– सजन राई
दमक । एक समय थियो– जब गोल्डकपको मौसम सुरु हुन्थ्यो तब दमकमा फुटबलको उत्सव सुरु हुन्थ्यो । मैदान वरिपरि दशर्ककको भीड हुन्थ्यो र हुटिङले खेलाडीमा ऊर्जा थपिन्थ्यो । फुटबलप्रेमीको रोजाइमा थियो, दमक गोल्डकप । तर, चर वर्षदेखि ती दृश्य स्मृतिमा सीमित छन् । ०७८ सालमा अन्तिमपटक फुटबल प्रतियोगिता भएको मैदान छ, तर मैदानमा ठूलो प्रतियोगिता छैन ।
फुटबल पछिल्लो समय नेपाली युवामाझ स्वास्थ्य र मनोरञ्जनको साधनमा मात्र सीमित छैन । यो करियर निर्माणको माध्यम हो, सामाजिक पहिचानको आधार हो । तर, नेपालमा नियमित राष्ट्रिय लिगको अनिश्चितता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अभाव र दीर्घकालीन संरचनागत कमजोरीका कारण फुटबलमा भविष्य देखेका धेरै खेलाडी विदेश पलायन हुन बाध्य छन् । यस्तो अवस्थामा मोफसलका प्रतियोगिता—विशेषगरी गोल्डकपहरू—खेलाडीका लागि आशाको अन्तिम भ¥याङ हुन् । दमक गोल्डकप त्यही आशाको प्रतीक थियो । तर, दमकको पहिचानको रूपमा रहेको दमक गोल्डकप अहिले ‘मृत’ जस्तै छ । चार वर्षदेखि यो गोल्डकप इतिहासको पानामा सीमित भएको छ । दमक गोल्डकप रोकिनु केबल एउटा प्रतियोगिता बन्द हुनु मात्रै हैन । यो दमकको खेलकुद पहिचान कमजोर हुनु हो । गोल्डकपका बेला होटल व्यवसाय, यातायात, साना व्यापारी र अस्थायी रोजगारी चलायमान हुन्थे । हजारौँ दर्शकले सहरलाई जीवित बनाउँथे । दमकमा एउटा उत्सव नै हुन्थ्यो ।

झापाकै पुरानो गोल्डकप दमक गोल्डकपले छोटो समयमै राष्ट्रिय फुटबल वृत्तमा आफ्नो पहिचान बनाएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक क्यालेन्डरमा समावेश भएर खेलाइँदै आएको यो प्रतियोगिता अहिले सञ्चालनमा छैन । यसले दमकको खेलप्रतिको दृष्टिकोणलाई प्रष्ट बनाएको छ । हिजो एन्फाको क्यालेन्डरमा हुने दमक गोल्डकपले निरन्तरता नपाउँदा मोफसलको फुटबल प्रतियोगिताको निरन्तरतामाथि गम्भीर प्रश्न उठेको छ ।
दमकमा राम्रो रंगशाला छैन । खेलकुदका लागि राम्रो रंगशाला नभए पनि ०७८ सम्म दमक गोल्डकप सञ्चालन हुँदै आएको थियो । दमकमा धेरै विकास भएको चर्चा भए पनि राम्रो रंगशाला नहुँदा बाँसकै प्याराफिट निर्माण गरेर दमक गोल्डकप सञ्चालन हुँदै आएको थियो । बाँसकै प्याराफिटमा सञ्चालन भए पनि दमक गोल्डकप कुनै समयको झापाको प्रतिष्ठित र प्रभावशाली प्रतियोगिता हो । तर, जब यसको समित्व दमक नगरपालिकाले लियो, त्यसपछि भने यसको साख गिर्दो अवस्थामा पुग्यो । स्थानीय सरकारले सञ्चालन गर्न थालेपछि मैदानमा खेलभन्दा राजनीति धेरै भयो । पछिल्लो समय ०७८ मा अन्तिमपटक दमक गोल्डकप हुँदै गर्दा तीनै तहको निर्वाचन नजिकिँदै थियो । त्यसबेला यो प्रतियोगितामा प्रमुख अतिथि कसलाई बनाउने भन्ने विवाद उत्कर्षमा थियो । एउटा समूहले त बिहस्कार नै गरेका थिए । तसर्थ मैदानमा फुटबलभन्दा राजनीतिक खेल धेरै हुँदा दमक गोल्डकप ‘कोमा’मा गयो ।

०७५ सालदेखि दमक नगरपालिकाले दमक गोल्डकपको समित्व लिएर गोल्डकप ग¥यो । नगरपालिकाले समित्व लिएदेखि नै यसको व्यवस्थापन कमजोर हुँदै गएको थियो । दमक नगरपालिकाले ०७५ र ०७८ मा गरी दुईपटक यो प्रतियोगिता आयोजना ग¥यो । ०७८ सालमा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा सम्पन्न भयो । गोल्डकपमा नेपालका ‘ए’ डिभिजन क्लब, विभागीय टोलीसँगै भारत र अफ्रिकाका टोलीको सहभागिता रहनु मोफसल दमक गोल्डकपको असाधारण उपलब्धि थियो । त्यसबेला मनाङ मस्र्याङ्दी क्लबले विजेता बन्दै १३ लाख ११ हजार र उपविजेता बनेको नेपाल पुलिसले ६ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो । दमक गोल्डकप पनि अन्तिम समयको विजेता मनाङ मस्र्याङ्दी क्लबजस्तै बन्न पुग्यो । कुनैबेलाको ‘आइकनिक’ क्लब अहिले गुमनामजस्तै छ । देशभर तहल्का मच्चाउने क्लबको अहिले नामै सुनिँदैन ।
दमक गोल्डकपको हविगत पनि यस्तै बन्न पुग्यो । दमक गोल्डकप खेलाडीका सुरु हुँदा दमकका खेलाडीलाई ‘यहाँ खेलेपछि करियर खुल्छ’ भन्ने विश्वास बन्दै गएको थियो । तर, त्यो विश्वास लामो समय टिक्न सकेन ।
दुई पटक दमक गोल्डकपको समित्व लिएर गोल्डकप आयोजना गरेका ध्रुवतारा स्पोर्टिङ क्लब दमकका अध्यक्ष मोहन मगरले दमक नगरपालिकालाई समित्व दिएपछि प्रतियोगिता रोकिएको बताउँछन् । उनी नगरपालिका समित्व लिएपछि पनि दुईपटक नै खेल संयोजक बनेका थिए । दमक नगरपालिकाबाट फेरि स्वामित्व फिर्ता लिएर गोल्डकपलाई निरन्तरता दिने क्लबको योजना रहेको उनी बताउँछन् । ‘नगरपालिका र अन्य क्लबले आयोजना गर्दा धेरै फरक हुने रहेछ । नगरले गर्दा स्पोन्सर नपाइने समस्या, आजीवन सदस्य बन्न नमान्ने, नगरलाई कर तिरेकै छौँ भनेर गेट मनि तिर्न नखोज्ने समस्या छन्,’ उनी भन्छन्, ‘दमक गोल्डकप नहुँदा दमकको खेल गतिविधि ठप्पजस्तै छ । दमकको गरिमा बोकेको गोल्डकप रोकिनुले राम्रो सन्देश जादैन ।’
दमक नगर खेलकुद विकास समिति भने नगरपालिकाले बजेट विनियोजन गरे गोल्डकप गर्न तयार छ । तर, दमक नगरपालिकाले बजेट विनियोजन नगर्दा प्रतियोगिता हुन नसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष भिमराज चौलागाईंका बताउँछन् । ‘नगरले बजेट दिए त हामी गोल्डकप गर्न सक्षम छौँ । नगरले बजेट नदिएपछि समस्या भएको हो । अहिले त प्राइज मनि पनि दिएको छैन । नगरले प्राइज मनि मात्र दिने हो प्रायोजक खोजेर गोल्डकप आयोजना गर्ने थियौँ,’ उनले भने, ‘दमकमा गोल्डकपको लागि मैदानको पनि समस्या हो । मैदानकै समस्याको कारण पनि बीचमा गोल्डकप ग्याप भएको थियो । नगरले जिम्मा दिए हामी गोल्डकप गराउछौँ ।’

दमक नगरपालिकाले खेलकुदका लागि एकमुष्ट बजेट छुट्याए पनि दमक गोल्डकपकै नाममा स्पष्ट विनियोजन छैन । स्थानीय सरकार गोल्डकपप्रति सकारात्मक देखिए पनि दायित्व र स्वामित्वको स्पष्ट खाका नबनिनु समस्याको जड हो । नगर खेलकुद विकास समिति निस्कृय हुँदा प्रतियोगिता हुन नसकेको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई बताउँछिन् । यद्यपि गोल्डकप आवश्यक रहेको उनको बुझाइ छ । ‘खेलकुदको लागि हामीले एकमुष्ट रकम छुट्याएको हुन्छ । दमक गोल्डकपकै लागि भनेर चाहिँ छुट्याएको छैन । अहिले दमक नगर खेलकुद विकास समिति केही निष्कृयजस्तो देखिएको छ । समितिले प्रतियोगिता गराउन चाहेमा नगरपालिका सकारात्मक छ,’ उनले भने, ‘समितिले नगरे पनि कुनै संस्थाले नगरपालिकासँग समन्वय गरेर प्रतियोगिता गराउँदा राम्रो हुने थियो । यहाँका स्थानीय खेलाडीहरूले अवसर पाउने भएकोले पनि गोल्डकप गराउन आवश्यक छ ।’

घोषणा गरेको पुरस्कार नै दिइएन
०७८ सालमा अन्तिमपटक गोल्डकप गर्दाको पुरस्कार भने अझैसम्म वितरण भएको छैन । त्यसबेला पूर्वखेलाडी तथा आयोजक टिमका प्रशिक्षक कुमार गिरीलाई दिने भनेर घोषणा गरिएको लाइफटाइम अचिभमेन्ट अवार्डबाटको पूर्ण रकम अझै नपाएको गिरीको गुनासो छ । यसलाई नगरपालिकाको खेलकर्मीप्रति संस्थागत उदासीनताको प्रतीकका रूपमा लिन सकिन्छ । ‘पुरस्कार यमाहाको एक थान मोटरसाइकल बापत यमाहा सोरुमले २० प्रतिशत र प्रथम चुलाचुली कप ०७६ बाट २५ हजार, भाङबारी फुटबल क्लबबाट २५ हजार र ध्रुवतारा स्पोर्टिङ क्लबबाट २० हजार रुपैयाँ पाइसकेको हो,’ उनले भने, ‘नगरपालिका र भाइचुङ ग्रुपबाट भने आउन बाँकी छ । नगरपालिकालाई निवेदन दिएको छु । चाँडै पुरस्कारको रकम पाउने आश्वासन आएको छ ।’
