दमक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सभामुख डोलप्रसाद अर्यालको भूमिका पक्षपाती देखिएको भन्दै आलोचना गरेका छन् ।
एमालेले राजधानीमा बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा अमर्यादित वक्तव्य दिँदा सभामुख अर्यालले रुलिङ नगरेको भन्दै आलोचना गरेका हुन् ।
ओलीले प्रम बालेनको वक्तव्य बारे कटाक्ष गर्दै भने, ‘गाई कि त्रिशुलजस्तो गर्दा भवितव्यले एकछिन कोही प्रधानमन्त्रीमा आइपुग्यो भन्दैमा देशको बारेमा जथाभावी गर्न मिल्दैन, दिइँदैन ।’
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालेन र अर्यालविरुद्ध इंगित गर्दै भने, ‘यसबारे धेरै खेद गर्नुपर्ने कुराहरू छन् । म प्रतिपक्षी सांसदहरूलाई धन्यवाद दिन्छु, राष्ट्रियताका पक्षमा बोल्नुभएको छ । बोल्दा सुनिएन भनेर अलि माथि गएर बोल्नुभयो अरे, उनीहरूलाई कारबाही गर्ने अरे । देशद्रोही कुरा गरेर अर्काको भूमि त्यो पनि भारतजस्तो विशाल देशको भूमि धेरै ठाउँमा नेपालले मिचेको छ भनेर कसलाई के सबुत दिन खोजेको ?’
संसद्मा केही प्रतिपक्षी सांसदले अमर्यादित गतिविधि गरेको भन्दै सभामुख अर्यालले घटनाको छानबिन गर्न समिति गठन गरेपछि उनीविरुद्ध ओली आक्रोशित देखिएका छन् ।
एमाले फेरि शक्तिमा पुग्ने दावी गर्दै उनले चेतावनीको शैलीमा भने, ‘म जीव्रो चपाएर बोल्दिनँ, स्पष्ट भन्छु । एमाले अहिले धक्का खाएको होला फेरि उठ्छ । धक्का दिनेलाई फेरि धक्का दिन्छ । नेपालीको देशभक्ति भावना बलियो छ, म चेतावनी दिन चाहन्छु । अत्याचारको पराकाष्ठा हुँदैछ ।’
ओलीलाई गिरफ्तारीकै डर
एमाले अध्यक्ष ओलीले आफूलाई गिरफ्तार गर्न विभिन्न जालो बुनिएको भन्दै असन्तुष्टि पोखेका छन् । सरकारले पुनः अफूलाई पक्राउ गर्न लागेको भन्दै उनले गिरफ्तारीबाट नडराउने टिप्पणी गरेका छन् । ‘तपाईं जालो बुनेको बुन्यै हुनुहुन्छ त केपी ओलीलाई गिरफ्तार गर्न, गर्नुस् न यहीँ छु त । यस्ताहरूले खुट्टा ढ्यापढ्याप गर्दैमा देश छाडेर भागेर हिँड्ने मानिस होइन,’ उनले भने ।
प्रतिपक्षी सांसदहरूले पछिल्ला दिनहरुमा संसद्का कामकारबाहीमा अवरोध गरिरहेको घटनालाई जोडेर ओलीले ‘सशक्त भूमिका खेलेको’ भन्दै धन्यवाद दिएका छन् । अध्यक्ष ओलीले वर्तमानको संसद् अवरोधको घटनालाई राष्ट्रवादसँग जोडेर व्याख्या गरेका छन् ।




