भद्रपुर ।
एपीएफ फुटबल क्लब संकटा फुटबल क्लबविरुद्ध सडन डेथमा कठिन जित निकाल्दै झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप २०८३ को सेमिफाइनल प्रवेश गरेको छ ।
जितसँगै सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा संकटाले उपाधि दावेदार मानिएको एपिएफलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।
एफीएफविरुद्ध सुरुदेखि नै संकटाले आक्रमण खेलेको थियो । दोस्रो हाफपछि भने एपीएफले संकटाविरुद्ध आक्रमक खेल प्रदर्शन गरे पनि गोल भने गर्न सकेन ।
खेलअवधिभर दुवै टिमले पाएका उत्कृष्ट अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा खेल टाई ब्रेकर हुँदै सडन डेथमा धकेलिएको थियो ।
टाइब्रेकरमा दुवै टिमले ३–३ गोलको बराबरी स्कोर निकालेपछि खेल सडन डेथमा पुग्यो ।
टाइब्रेकरमा एपीएफका गिता राना मगर, कप्तान अनिता बस्नेत र रश्मीकुमारी घिसिङ गोल गर्न सफल भएका थिए भने अनुभवी खेलाडी द्वय अनिता केसी र रेनुका नगरकोटीको फितलो प्रहारलाई संकटाकी गोलकिपर सुशीलाकुमारी चौधरीले सहजै रोक्न सफल भएकी थिइन् । त्यस्तै संकटाका तर्फबाट कप्तान यशोदा शाही, सुप्रिया मिया, विदेशी खेलाडी लुसिया लिला जोसे गोल गर्न सफल भएका थिए ।
सुनिता भुलानको प्रहार बाहिरियो भने पुर्निमा राईको प्रहार एपीएफकी गोलकिपर अञ्जना रानामगरले सहजै रोकेकी थिइन् ।
सडन डेथमा एपीएफका लागि सरु लिम्बू, हिराकुमारी भुजेल, अञ्जना रानामगरले गोल गरेका थिए ।
संकटाकी गोल किपर सुशीलाकुमारी चौधरी, झुमा पोर्तेलले गोल गरे पनि प्रतीक्षा राईको प्रहार आकासिँदा संकटा प्रतियोगिताको सेमिफाइनल यात्रा गर्नबाट चुक्यो ।
बिहीबारको खेलको प्लेयर अफ दी म्याच एपीएफकी डिफेन्डर गिता रानामगर भइन् ।

उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि (शुक्रबार) हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।
