशा कहिल्यै मरेन -त्यो हो फुटबल । खेलेर हुन्छ कि, कोचिङ गरेर हुन्छ या व्यवस्थापक बनेर, उनलाई मैदानमै रहनुछ । ५९ वर्षमा पनि उनी भेट्रान खेलाडीका रूपमा मैदानमै भेटिन्छन् । २१ वर्ष हङकङ बसेर फर्किएपछि पनि उनी भेट्रान खेलमा सहभागी भइरहन्छन् । यो उमेरमा पनि खेलप्रति उनको मोह उस्तै छ । दमक तेक्वान्दो दोजाङमा संस्थापक सल्लाहकार/ संरक्षक, दमक भेट्रान फुटबल क्लबको अध्यक्ष, दमक बक्सिङ क्लबको सुरुवातदेखि वरिष्ठ सल्लाहकार, दमक भलिबल प्रशिक्षण केन्द्रको अध्यक्ष (तर अहिले नाम पनि सुन्न मन नलाग्ने), तथा अन्य विभिन्न संघ संस्थामा आबद्ध भएर सक्रिय जीवन बिताइरहेका छन् ।

२०२४ भदौ ७ गते दमक–१ भाङबारीमा जन्मेका गजेन्द्रको बाल्यकाल अभाव र रहरको बीचमा बित्यो । भाङबारीमा रहेको भृकुटी प्राविको सानो मैदान, अनि कपडा र झुम्रो पोको पारेर बनाइएको ‘झुम्रोको गोल’ खेल्थे । यहीँबाट सुरु भएको थियो उनको मिडफिल्डर यात्रा । त्यस समय दमकमा फुटबलको माहोल तात्तिँदै थियो । दमक–१ का मीनबहादुर दर्लामी र दमक–३ का पुण्यप्रसाद ढुंगानाजस्ता अग्रज खेलाडीहरूको संगत गजेन्द्रले पाए । तिनै अग्रजको प्रेरणा र हौसलाले उनलाई फुटबलको औपचारिक मैदानतर्फ डो¥यायो । त्यसताका भाङबारी क्षेत्र स्थानीय फुटबल गतिविधिको केन्द्र नै थियो ।
‘त्यतिबेला दमक–६ पशुपति मन्दिरको पूर्वपट्टि विशाल खेल मैदान थियो, मन्दिरको एरिया निकै ठूलो थियो । त्यहाँ हामीले फुटबल प्रतियोगिता जितेका थियौँ,’ गजेन्द्र कक्षा ४ मा पढ्दाको समय स्मरण गर्छन्, ‘विजेता बनेपछि दमकको चर्चित ‘मामा होटल’ मा गएर पहिलोपटक कोकाकोला खान पाइएको थियो ।’
२०४० सालमा दमकका युवाहरू मिलेर ‘दमक युवा क्लब’ को जग बसाले, जसलाई २०४० सालमै औपचारिक रूपमा ‘दमक फुटबल क्लब’ का रूपमा दर्ता गरियो । तर, क्लब दर्ता भएर मात्र के गर्नु ? खेलाडीसँग न राम्रो बुट हुन्थ्यो, न त एउटै रङको जर्सी नै ।
‘४१ सालको कुरा हो । हामीसँग ड्रेस किन्ने पैसा थिएन । हामीले दमक बजारका प्रत्येक पसल–दोकानमा पुगेर ५÷५ रुपैयाँ चन्दा उठायौँ,’ गजेन्द्र पुराना दिन सम्झिँदै भावुक बन्छन्, ‘त्यसरी संकलन भएको पैसाले फुटबल ड्रेस किन्यौँ । अनि इलामको आम्बारी खेल मैदानमा गएर प्रतियोगिता जितेर फर्कियौँ ।’
त्यो बेला खेल जितेपछि बजारको ‘हाटखोला’ मा गएर थुक्पा खाने चलन थियो । हाटखोलाका व्यापारीहरू दमक फुटबल क्लब भनेपछि मरिहत्ते गर्थे, निकै माया र सहयोग गर्थे । २०४१ सालतिरै मेची अञ्चलको टोलीबाट खेल्ने अवसर पाउँदा टोलीका कप्तान युरोप राई र बागमतीका चर्चित खेलाडी रवि श्रेष्ठलगायतको प्रशिक्षणले गजेन्द्रको मिडफिल्ड पोजिसनमा निकै निखार आयो ।
टोलीमा कुमार प्रधान र धीरेन लावतीजस्ता अब्बल खेलाडीहरू सारथि थिए । २०४३ देखि त धिरेन लावतीले टोलीको कप्तानीको जिम्मेवारी नै गजेन्द्र देवानलाई सुम्पिदिए । उनले २०४३ देखि २०४७ सम्म सफलतापूर्वक दमक फुटबल क्लबको कप्तानी गरे ।
जब मृत्युको मुखबाट जोगिए…

त्यस जमानामा फुटबल खेल्नु आजको जस्तो विलासी र सुगम थिएन । न सुक्खा पिच बाटा नै थिए, न त खेलाडी ओसार्ने आरामदायी बसहरू । २०४० सालमा मोरङको कीर्तिपुरमा फुटबल जितेर दमक फर्कने क्रममा गाडी नपाएर खेलाडीहरू हिँड्न बाध्य भए । जाँदा बसमा गए पनि फर्कँदा हिँड्दै आउँदा दमक आइपुग्न बिहानको ३ बजेको थियो ।
सबैभन्दा डरलाग्दो घटना त २०४३ सालको साउनमा भयो । मधुमल्लामा फुटबल प्रतियोगिता थियो । टोलीका अन्य साथीहरू अगाडि नै गइसकेका थिए । गजेन्द्र एक्लै साइकल पेल्दै पछ्याउँदै थिए । बाटोमा पर्ने मावा खोलामा बाढी उर्लिएको थियो । खेल खेल्ने धुनमा उनले बाढीकै बीचबाट साइकलसहित खोला तर्न खोजे । तर मावाको तीव्र बहाव र उर्लँदो बाढीले उनलाई साइकलसहित झण्डै बगाएको थियो । ‘त्यस दिन कालै ओर्लिएको थियो, धन्न जोगिएर खेल खेल्न पुगेँ,’ उनी कठिन समय सम्झन्छन् ।
त्यस्तै रोचक यात्रा तत्कालीन दमक नगर पञ्चायतको ट्याक्टरमा हुन्थ्यो । ‘हामी नगर पञ्चायतको ट्याक्टरको ट्रलीमा कोचिएर गौरीगञ्ज, शिवगञ्ज, घैलाडुब्बा, पथरीलगायतका धेरै ठाउँमा खेल्न जान्थ्यौँ,’ देवान सम्झिन्छन्, ‘तत्कालीन प्रधानपञ्च बलभद्र अधिकारीले हामीलाई प्रत्येक खेलमा ५०० रुपैयाँ खाजा खर्च दिने गर्थे, जुन त्यो बेला ठूलो रकम थियो । अनि स्वर्गीय विजय लामाले प्रत्येक फाइनल खेल जितेबापत १,००० रुपैयाँ पुरस्कार दिने गर्थे ।’ यात्रका हण्डर यतिमा सकिँदैनन् । २०४४ सालमा शिवगञ्ज खेल्न जाँदा उनीहरू चढेको जिप हिलाम्मे बाटोमा नराम्ररी फस्यो । कतै क्रेन वा ब्याकहो लोडर आउने जमाना थिएन । टोलीका खेलाडीहरू सुन्दर धिमाल, सनबहादुर धिमाल, लक्ष्मी धिमाल, हस्तबहादुर दर्लामी, केशर मगर र मेघराज मगरसहितको टोलीले जिपलाई चारैतिरबाट उचालेर हिलोबाट बाहिर निकालेका थिए ।
त्यस्तै, २०४५ सालमा सुनसरीको इटहरीस्थित राधिका माविको मैदानमा खेलेर फर्कँदा बल्ल–बल्ल एउटा ट्रक पाइयो । तर, त्यो ट्रक राती ८ बजे बेलबारीको जंगल नजिकै बिग्रियो । निकैबेरको पर्खाइपछि राति १ः३० बजे मात्र अर्को ट्रक फेला प¥यो र टोली बिहानपख दमक ओर्लियो । सोही वर्ष पाँचथरको यासोकबाट फिदिम खेल्न जाने क्रममा लालीखर्कको कच्ची, हिलाम्मे र भीरको बाटोमा उनीहरू चढेको गाडी पल्टिनै लागेको थियो । फर्कँदा बाटो खराब भएर यासोकबाट रविमा बास बसी, २ दिन लगाएर टोड्के–कुसुण्डेको बाटो हुँदै दमक आइपुगेका थिए ।
अन्तर्राष्ट्रिय अनुभवः सिक्किमदेखि हङकङसम्म

गजेन्द्र देवानको खेल कौशल दमक र झापामा मात्र सीमित रहेन । २०४६ सालमा उनी प्रख्यात ‘झापा ११’ को टोलीबाट भारतको कालिम्पोङमा सिक्किमको टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेका थिए । खेल चलिरहेकै बेला अचानक एउटा अनौठो र डरलाग्दो दृश्य देखियो । पहाडको माथिल्लो भेगमा पार्किङ गरी राखिएको एउटा सानो ट्रक गुड्दै, पल्टिँदै सिधै खेल मैदानभित्र छि¥यो । मैदानमा भागदौड मच्चियो । धन्न, कसैलाई चोटपटक लागेन । पहाडी भेगमा गुड्ने सानो ट्रक भएकाले खेलाडी र दर्शक मिलेर त्यसलाई धकेलेर साइड लगाए र फेरि खेल सुचारु गरे । तर, सोही यात्राको अन्त्य दुःखद भयो; सिलिगुडी पुग्दा गजेन्द्रको पर्स चोरी भयो, जसमा तत्कालीन समयको ठूलो रकम भारु ६५ सय रुपैयाँ थियो । पर्स चोरी भएपछि उनीहरूको बिजोक नै भएको थियो ।
२०४७ सालमा गजेन्द्र रोजगारीका लागि कोरिया प्रस्थान गरे । ३ वर्ष कोरिया बस्दा पनि उनले फुटबललाई छाडेनन् । कम्पनीमा काम गर्दै त्यहाँका स्थानीय क्लबहरूसँग उनी मैदानमा उत्रिरहे । कोरियाबाट फर्केपछि २०५० सालमा उनको माया लिम्बूसँग विवाह भयो । विवाहको दुई वर्षपछि, अर्थात् २०५२ सालमा उनी हङकङ उडे । हङकङमा उनको फुटबल यात्राले थप व्यावसायिक रूप लियो । उनले त्यहाँ निरन्तर फुटबल खेले । हङकङको ‘ए डिभिजन’ खेलिसकेका कम्पनी म्यानेजर प्रेटिक वाङले गजेन्द्रको खेल देखेर उनलाई निकै हौसला दिए र सधैँ खेलमा जोडिरहे । त्यहाँ उनले रैथाने चिनियाँ (चाइनिज) खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । हङकङको बसाईकै क्रममा उनले एन्फाका पूर्वराष्ट्रिय खेलाडीहरू गणेश लिम्बू, किसान मगरलगायतसँग पनि सँगै फुटबल खेल्ने अवसर पाए ।
गजेन्द्र र उनको टोलीले हङकङमा केवल फुटबल मात्र कर्निक गरेनन्, नेपाली खाना र संस्कृतिको प्रवद्र्धन पनि गरे । नेपाली परिकारहरूलाई चिनियाँ नागरिकहरूमाझ लोकप्रिय बनाउन उनीहरूले ठूलो भूमिका खेले । ‘हामीले हङकङमा चाइनिजहरूलाई सेलरोटी, याङ्बेन (झ्याउ र सुँगुरको आन्द्रा, रक्ती मिसाएर बनाइने परिकार), भटमास–गुन्द्रुक, वाचिपा (किरात समुदायको परिकार) हरु खुवायौँ,’ गजेन्द्र गर्वका साथ भन्छन्, ‘ती चिनियाँहरू नेपाली परिकार भनेपछि औधी मन पराउँथे र मरिहत्ते गर्थे ।’
त्यो बेलाको र अहिलेको दमकको खेलकुद
आफ्नो बैँस, रगत र पसिना मैदानमा बगाएका गजेन्द्र देवान वर्तमान दमकको खेलकुद अवस्था देखेर निकै चिन्तित र आक्रोशित छन् । कुनै समय दमक नगर पञ्चायतले पशुहाट क्षेत्रलाई खेल मैदानका रूपमा संरक्षण गरेको थियो र वार्षिक ६० हजार रुपैयाँ बजेट खेलकुदका लागि मात्र छुट्याउँथ्यो । १९ वटा वडाबाट खेलाडी छानेर ‘दमक फुटबल क्लब’ बनाइएको थियो, जसको क्रेज गाउँदेखि सहरसम्म अद्भूत थियो ।
२०४३ सालमा हिमालय माध्यमिक विद्यालय (हिमावि) मा प्रशिक्षकका रूपमा छोटो समय काम गर्दा उनले हरि खरेल र चन्द्र श्रेष्ठजस्ता उत्कृष्ट खेलाडी उत्पादन गरेका थिए । आफैँ पनि २०४४ सालमा दमक फुटबल क्लबद्वारा आयोजित जिल्ला स्तरीय प्रतियोगितामा र २०४५ सालमा काँकडभिट्टामा भएको जिल्ला स्तरीय खेलमा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भएका थिए ।
तर, आज दमक खेलकुदमा पछाडि पर्दै गइरहेको उनको बुझाइ छ । ‘यसमा स्थानीय सरकार र खेलकुद समितिको चरम कमजोरी देख्छु,’ देवान भन्छन्, ‘पदक विजेता र पुराना खेलाडीहरूलाई सम्मानसहित राज्यले केही न्यूनतम सेवा–सुविधा दिने हो भने आजका युवाहरूको विदेश पलायन रोकिने थियो । सरकारले खेलाडी व्यवस्थापन चुस्त बनाउन सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दमक नगरले पदकको बाढी ल्याउन सक्छ ।’




