आजको मिति: बिहिबार, जेठ २१, २०८३
१२:२२ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

‘जनताको अपेक्षा ठूलो छ, तर स्रोत सीमित छ’

Infinite Scroll Ad

झापा जिल्लाको गौरादह नगरपालिका–१ का वडाअध्यक्ष नगेन्द्र भण्डारी नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भई हाल वडाको नेतृत्व सम्हालिरहेका भण्डारीसँग साप्ताहिक बहसले विकास, उपलब्धि, चुनौती र आगामी योजनाका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

गौरादह नगरपालिका–१ को वर्तमान अवस्था कस्तो छ ?

हामी अहिले चालु आर्थिक वर्षका योजनाहरू सम्पन्न गर्ने अन्तिम चरणमा रहेका छौं । अधिकांश योजनाहरू सम्पन्न भइसकेका छन् भने केही योजनाहरू अन्तिम चरणमा छन् । प्रदेश सरकारबाट पछिल्लो चरणमा प्राप्त भएका मठ–मन्दिर तथा सडक निर्माणसम्बन्धी केही योजनाहरू सम्पन्न हुन बाँकी छन् ।

यसैबीच, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी पनि भइरहेको छ । चालु आर्थिक वर्षमा हाम्रो वडामा विभिन्न सडक तथा केही भवन निर्माणका योजनाहरू ठेक्का प्रक्रियामार्फत अघि बढाइएका थिए । तर पछिल्लो समय बजेटको मूल्य व्रिद्वी कारण ठेकेदारहरूले निर्माण कार्यलाई अपेक्षित गतिमा अगाडि बढाउन सकेका छैनन् ।

Sidebar Premium Ad

वडा कार्यालयको तर्फबाट आवश्यक पहल, समन्वय तथा पत्राचारका माध्यमबाट समस्या समाधानको प्रयास भइरहेको भए पनि अपेक्षित रूपमा काम अगाडि बढ्न सकेको छैन । यद्यपि, बाँकी योजनाहरू समयमै सम्पन्न गराउन हामी निरन्तर प्रयासरत छौं ।

संघीयता कार्यान्वयनपछिको दोस्रो कार्यकालका लागि पनि तपाईंले वडाको नेतृत्व गरिरहनुभएको छ । पहिलो कार्यकाल र दोस्रो कार्यकालबीच के–कस्ता फरक अनुभव गर्नुभएको छ ?

पहिलो कार्यकालमा हामी नयाँ भएकाले स्थानीय सरकार सञ्चालन, योजना व्यवस्थापन तथा विकास निर्माणका कामबारे अनुभव अपेक्षाकृत कम थियो । त्यस अवधिमा काम गर्दै जाँदा धेरै अनुभव हासिल गर्यौं र स्थानीय तहको कार्यप्रणालीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भयो ।

Sidebar Premium Ad

दोस्रो कार्यकालमा भने ती अनुभवका कारण काम गर्न निकै सहज भएको छ । पहिलो कार्यकालमा प्रदेश र संघीय सरकारसँग समन्वय गरी योजना माग गर्ने, आवश्यक पहल तथा लबिङ गर्ने कार्यमा केही कठिनाइहरू थिए । तर दोस्रो कार्यकालमा अनुभव र सम्बन्ध विस्तारका कारण धेरै योजनाहरू वडामा भित्र्याउन सफल भएका छौं ।

सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा पनि पहिलो कार्यकालका सिकाइ र अनुभवहरूले दोस्रो कार्यकालमा प्रभावकारी रूपमा काम गर्न सहयोग पुगेको छ । त्यसकै परिणामस्वरूप दोस्रो कार्यकालमा विकास निर्माणका धेरै योजनाहरू सफलतापूर्वक सम्पन्न गर्न सकेका छौं र जनअपेक्षा अनुरूपका कामहरूलाई अघि बढाउन सहज भएको छ ।

तपाईं दुई कार्यकालदेखि वडाअध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ र दोस्रो कार्यकाल पनि अन्तिम वर्षमा पुगेको छ । वडाको नेतृत्व गरेको झण्डै १० वर्षको अवधिमा तपाईंले हासिल गरेका प्रमुख उपलब्धिहरू के–के हुन् ?

Above Content Ad
Header Top Ad

झण्डै १० वर्षअघि वडाको नेतृत्व सम्हाल्दा धेरै गाउँ–बस्तीमा सवारीसाधन पुग्ने अवस्था थिएन । पुल तथा कल्भर्टको अभावका कारण वर्षायाममा आवतजावतमा ठूलो समस्या हुने गर्दथ्यो । अहिले अधिकांश आवश्यक पुल तथा कल्भर्ट निर्माण भइसकेका छन् र वर्षायाममा पनि यातायात सञ्चालनमा अवरोध हुने अवस्था छैन ।

सडक पूर्वाधारतर्फ करिब ९० प्रतिशत सडक उच्चस्तरीय ग्राभेल गरिएको छ भने मुख्य सडकहरूमध्ये ८० प्रतिशतभन्दा बढी कालोपत्रे भइसकेका छन् । यस वर्षका बाँकी सडक योजनाहरू पनि सम्पन्न हुने चरणमा छन् ।

