- सजन राई
दमक । नेपाली फुटबलको विकास गर्ने सर्वोच्च संस्था हुनुपर्ने हो, अखिल नेपाल फुटबल संघ (एन्फा) । तर, एन्फा खेलाडीको विकास र नेपाली फुटबलको उन्नयनको सट्टा फुटबलमा राजनीति गरेर खेल क्षेत्र ध्वस्त पारिरहेको छ । एन्फाभित्रको आन्तरिक कलहले खेलाडी पलायनको अवस्था सृजना भएको छ ।
नेतृत्व तहमा रहेको शक्ति संघर्ष, आर्थिक अपारदर्शिताको आरोप र गुटबन्दीले नेपाली फुटबलको सर्वोच्च निकाय थला परेको छ । हुँदै गरेका पुरुष र महिला राष्ट्रिय लिग रोकिएका छन् । अन्तिम चरणमा पुगेको पुरुष राष्ट्रिय लिग स्थगित भयो । सुरु भएर चारवटा खेल भएपछि महिला लिग पनि रोकियो । एन्फाले कारण देखायो, विदेशी खेलाडी । श्रम स्वीकृति नलिई खेल्न आएका र भिसा सकिएका विदेशी खेलाडीलाई अध्यागम विभागले कारबाही गर्ने चेतावी दिएको भन्दै लिग स्थगित भएको थियो ।
तर, यसको मूल कारण भने एन्फाको आन्तरिक कलह थियो । खेलाडीहरू शहीद स्मारक ए डिभिजन लिगको माग गर्दै आन्दोलनमा थिए । ०७९ जेठयता देशकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता ‘ए’ डिभिजन लिग हुन सकेको छैन । जसका कारण खेलाडीको आम्दानीको स्रोत गुमेको छ । खेलाडी पलायन हुन बाध्य छन् ।
एन्फाले न त समयमा शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन गर्न सकेको छ, न त मोफसलका प्रतियोगिताहरूलाई व्यवस्थित गर्ने ‘क्यालेन्डर’ नै बनाउन सकेको छ । एन्फामा चरम राजनीतिक खिच्चातानी भएपछि राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको छ । एन्फाका कारण खेलाडीले अन्तर्राष्ट्रिय खेल पनि गुमाइरहेका छन् ।
महिला फुटबलअन्तर्गत नेपालले थाइल्यान्डमा तय भएको फिफा सिरिज गुमाएको छ । सिरिज १२ अप्रिलदेखि थाइल्यान्डमा भइरहेको छ । ४ देश सहभागी सिरिजमा नेपालले १२ अप्रिलमा कंगोसँग खेल्ने तय थियो । सिरिजमा घरेलु टोली थाइल्यान्ड, नेपाल, कंगो र न्यु क्यालेडोनियाले प्रतिस्पर्धा गर्ने भनिएको थियो । फुटबलको सर्वोच्च निकाय फिफाको पूर्वनिर्धारित तालिकाअनुसार दोस्रो खेल नेपालले अप्रिल १५ मा हुने तालिका थियो । तर, एन्फा निलम्बनमा परेपछि प्रतियोगिताबाट नै नाम फिर्ता लिइयो ।
एन्फा राजनीतिक भूमरीमा फसे पनि मोफसले अहिले फुटबलको साख जोगाइरहेको छ । त्यसमा पनि पूर्व अहिले फुटबलमय बनेको छ । कुनै बेला काठमाडौंलाई मात्र फुटबलको केन्द्र मानिन्थ्यो । तर, अहिले नेपाली फुटबलको केन्द्र पूर्वक्षेत्र अर्थात् कोशी प्रदेश बनेको छ । यहाँ हुने साना तथा ठूलो गोल्डकपले देशकै ध्यान तानेको छ । कोशी प्रदेशमा नाइट भिजन अर्थात् रातिको समयमा समेत खेल भइरहेको छ ।
एक समय यस्तो थियो, जब उपत्यका भित्रका खेलकुद गतिविधि र प्रतियोगितालाई मात्रै ‘राष्ट्रिय स्तर’को मान्ने चलन थियो । मोफसलमा ठूला प्रतियोगिता हुँदैन थिए भन्दा फरक नपर्ला । दर्शकले पनि उपत्यका बाहिरका खेललाई उति महत्व दिँदैन थिए । देशका अन्य भाग जस्तै पूर्वीनेपाल पनि फुटबलका हिसाबले छिटफुट चर्चा बाहेक ओझेलमै थियो । तर, समय फेरिएको छ । आज अवस्था यस्तो छ कि नेपाली फुटबलको साख र रौनक जोगाउने जिम्मा पूर्वले आफ्नो काँधमा लिएको आभास हुन्छ । अहिले पूर्वीनेपाल फुटबलप्रतिको बढ्दो आकर्षण, सक्रियता र सफलताका कारण नयाँ आशाको केन्द्रका रूपमा उभिएको छ ।
पूर्वमा फुटबलको उत्सव
पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, भोजपुर र उदयपुरलगायतका जिल्लाहरूमा फुटबल गतिविधि उल्लेखनीय रूपमा बढेका छन् । यहाँ साना–ठूला धेरै प्रतियोगिताहरू आयोजना भइरहेका छन्, जसले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर दिएका छन् । गाउँस्तरदेखि राष्ट्रियस्तरका प्रतियोगिताहरूले खेलप्रति आकर्षण मात्र बढाएका छैनन्, खेलाडी उत्पादन गर्ने जग पनि तयार पारेका छन् ।
पूर्वबाट पुरुष तथा महिलाको राष्ट्रिय टोलीमा सधैँ वर्चस्व रहँदै आएको छ । देवनारायण चौधरी र हरि खड्कादेखि किरण चेम्जोङसम्मका हस्तीहरू पूर्वकै उत्पादन हुन् । महिलातर्फ पनि नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पूर्वकप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, अनिता बस्नेत, सरु लिम्बू, प्रिती राईजस्ता स्टार खेलाडीको भूमि पनि पूर्व नै हो । अघिलो पुस्ताकी जमुना गुरुङ, गंगा गूरुङहरु पूर्वबाटै थिए । तसर्थ, नेपाली फुटबलकमा पूर्वको योगदान निकै ठूलो छ । एक समय थियो, नेपालको पुरुष फुटबलको राष्ट्रिय टिममा झापाली खेलाडीको दबदबा थियो । तर, अहिले अधिकांश खेलाडी एन्फाको लाचारीपनका कारण विदेश पलायन भइसकेका छन् ।
एन्फामा झापाली अध्यक्ष पंकजविक्रम नेम्वाङ भएकै समयमा झापाली खेलाडी विदेश पलायन भइरहेका छन् । राष्ट्रिय लिग नियमित नहुनु र क्लबहरू आर्थिक संकटमा पर्नुले खेलाडीहरूले आफ्नो भविष्य सुरक्षित देख्न छाडेका छन् । ‘सरकारले खेलाडीहरूलाई सेवा र सुविधा दिन नसके पलायन रोक्न सकिँदैन,’ राष्ट्रिय पुरुष टिमका पूर्वमुख्य प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘स्वास्थ्य बिमा र प्रोत्साहनका कार्यक्रमहरू तत्काल लागू गर्नुपर्छ ।’
नेपाली फुटबलमा पूर्व अगाडि नै छ । एन्फा लाचार भएको यो समय पूर्वमा अहिले खेलकुद उत्सव छ । पूर्वेली फुटबलप्रेमीहरूलाई अहिले आराम गर्ने फुर्सद छैन । चैत÷बैशाखको प्रचण्ड गर्मीमा पनि मैदानहरू दर्शकले भरिभराउ छन् । अहिले प्रतिष्ठित विराट गोल्डकप भइरहेको छ । यो गोल्डकप पूर्वको एउटा पहिचान हो । यो गोल्डकप रातिको समय फ्लड लाइटमार्फत भइरहेको छ । यस्तै, इटहरीमा इटहरी गोल्डकप भइरहेको छ । सुनसरीमा ९औँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप भर्खरै सम्पन्न भएको छ ।
पहाडी जिल्लाहरूको अवस्था पनि उस्तै उत्साहजनक छ । पाँचथरमा वैशाख २३ देखि २५ सम्म दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप र वैशाख २६ देखि जेठ १ सम्म प्रथम आमन्त्रित कन्याटार गोल्डकप हुँदैछ । इलाममा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । यति मात्र होइन, वडा स्तरका प्रतियोगिता, जुनियर फुटबल र भेट्रान कपहरूको लहरले पूर्वलाई ‘फुटबलमय’ बनाएको छ ।
महिला फुटबलको उत्साह पनि उस्तै छ । वैशाख ५ गतेदेखि मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको चन्द्रगढी महिला गोल्डकप झापामा आयोजना हुँदैछ । जहाँ नेपाल र भारतसहित भुटानको टोलीले पनि प्रतिस्पर्धा गर्दैछन् । यस्तै, वैशाख १९ देखि २६ सम्म इलामको ठूलो टुँडिखेलमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको रौनक सुरु हुनेछ । दर्शकको साथका कारण पूर्वमा अहिले फुटबल जुर्मुराएको प्रशिक्षक कटुवाल बताउँछन् । ‘फुटबल हेर्न र बुझ्न सजिलो खेल हो । अभिभावकको फुटबलप्रतिको लगावले पनि नयाँ पुस्तामा सकारात्मक असर परेको छ,’ उनी भन्छन्, ‘मुख्य कुरा फुटबलप्रेमी दर्शकको साथ र सहयोगले पूर्वमा फुटबल जुर्मुराएको हो ।’
एन्फाको विशेष सहयोग बिना पनि मोफसलका आयोजकहरूले फुटबल बचाएको झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ बताउँछन् । ‘नेपालमा पूर्व क्षेत्र सबैभन्दा बढी फुटबल प्रतियोगिता हुने क्षेत्र हो । आयोजकले आफू अनुकूल सहजतामा खेल खेलाउने गरे पनि प्रतियोगिता धेरै हुँदा खेलाडी व्यस्त भइरहनु राम्रो कुरा हो,’ उनी भन्छन्,‘ए डिभिजन क्लबहरूलाई चुनौती दिने अवसर मोफसलका क्लबहरूले पाइरहेका छन् । यद्यपि आर्थिक भार व्यवस्थापन गर्नु ठूलो चुनौती हो ।’
यसरी मोफसमा भइरहने साना ठूलो प्रतियोगिताले खेलाडीलाई अवसर दिइरहेको पूर्वखेलाडी तथा प्रशिक्षक कुमार गिरी बताउँछन् । ‘पूर्वमा प्रतियोगिताहरू धेरै नै आयोजना भइरहेको छ । अहिले पनि लगभग १५÷२० वटा ठूला–साना फुटबल प्रतियोगिताहरू भइरहेको छ । फुटबल प्रतियोगिताहरूमा स्थानीय खेलाडीहरूले अवसर पाइरहेका छन् ।
ग्रासरुटबाट आफ्नो प्रतिभा देखाउने अवसर पाइरहेका छन्,’ उनी भन्छन्, ‘सामान्य गाउँघरमा आयोजना हुने १÷२ लाख पुरस्कार भएको प्रतियोगितामा नेपालका ए डिभिजन क्लबका खेलाडीहरू सहभागी हुनुले पनि यसको महत्व बढ्दो छ । पहिले भन्दा अहिले प्रतियोगिता धेरै आयोजना हुने हुँदा खेलाडीहरूको लागि अवसर ज्यादा छ । स्थानीय सरकार आएपछि झन धेरै प्रतियोगिताहरू हुने गरेको छ । यसले खेलाडीहरूलाई आर्थिक रूपमा सहयोग गरेको छ ।
