माङसेबुङ ।
भनिन्छ, कुनै पनि जातिको अस्तित्व रक्षाका निम्ति भाषा र संस्कृतिको भूमिका निर्णायक हुन्छ । भाषा र संस्कृति बिना जाति केवल जैविक समूहमा परिणत हुन्छ, तर सांस्कृतिक–ऐतिहासिक पहिचान गुमाउँछ । समाजशास्त्रीय दृष्टिकोणले भाषा र संस्कृतिलाई जातिको केन्द्रीय तत्व मानेको छ ।
तर, कुनै पनि जाति एक्लैले आफ्नो भाषा, संस्कृति र पहिचानको जगेर्ना, प्रवद्र्धन गर्न सक्दैन । त्यसका निम्ति राज्य र सरकारले पनि सहयोग गर्नुपर्दछ । स्थानीय सरकारको दायित्वभित्र पर्ने भाषा, संस्कृति संरक्षणको कार्यलाई व्यवहार र अभ्यासमा उतारिएको उदाहरण हो, किरात याक्थुङ चुम्लुङ माङसेबुङको अगुवाईमा हुन लागेको एक दिने बृहत् केलाङ प्रदर्शन कार्यक्रम । जुन कार्यक्रम माङसेबुङ गाउँपालिकाको लागनीमा हुँदैछ ।
१६ जेठमा माङसेबुङ १ को गजुरमुखीमा केलाङ (च्याब्रुङ नाच) को संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको चुम्लुङ माङसेबुङ अध्यक्ष मनरस लिम्बू (बिपन) को भनाइ छ । ‘कार्यक्रम भव्य गरी सम्पन्न गर्ने हाम्रो तयारी छ । विशेषगरी इलाम र पाँचथरका सबै पालिका र वडाहरुबाट केलाङ टोली सहभागी गराउने तयारी हो,’ उनले भने, ‘केलाङ केवल नाच वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो । कार्यक्रममार्फत केलाङ संस्कृतिलाई विश्वव्यापीकरण गर्न मद्दत पुग्छ भन्ने अपेक्षा छ ।’
युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको लिम्बूको जिकिर छ ।
४ सयदेखि ५ सय संख्यामा के (च्याब्रुङ बाजा) सहित १ हजार कलाकारलाई कार्यक्रममा सहभागी गराउने लक्ष्यसहित तयारी भइरहेको कार्यक्रममा सामूहिक तथा छुट्टाछुट्टै केलाङ प्रदर्शन, सांस्कृतिक झाँकी, मौलिक भेषभूषा प्रदर्शनी, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायतको कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ छ । सो कार्यक्रमलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको चुम्लुङका सङ्घीय समिति सदस्य राम योङहाङले जानकारी दिए ।
‘केलाङ लिम्बू समुदायको साँस्कृतिक बाजा र नृत्य त हो नै । यो लिम्बू समुदायको उत्पत्तिसँग जोडिएको मुन्धुमी महत्वको बाजा पनि हो । त्यसैले यसको संरक्षण, प्रवद्र्धनसँगै पुस्तान्तरणको सवाल लिम्बू समुदायको पहिचान र अस्तित्वसँग जोडिएको विषय पनि हो,’ योङहाङले भने ।
संस्कृति संरक्षण र प्रवद्र्धनका लागि हुने कार्यक्रममा इलाम र पाँचथरका चुम्लुङकर्मी, लिम्बू अगुवा, कलाकार तथा सांस्कृतिक समूहहरूको सहभागिता रहने बताइएको छ ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले स्थानीय जातजातिको कला, संस्कृति र पहिचानको संरक्षण गाउँपालिकाको प्राथमिकतामा रहेको बताए । उनले यस्ता कार्यक्रमले समुदायमा सांस्कृतिक जागरण ल्याउनुका साथै माङसेबुङको सांस्कृतिक पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
माङसेबुङ गउँपालिकाका उपाध्यक्ष बिनोदकुमार नेम्बाङले पालिकाको सहयोगमा चुम्लुङले गर्न लागेको बृहत् केलाङ प्रदर्शनीले स्थ्यानीयस्तरमा मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने दावी गरे । कार्यक्रम सफल बनाउन सबै किसिमले आफूहरु लागि परेको नेम्बाङले बताए ।
माङसेबुङ वडा नम्बर १ का वडा अध्यक्ष भुपाल योङहाङले स्थानीयस्तरमा समुदायको संस्कृति संरक्षण र प्रवद्र्धनको कार्यक्रम आयोजना हुनु सकारात्मक भएको बताए ।
कार्यक्रमका लागि माङसेबुङ गाउँपालिकाले ७ लाख रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रमको व्यवस्थापनका लागि स्वेच्छिक सहयोगसमेत लिइएको आयोजकको भनाइ छ ।
इलामको माङसेबुङ गाउँपालिकाले आदिवासी लिम्बू जातिको भाषा र संस्कृतिको संरक्षण प्रवद्र्धनमा चासोका साथ कार्य गरेको अर्को पनि उदाहरण छ । लिम्बू जातिको बाहुल्यता रहेको पालिका भएकाले पनि माङसेबुङले लिम्बू जातिको भाषा र संस्कृतिको क्षेत्रमा बढी काम गरेको देख्न सकिन्छ । जेठ १२ गतेबाट पालिकाको कामकाजको भाषाका रूपमा लिम्बू भाषालाई प्रयोगमा ल्याउँदै गरेको माङसेबुङले संस्कृति प्रवद्र्धन र पुस्तान्तरणमा बृहत् केलाङ प्रदर्शन कार्यक्रमका लागि सहयोग गर्नुले पनि महत्व थपेको छ ।
पूर्वी नेपालका लिम्बू र याक्खा जातिले नयाँ घरमा प्रवेश गर्दा, बिहेलगायत शुभ कार्यमा अनिवार्य च्याब्रुङ (के) बजाएर नाच्ने गर्दछन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदायको बसोबास रहेको छ । बाँकी अन्य जातिका मानिसको बसोबास छ ।
पालिकास्तरीय केलाङ प्रतिस्पर्धा
बृहत् केलाङ प्रदर्शनी कार्यक्रमका बीच इलाम जिल्लाका विभिन्न १० वटा पालिकाबीच प्रतियोगितात्मक प्रतिस्पर्धा गराइने चुम्लुङका माङसेबुङ अध्यक्ष लिम्बूले बताए ।
सो प्रतियोगितामा प्रथम हुने केलाङ टोलीलाई नगद २० हजार रुपैयाँ, दोस्रो हुने टोलीलाई नगद १२ हजार रुपैयाँ र तेस्रो हुने टोलीलाई नगद ७ हजार रुपैयाँसहित पुरस्कृत गरिने आयोजकको भनाइ छ ।

