नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटमा कमजाेर चीनलाई २२१ रनले हराएकाे छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपालले दिएकाे ३१४ रनकाे लक्ष्य पछ्याएकाे चीन १९.२ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियाे ।
चीनका लागि शेन्जियान झङले ३१ रन बनाउनु बाहेक अन्यकाे प्रदर्शन राम्राे हुन सकेन ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । साेमपाल कामी र सन्दीप लामिछानेले समान २–२ तथा नन्दन यादवले १ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा २ विकेटकाे क्षतिमा ३१३ रन बनाएकाे हाे ।
नेपालका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ३५औँ बलमा १२ छक्का र ५ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा कुशलको दोस्रो शतक हो ।
भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी ४३ बलमा १२९ रन जाेडेर आउट भए ।
यस्तै, कुशल मल्लले नटआउट ८५ रनकाे याेगदान गरे । उनले ४७ बलमा ५ छक्का र ८ चाैका प्रहार गरे । राेहित पाैडेलले ७ छक्का र ५ चाैकाकाे मद्दतमा ६९ रन जाेडे । आशिफ शेख ११ रनमा आउट भए ।
चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १-१ विकेट लिए ।




