आजको मिति: शुक्रबार, जेठ १, २०८३
०१:०८ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

झापामा महिला गोल्डकपको ‘क्रेज’

दूधे रंगशालामा आयोजित झापा महिला गोल्डकपको फाइनल भिडन्त अघि नेपाल प्रहरी र सशसत्र प्रहरीका कोच र कप्तानहरु ट्रफीसहित तस्वीर खिचाउँदै ।

  • सजन राई

दमक ।

झापा सधैँ मोफसल फुटबलको केन्द्र मानिँदै आएको जिल्ला हो । ठूला–ठूला पुरुष गोल्डकप प्रतियोगिता आयोजना गरेर देशकै अग्रपंक्तिमा उभिँदै आएको छ । फुटबलप्रति दर्शकको क्रेजले झापामा छुट्टै स्थान पाएको छ । नेपाली फुटबलमा झापाली दर्शकले देखाएको माया देशकै चर्चाको शिखरमा रहन्छ । सधैँ पुरुष फुटबलमा चर्चा कमाउँदै आएको झापा अहिले महिला फुटबलतर्फ आकर्षित छन् । नेपाली महिला फुटबलमा तहल्का मच्चाएका खेलाडी झापामा आएर खेल्दा दर्शकमा उत्साह थपिएको छ । झापाली दर्शक महिला फुटबलप्रति झन् बढी आकर्षित छन् भन्ने पुष्टि ६ महिनाअघि गत कात्तिकमा दूधेमा सम्पन्न झापा महिला गोल्डकपले पनि गरेको छ । त्यसपछि अब ५ बैशाखदेखि ठूलो पुरस्कार राशीको महिला गोल्डकप झापाको भद्रपुरमा चन्द्रगढी महिला गोल्डकप हुने भएको छ ।

महिला गोल्डकप प्रतियोगिताहरूको निरन्तर आयोजना र त्यसमा देखिएको दर्शकको अभूतपूर्व सहभागिताले झापामा महिला फुटबलको भविष्य उज्यालो रहेको संकेत दिएको छ । महिला गोल्डकप केबल खेलकुद प्रतिस्पर्धा मात्र होइन, यो महिला सशक्तीकरण, सामाजिक परिवर्तन र अवसरको प्रतीकका रूपमा विकसित हुँदै गएको छ । यस्ता प्रतियोगिताले महिला खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च मात्र प्रदान गर्दैनन्, उनीहरूको आत्मविश्वास बढाउने, आर्थिक अवसर सिर्जना गर्ने र व्यवसायिक करियरतर्फ उन्मुख गराउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । विशेषगरी ग्रामीण तथा स्थानीय तहबाट आउने प्रतिभाहरूलाई उजागर गर्दै महिला फुटबलको आधारभूत संरचना मजबुत बनाउने काम यिनै प्रतियोगिताहरूले गरिरहेका छन् । तर, यसरी हुने ठूला प्रतियोगितामा स्थानीय खेलाडीले कमै प्राथमिकता पाउँछन् । आयोजकले स्थानीय खेलाडीलाई प्राथमिकता दिएर क्लब बनाउँदै नियमित प्रतियोगिता आयोजना गर्न जरुरी देखिन्छ ।

‘चन्द्रगढी महिला गोल्डकप’ मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताका रूपमा चर्चा बटुलिरहेको छ । यसमा नेपालका ए डिभिजन क्लबहरूसँगै भारत र भुटानका टिमहरूको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

विशेषगरी हालको अवस्थालाई हेर्दा, अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीचको विवादका कारण थाइल्यान्डमा हुने ‘फिफा सिरिज २०२६’ मा सहभागी हुन नपाएको नेपाली महिला टोलीका लागि यस्ता घरेलु प्रतियोगिताहरू झन् महत्वपूर्ण बनेका छन् । अन्तर्राष्ट्रिय अवसर गुमिरहेको अवस्थामा घरेलुस्तरमै प्रतिस्पर्धा र अनुभव हासिल गर्न पाउनु खेलाडीहरूका लागि ठूलो अवसर हो ।

झापामा महिला फुटबलको लोकप्रियताको ज्वलन्त उदाहरण कार्तिकमा दूधेमा सम्पन्न ‘झापा महिला गोल्डकप’ हो । प्रतियोगिताले आर्थिक र व्यवस्थापकीय दुवै हिसाबले नयाँ मापदण्ड स्थापित गरेको छ । प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार ८३ लाख ५३ हजार रुपैयाँ खर्च भयो । प्रतियोगिताले ५० लाख ४० हजार रुपैयाँ बचत गर्न सफल भएको उनले बताए । यो मोफसलका प्रतियोगिताहरूका लागि ऐतिहासिक उपलब्धि रहेको उनको भनाइ छ । फाइनल खेलमा मात्रै २५ देखि ३० हजार दर्शकको उपस्थिति रहँदा दर्शक व्यवस्थापन गर्नै कठिन भएको उनी बताउँछन् । राजधानीका प्रतियोगितामा समेत दर्शक अभाव देखिने अवस्थामा मोफसलमा यस्तो जनसहभागिता हुनु महिला फुटबलप्रतिको बढ्दो आकर्षण रहेको उनी बताउँछन् । ‘पारदर्शी र व्यवस्थित रूपमा, दर्शकको भावना बुझेर प्रतियोगिता आयोजना गर्न सकियो भने मोफसलमै पनि ठूलो सफलता हासिल गर्न सकिन्छ,’ थोप्राले भने ।

तर, एन्फाको असहयोगप्रति गुनासो पनि उनको छ । उनका अनुसार झापा महिला गोल्डकपमा समेत स्वीकृति दिन आनाकानी गरेको थियो । जुन दुःखद पक्ष रहेको उनी बताउँछन् । ‘फुटबलको नेतृत्व गर्ने निकायहरूको समर्थनमा प्रतियोगिता हुनु राम्रो हो । तर, मोफसलको प्रतियोगितामा पहिलो चुनौतीको रूपमा एन्फा नै रहँदै आइरहेको छ । उहाँहरूको पक्षमा नभएका प्रतियोगितामा एन्फा बाधक बनिदिन्छ,’ उनी भन्छन्, ‘फुटबल एसोसिएसन भनेको मनिटरिङ गर्ने निकाय हो । यो पारदर्शी हुनुपर्छ । तर, आफैँ धमिलो पानीभित्र रहेको छ । यस्ता निकायले निजी क्षेत्रले फुटबलमा दिएको योगदानको कदर गर्न सकेको छैन । उहाँहरूले आफ्नो कमिकमजोरीहरूलाई मध्यनजर गरेर अगाडि बढ्न सक्यो भने नेपाली फुटबललाई चलायमान बनाउन सक्छ ।’

यद्यपि यस्ता अवरोधका बाबजुद महिला फुटबलले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ । नेपाली महिला टोलीले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्दै देशको नाम उचालिरहेको छ । यसले खेलाडीहरूको मनोबल उच्च बनाएको छ भने नयाँ पुस्तामा पनि उत्साह थपेको छ ।

झापा महिला गोल्डकपबाट उदाएका प्रतिभाहरू यसको उत्कृष्ट उदाहरण हुन् । झापा एफसीबाट खेलेकी जेनिफर मगर ‘राइजिङ प्लेयर’का रूपमा चिनिएकी छिन् र अहिले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी छिन् । यस्तो सफलताले स्थानीय खेलाडीहरूलाई अझ मिहिनत गर्न र ठूलो सपना देख्न प्रेरित गरेको छ ।

अब यही उत्साहलाई निरन्तरता दिन चन्द्रगढी महिला गोल्डकप आयोजना हुन लागेको हो । चन्द्रगढी महिला गोल्डकप आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित लिम्बूले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा जनाएका छन् । स्थानीय सरकारको सहयोगमा व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । विशेष कुरा के भने आयोजक टोलीले यसपटक सबै स्थानीय खेलाडीहरूलाई अवसर दिन बाहिरी खेलाडी समावेश नगरेको उनले बताए । यसरी स्थानीय खेलाडीलाई अवसर दिँदा गोल्डकपको महत्व झनै वृद्धि हुन्छ ।

त्यस्तै दमकमा पनि महिला फुटबलको माहोल तात्दै गएको छ । रोयल स्पोर्टिङ क्लबले ‘दमक महिला गोल्डकप’ आयोजना गर्ने तयारी गरिरहेको क्लबका अध्यक्ष राजु खड्काले जानकारी दिए । यसले दूधे र चन्द्रगढीमा मात्र हैन झापाभरि नै महिला गोल्डकपको अकार्षण बढेको देखाएको छ ।

महिला गोल्डकपको आकर्षण : झापा महिला गोल्डकपमा टिकटबाटै ५८ लाख

झापा महिला गोल्डकप ऐतिहासिक रूपमा सफल भएको थियो । गत कार्तिकमा सम्पन्न गोल्डकपमा टिकट बिक्रीबाट ५८ लाख आम्दानी भएको थियो । जुन झापाली फुटबलमा ऐतिहासिक कदम हो । कात्तिक १७–२४ सम्म शिवसताक्षी नगरपालिकास्थित दुधे रंगशालामा भएको प्रतियोगितामा दर्शकको अभूतपूर्व उपस्थिति रह्यो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र ३० लाख २ हजार ४ सय रुपैयाँ टिकट बिक्री भएको थियो ।

यस्तो छ चन्द्रगढी महिला गोल्डकपको खेल तालिका

चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । ५ बैशाखेदेखि हुने प्रतियोगिताको खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

त्यस्तै, बैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष रोहित सुब्बाले जानकारी दिएका छन् ।

बैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । बैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुंगाको पदमा स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ ।

खेलतालिकाअनुसार बैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले सामना गर्नेछ । बैशाख १० गते एपिएफ र पदमाबीचको विजेताविरुद्ध संकटा फुटबल क्लबले खेल्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल बैशाख १३ गते हुनेछ । फाइनल खेल बैशाख १४ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशी महिला फुटबलमा हालसम्म नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *