आजको मिति: बिहिबार, जेठ २१, २०८३
१२:२५ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

फुटबल ‘गुरु’ कुमार गिरी

झुम्राको बलदेखि राष्ट्रिय खेलाडी उत्पादनसम्मको यात्रा

Infinite Scroll Ad

सजन राई

दमक । भनिन्छ, खेल जीवन केवल खेल मात्र होइन, यो त निरन्तरको साधना, कठोर संघर्ष र एउटा सपनाको यात्रा हो । झापा, दमक–३ का चन्द्रकुमार गिरी (कुमार) को जीवन पनि यस्तै परिभाषाभित्र समेटिएको छ । बाल्यकालमा कपडा र झुम्राको गोललाई पछ्याउँदै सुरु भएको उनको फुटबल यात्रा आज नेपाली फुटबलका लागि ‘खेलाडी उत्पादन गर्ने कारखाना’ को रूपमा परिणत भएको छ । झापा ११ का पूर्वस्थापित खेलाडी कुमारले फुटबल कोचिङतर्फ ‘एन्फा एएफसी बी डिप्लोमा’ गरेका छन् ।

११ असार ०४१ मा दमकमा जन्मिएका कुमार गिरीको बाल्यकाल अन्य गाउँले बालकहरूको जस्तै सामान्य थियो । तर, उनको खुट्टामा एउटा बेग्लै जादू र मनमा फुटबलप्रतिको अमिट तिर्सना थियो । त्यो समयमा आजको जस्तो आधुनिक र गुणस्तरीय फुटबल पाउनु त परको कुरा, छालाको सामान्य बल भेट्टाउनु पनि ठूलै भाग्यको कुरा हुन्थ्यो । ‘हामी पुराना कपडा र झुम्रालाई बाँधेर गोलो बनाउँथ्यौँ र त्यसैलाई फुटबल मानेर दिनभरि कुद्थ्यौँ,’ गिरी त्यो समय सम्झन्छन् ।

Sidebar Premium Ad

दमक–३ गोलाटारमा रहेको जनज्योति प्राथमिक विद्यालयको खेलमैदान नै उनको पहिलो रंगशाला बन्यो । गाउँका दौँतरीहरूसँग टोली बनाउने, छिमेकी गाउँका टिमहरूसँग भिड्न जाने र फुटबलकै लागि दौडधुप गर्ने उनको दैनिकी थियो । पछि उनीहरूले ‘गोलाटार युवा क्लब’ गठन गरेर स्थानीयस्तरका प्रतियोगिताहरूमा भाग लिन थाले । उनको जीवन र खेलले तब नयाँ मोड लियो, जब उनी कक्षा ६ र ७ को अध्ययनका लागि मोरङको मधुमल्लास्थित मनोहरा जनता माध्यमिक विद्यालय भर्ना भए । मधुमल्ला त्यसै पनि फुटबलको उर्बर भूमि । त्यहाँ दिनहुँजसो फुटबल प्रतियोगिता भइरहन्थे र फुटबल खेल्ने युवाहरूको भिड हुन्थ्यो । त्यही वातावरणले गिरीलाई व्यावसायिक रूपमा फुटबलमा लाग्न प्रेरित गर्यो । उनले त्यहाँ ‘गिरी टिम’ र ‘मधुमल्ला युवा क्लब’बाट खेल्दै आफ्नो खेल कौशललाई थप तिखार्ने मौका पाए ।

गाउँमा खेल्दाखेल्दै कुमारले स्थानीय सिनियर दाइहरूको खेललाई नजिकबाट नियाल्न थाले । विशेषगरी इन्द्रमणि निरौला र फौद धिमालजस्ता फुटबलका हस्तिहरूको मैदानभित्रको जादूमयी प्रदर्शन देखेपछि उनलाई लाग्यो, ‘मेरो जीवनको बाटो नै फुटबल हो, मैले यही क्षेत्रमा केही गर्नुपर्छ ।’

