उदयपुर।
त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ।
स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी बिरामी परेका हुन्।
शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना पकाएर खाएकी थिइन्। खाना खाएपछि शनिबार रातिदेखि नै परिवारका सदस्यहरूमा बान्ता हुने र बेहोस हुने जस्ता लक्षणहरू देखिएका थिए।
बिरामी परेलगत्तै आफन्त र छिमेकीहरूले उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएका थिए।
जिल्ला अस्पताल उदयपुरका अनुसार बिरामी परेका तीन जना बालबालिका (योगेश, यासिका र यशोदा) को उपचारपछि उनीहरू निको भएर घर फर्किसकेका छन्।
तर २३ वर्षीया हेमा बुढाथोकीको अवस्था भने चिन्ताजनक रहेको अस्पतालका प्रमुख डा. मुकेश झाले बताएका छन्।
जिल्ला अस्पतालमा थप उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगर पठाइएको डा. झाले जानकारी दिए।
हेमाका श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा देशबाहिर रहेका छन्। घरमा हेमा आफ्ना छोरा र दुई नन्दहरूसँग बस्दै आएकी थिइन्।