स्वास्थ्य, शिक्षा र धार्मिक पर्यटनका क्षेत्रमा पनि उल्लेखनीय काम भएका छन् । वडामा १५ शैयाको अस्पताल निर्माणाधीन छ, विद्यालयहरूमा नयाँ भवन निर्माण भएका छन् र गौरादह बजारको सौन्दर्यीकरण गरिएको छ । गोपेश्वर कृष्णे गंगाघाटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम अघि बढिरहेको छ । साथै, मठमन्दिरहरूको पूर्वाधार विकास, नदी नियन्त्रण तथा जोखिमयुक्त क्षेत्रमा तारजाली गर्ने जस्ता कामहरू पनि सम्पन्न भएका छन् ।

विगतमा स्थानीय, प्रदेश र संघीय सरकारबाट उल्लेख्य योजनाहरू ल्याउन सफल भए पनि पछिल्लो समय संघीय सरकारसँगको समन्वय अपेक्षाअनुसार हुन सकेको छैन । संघीय बजेटमा हाम्रो क्षेत्रका योजनाबारे समेत स्पष्ट जानकारी प्राप्त नभएकाले केही पछि परेको अनुभूति भएको छ । यद्यपि, प्रदेश सरकार र नगरपालिकासँगको सहकार्यमा बाँकी रहेका प्रमुख योजनाहरू सम्पन्न गर्ने तयारीमा छौँ ।

स्थानीय सरकारसँग उपलब्ध बजेट र स्रोत–साधनका आधारमा नागरिकका अपेक्षाहरू पूरा गर्न कत्तिको सकिन्छ ?

नागरिकका अपेक्षाहरू स्थानीय तहको बजेटले मात्र पूरा गर्न सम्भव हुँदैन । त्यसका लागि प्रदेश र संघीय सरकारसँग निरन्तर समन्वय, पहल र लबिङ गर्नुपर्छ । अहिलेसम्म हामीले प्रदेश सरकारबाट उल्लेख्य योजनाहरू प्राप्त गर्न सफल भएका छौँ भने संघीय सरकारबाट पनि विभिन्न महत्वपूर्ण योजनाहरू वडामा ल्याउन सकेका थियौँ ।

योजना निर्माण, लागत अनुमान (स्टिमेट) तयारीदेखि सम्बन्धित निकायमा फाइल लिएर पुग्ने र आवश्यक पहल गर्ने काममा म स्वयं सक्रिय रूपमा लाग्दै आएको छु । त्यसकै परिणामस्वरूप वडामा धेरै विकास निर्माणका योजनाहरू भित्र्याउन सफल भएका छौँ ।

अब यो कार्यकालको एक आर्थिक वर्ष बाँकी छ । तर संघीय सरकारबाट हामीले अपेक्षा गरेका योजना तथा बजेट प्राप्त हुने सम्भावना हाल कम देखिएको छ । यद्यपि, प्रदेश सरकारसँग निरन्तर समन्वय र पहल गरिरहेका छौँ र बाँकी रहेका आवश्यक योजनाहरू सम्पन्न गर्ने प्रयास जारी रहनेछ ।

कृषि क्षेत्रमा वडाले के–कस्ता कामहरू गरेको छ ?

कृषि क्षेत्रमा हामीले किसानहरूलाई पशुधन सुरक्षाका लागि गोठमै पुगेर पशु बिमा कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएका छौँ । साथै, प्रगतिशील कृषकहरू छनोट गरी मकै, टमाटर लगायतका बाली प्रवर्धन कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न उनीहरूको फर्महरूलाई अनुदान, सीप र ज्ञान प्रदान गरी कृषि उद्यम स्थापना गर्न सहयोग गरिएको छ । किसानहरूलाई मिनी ट्रेलर, पावर ट्रेलर, स्प्रे ट्याङ्की, टनेल, उन्नत बीउबीजन लगायतका कृषि उपकरण तथा सामग्री वितरण गर्दै प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

त्यसैगरी, खर्बुजा खेतीलाई पनि विशेष प्रोत्साहन दिइएको छ, जसले बाहिरबाट आउने खर्बुजाको आयात घटाई स्थानीय उत्पादनलाई बढावा दिएको छ । कृषिजन्य उत्पादन भण्डारणका लागि २२०० टन क्षमताको मिनी कोल्ड स्टोर स्थापना गरी सञ्चालनमा ल्याइएको छ, जुन नगरपालिकाको ८५% र सहकारीको १५% साझेदारीमा सञ्चालन भइरहेको छ ।

सिँचाइका लागि हरेक वर्ष भूमिगत सिँचाइ मोटरहरू वितरण गर्दै कृषकहरूको उत्पादन वृद्धि र आत्मनिर्भरता बढाउने काम भइरहेको छ ।

लक्षित वर्गको जीवनस्तर उकास्न के–कस्ता कार्यक्रम तथा कामहरू भएका छन् ?

लक्षित वर्गको जीवनस्तर उकास्न वडाले निरन्तर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । लक्षित समूहहरू छनोट गरी उनीहरूलाई ड्राइभिङ, अटो/सिटी रिक्सा सञ्चालन, सिलाइ–बुनाइ तथा घरमै बसेर गर्न सकिने विभिन्न सीपमूलक तालिमहरू प्रदान गरिएको छ । साथै विभिन्न गोष्ठीहरू आयोजना गर्नुका साथै केही स्थानमा आवश्यक उपकरणहरू समेत वितरण गरिएको छ ।

तर, हाम्रो मात्र पहलले मात्र नपुग्ने रहेछ । यस्ता कार्यक्रमहरूको अपेक्षित प्रभाव भने अझै पूर्ण रूपमा देखिन सकेको छैन । सीप र तालिम प्राप्त गरे पनि त्यसलाई व्यवहारमा प्रयोग गर्ने इच्छाशक्ति केही हदसम्म कम देखिएको छ, जसले गर्दा कार्यक्रमको प्रभावकारितामा चुनौती देखिएको छ ।

तथापि, वडाको तर्फबाट निरन्तर सीप विकास, तालिम तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् र लक्षित वर्गलाई आत्मनिर्भर बनाउन निरन्तर प्रयास जारी रहनेछ ।

निर्वाचनका समयमा तपाईंले गरेका प्रतिबद्धताहरू कति हदसम्म पूरा गर्न सक्नुभयो ?

निर्वाचनका बेला उठाएका दुई–तीन प्रमुख प्रतिबद्धताहरू अधिकांश रूपमा पूरा गर्न सफल भएका छौँ । वडा भित्रका मुख्य सडकहरू कालोपत्रे गर्ने योजना अनुसार धेरै सडकहरू सम्पन्न भइसकेका छन् भने बाँकी केही खण्डहरू अन्तिम चरणमा छन् ।

त्यसैगरी, वर्षायाममा समेत एम्बुलेन्स, शववाहन र दमकल सहज रूपमा सञ्चालन गर्न सकिने गरी पुल तथा कल्भर्ट निर्माणको काम पूरा भएको छ । सबै घरमा बिजुली बत्ती पुर्‍याउने लक्ष्य पनि पूरा भएको छ भने खानेपानीतर्फ करिब ८० प्रतिशत घरधुरीमा धारा जडान गर्न सफल भएका छौँ, विशेषगरी विपन्न परिवारलाई प्राथमिकतामा राखिएको छ ।

किश्ने खोला र गेउरिया खोलामा रहेका पुलहरू पनि निर्माणको अन्तिम चरणमा छन् । गौरादह बजारको व्यवस्थापन तथा सौन्दर्यीकरण, कृषि बजारको सुधार र सुविधासम्पन्न घाट निर्माणजस्ता कामहरू पनि सम्पन्न भइसकेका छन् र त्यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम जारी छ ।

जनताको अपेक्षा धेरै हुने भएकाले सबै ठाउँलाई समान रूपमा सन्तुष्ट पार्नु चुनौतीपूर्ण हुन्छ, तर प्राथमिकताको आधारमा योजनाबद्ध रूपमा विकास निर्माणका कामहरू अघि बढाउँदै प्रतिबद्धताहरू पूरा गर्ने प्रयास निरन्तर भइरहेको छ ।

जनप्रतिनिधिहरूको धेरै आलोचना हुनुको मुख्य कारण के हो ?

जनप्रतिनिधिहरूको आलोचना केवल हाम्रो क्षेत्रमा मात्र नभई देशभरकै सामान्य प्रवृत्ति हो । पछिल्ला समयमा सकारात्मकभन्दा नकारात्मक कुराहरू बढी हाबी हुने र सामाजिक सञ्जालमा तथ्य नबुझी तत्कालै टिप्पणी गर्ने प्रवृत्ति बढेको देखिन्छ । त्यसले गर्दा कहिलेकाहीँ वास्तविक अवस्था नबुझिकनै आलोचना र आरोप–प्रत्यारोप हुने अवस्था सिर्जना हुन्छ ।

जनप्रतिनिधिले जतिसुकै काम गरे पनि सबैलाई पूर्ण सन्तुष्ट पार्न कठिन हुन्छ । विशेषगरी रोजगारीको अपेक्षा बढी रहने भएकाले त्यसलाई पूरा गर्न चुनौती छ । कृषि हाम्रो प्रमुख आधार भए पनि उत्पादनको बजार ग्यारेन्टी र सरकारी नीतिगत सीमाका कारण अपेक्षाअनुसार रोजगारी सिर्जना गर्न कठिनाइ भएको छ ।

समग्रमा, विकास निर्माणका कामभन्दा पनि सामाजिक सञ्जालमा फैलिने नकारात्मक धारणा र सत्यतथ्य नबुझी गरिने टिप्पणीका कारण जनप्रतिनिधिहरू बढी आलोचनाको सामना गर्नुपरेको अवस्था छ । यद्यपि, हामीले सम्भव भएसम्म सबै क्षेत्रका समस्याहरू सम्बोधन गर्ने प्रयास निरन्तर गरिरहेका छौँ ।

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *