गौरादह । झापाको गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटो छेउको पैनीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–५ मौलीबारी स्थायी घर भई विगत ७ वर्षदेखि गौरादह–२ लोदावारीमा छोरी सविना हस्दाको घरमा बस्दै आएका ६० वर्षीय बाबुराम हस्दा आइतबार साँझ पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा भेटिएका हुन् ।
स्थानीयले उनलाई देखेपछि जिउँदै छन् कि भनेर तत्काल पैनीबाट बाहिर निकालेका थिए । तर, हेर्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय चक्रबहादुर राई र शिरुलाल ताजपुरियासमेत पुगेका थिए ।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो । प्रहरीका अनुसार साँझ ६ः२५ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि उर्लाबारी मंगलबारे अस्पताल मोरङ पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