०६० साल उनको खेल जीवनको एउटा कोशेढुंगा सावित भयो । स्थानीय र वडास्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उनी निरन्तर ‘म्यान अफ द म्याच’ भइरहन्थे । उनको यही उत्कृष्ट लय र प्रतिभालाई देखेर दमकको प्रख्यात क्लब ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ले कुमारलाई आफ्नो टोलीमा आबद्ध ग¥यो । ध्रुवतारामा आबद्ध भएपछि उनको खेलले क्षेत्रीय र राष्ट्रिय स्तरमा चर्चा पाउन थाल्यो ।०६३ साल उनीसँगै क्लबको लागि पनि ऐतिहासिक वर्ष बन्यो । ‘इस्टर्न एन्फा च्याम्पियनसिप’ मा ध्रुवतारा स्पोर्टिङ क्लबको तर्फबाट खेल्दै टिमले जिल्ला विजेता, मेची अञ्चल विजेता हुँदै पूर्वाञ्चलकै च्याम्पियन बन्ने गौरव प्राप्त गर्यो । सुनसरीको दुहबीमा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगिताको फाइनल जितेर उनीहरूले उपाधि चुमेका थिए । ‘त्यो बेला विजेता पुरस्कार राशि १ लाख रुपैयाँ थियो । आजको करोडौँ बराबरको खुसी र गर्व हामीलाई त्यो एक लाख र ट्रफीले दिएको थियो,’ गिरी विगत सम्झँदै भावुक बन्छन् ।

Sidebar Premium Ad

मोफसलमा आफ्नो पहिचान बनाइसकेपछि कुमारको यात्रा देशको राजधानी काठमाडौँतर्फ सोझियो । ०६३ सालको अन्तिमतिर उनी काठमाडौँ पुगे र ‘हिमालयन शेर्पा क्लब’ बाट ‘सी क्वालिफाइङ’ को खेलहरू खेले । काठमाडौंको बसाइ र व्यावसायिक फुटबलले उनको आँखा खोलिदियो । ‘पहिले गाउँमा सिनियर दाइहरूले आफ्नै शैलीमा फुटबल खेल्न सिकाउनुभएको थियो,’ उनी भन्छिन्, ‘तर, काठमाडौंमा अनुभवी र व्यावसायिक प्रशिक्षकहरूको प्रशिक्षण पाएपछि मात्रै मैले वास्तवमा फुटबल के हो र यसको रणनीति कसरी बुझ्ने भन्ने कुरा गहिराइबाट थाहा पाएँ ।’ तर, नेपाली फुटबलको एउटा तितो यथार्थ– अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवाद उनको अगाडि तगारो बनेर उभियो । ०६३ सालपछि एन्फाको आन्तरिक कलहका कारण देशकै प्रतिष्ठित ‘ए’ डिभिजन लिग रोकियो ।

काठमाडौंमा लिग रोकिएपछि उनी पुनः दमक फर्किए । दमक फर्किए पनि उनको फुटबलप्रतिको सक्रियता घटेन । त्यस समयका चल्तीका स्थानीय क्लबहरू जस्तैः भाङबारी ब्वाइज फुटबल क्लब, गोर्खा स्पोर्टिङ क्लब र ध्रुवतारा स्पोर्टिङ क्लबमा उनले कप्तानको भूमिका निर्वाह गर्दै टोलीलाई धेरै प्रतियोगिताबाट उपाधि दिलाए । ०६६÷६७ मा जब ‘ए’ डिभिजन लिग पुनः ब्युँतियो, कुमार फेरि काठमाडौं हानिए । पूर्वेली सिनियर खेलाडी दाइहरूको माध्यमबाट सेलेक्सन गेम (छनोट खेल) खेल्दै उनी ‘जावलाखेल युथ क्लब’ मा आबद्ध भए, र प्रतिष्ठित लिग खेले । त्यसको दुई वर्षपछि, अर्थात् २०६८ सालमा उनले ‘सरस्वती युथ क्लब’ बाट ‘ए’ डिभिजन लिग खेल्दै नेपाली फुटबलको सर्वोच्च तहमा आफ्नो प्रतिभा प्रदर्शन गरे ।

नेपाली फुटबलमा मोफसलको ‘पावरहाउस’ मानिने ‘झापा ११’ को चर्चा गर्दा कुमारको नाम अग्रपंक्तिमा आउँछ । ०७० पछि एन्फाको आन्तरिक विवादका कारण पुनः लिग ठप्प भयो । खेलाडीहरू बेरोजगार र निराश भइरहेका बेला एन्फाले राष्ट्रिय स्तरको ‘एन्फा कप’ आयोजना ग¥यो । कुमार झापा ११ को टोलीमा समेटिए । उनको उत्कृष्ट डिफेन्सिभ र मिडफिल्ड खेलको मद्दतले झापा ११ ले प्रतिष्ठित ‘एन्फा कप’ को उपाधि जित्यो ।

Above Content Ad
Header Top Ad

अर्को वर्ष पनि लिग हुन सकेन । तर, एन्फाले ‘राष्ट्रिय लिग’ को आयोजना ग¥यो । झापा ११ का लागि त्यो स्वर्ण युग थियो । कुमारले झापा ११ को जर्सीमा देशका ठूला–ठूला रंगशालाहरूमा घरेलु र राष्ट्रिय टोलीका खेलाडीहरूसँग कडा प्रतिस्पर्धा गरे । झापा ११ बाट उनले मोफसलका दर्जनौँ ठूला ‘गोल्डकप’ खेले, र झापालाई फुटबलको हब बनाउन महत्वपूर्ण योगदान दिए ।

खेलाडीबाट ‘गुरु’सम्मको यात्रा
उमेर र समयको गतिसँगै मैदानमा खेलाडीका रूपमा दौडने क्रम विस्तारै कम हुँदै गए पनि फुटबलप्रतिको उनको मोह अलिकति पनि घटेको थिएन । उनले फुटबललाई फरक भूमिकामा निरन्तरता दिने निर्णय गरे– त्यो थियो प्रशिक्षण । ०७३ सालमा उनले ‘सी कोचिङ कोर्स’ सफलतापूर्वक पास गरी आधिकारिक लाइसेन्स प्राप्त गरे । त्यसपछि उनले दमकका स्थानीय क्लब र युवा टोलीहरूलाई प्रशिक्षण दिन थाले । उनको सिकाउने शैली, अनुशासन र फुटबलको रणनीतिक ज्ञान उत्कृष्ट थियो । आफ्नो ज्ञानलाई थप परिष्कृत गर्न उनले ०७८ मा कडा मिहिनेतका साथ ‘एन्फा एएफसी बी डिप्लोमा कोचिङ कोर्स’ उत्तीर्ण गरी उच्चस्तरको लाइसेन्स प्राप्त गरे ।

गिरीको जीवनको सबैभन्दा ठूलो र ड्रिम प्रोजेक्ट भनेकै ‘दमक फुटबल एकेडेमी’ हो । स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाहरूलाई सही बाटो देखाउन र उनीहरूलाई व्यवसायिक बनाउन उनले ०७५ सालदेखि दमक–३ स्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदानबाट एकेडेमीको सुरुवात गरे । सुरुवाती दिनहरू निकै कष्टकर थिए । भौतिक पूर्वाधारको अभाव, खेल सामग्रीको कमी र आर्थिक स्रोतको सीमितताका कारण एकेडेमीलाई आधिकारिक रूपमा दर्ता गर्न लामो समय लाग्यो । तर, गिरीले हिम्मत हारेनन् । अन्ततः ०८१ सालमा एकेडेमीले आधिकारिक दर्ता प्रक्रिया पूरा ग¥यो । हाल यो एकेडेमी ‘दमक बहुमुखी क्याम्पस’ को खेल मैदानमा सञ्चालित छ ।

सुरुमा जुनियर टिमहरूलाई मात्र प्रशिक्षण दिने गरिएको यस एकेडेमीमा अहिले सिनियर खेलाडीहरू मात्र छन् । हरेक दिन बेलुकीको समयमा २० देखि २५ जना उदीयमान खेलाडीहरू कुमारको निगरानीमा पसिना बगाउँछन्, फुटबलका आधुनिक रणनीतिहरू सिक्छन् र राष्ट्रिय खेलाडी बन्ने सपना बुन्छन् । उनको यो एकेडेमी एउटा तालिम केन्द्र मात्र होइन, यो त नेपाली फुटबलको भविष्य निर्माण गर्ने थलो बनेको छ । यसै एकेडेमीमा कडा प्रशिक्षण लिएर निस्किएका खेलाडीहरूले आज देशको नाम ‘रोशन’ गरिरहेका छन् । वर्तमान राष्ट्रिय टोलीका भरपर्दा खेलाडी योगेश धिमालसहित गौरव धिमाल, किस्मत लिम्बू, र आशिष लावतीजस्ता उदयीमान खेलाडीहरू कुमारकै उत्पादन हुन् ।

यसबाहेक एकेडेमीका दर्जनौँ खेलाडीहरूले अहिले नेपालको ए, बी र सी डिभिजन लिग खेलिरहेका छन् । ‘उहिले र अहिलेको फुटबलमा आकाश–जमिनको फरक छ,’ गिरी भन्छन्, ‘हाम्रो पालामा दमक ३ बाट साइकल पेलेर, धुलो उडाउँदै इटाभट्टा स्कूलको मैदानमा खेल्न पुग्थ्यौँ । न राम्रो जुत्ता हुन्थ्यो, न डाइटको व्यवस्था । तर, अहिलेका खेलाडीहरूलाई धेरै सुविधा छ । राम्रो मैदान, खेल सामग्री र प्रविधि उपलब्ध छ । मात्र खेलाडीमा अनुशासन र दृढ इच्छाशक्ति हुन जरुरी छ ।’

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *