– सजन राई
दमक । पानी परोस् वा हावाहुरी चलोस्, मौसमले कुनै फरक पार्दैन । धरानबाट बाइकमै दैनिकजसो दमक आइपुग्छन्, खेम राई । दिउँसो २ बजेतिर प्रशिक्षण केन्द्र पुग्ने र बेलुका ६ बजेतिर फर्किने उनको दैनिकी जस्तै छ । यो यात्रा केबल दूरीको होइन, प्रतिबद्धताको पनि हो । पूर्वखेलाडी तथा हाल कोशी प्रदेश भलिबल संघका अध्यक्ष रहेका राईका लागि यो एउटा जिम्मेवारी हो । उनले प्रण गरेका छन्– कोशी प्रदेशको भलिबललाई जोगाउने र उचाइमा पु¥याउने ।
दमक–२ मा रहेको कोशी प्रदेशस्तरीय भलिबल प्रशिक्षण केन्द्र अहिले प्रदेशकै एउटा महत्वपूर्ण खेलकुद केन्द्रको रूपमा स्थापित भइसकेको छ । तर, यसको जग सरकारी बजेट वा योजनाले होइन, केही व्यक्तिहरूको लगन, पसिना र व्यक्तिगत लगानीले तयार भएको हो । ०७६ सालतिर दमकका खेलप्रेमीहरूले एउटा सम्भावना देखे, हिमालय माध्यमिक विद्यालयको खाली रहेको जग्गालाई खेलकुदका लागि प्रयोग गर्ने । विद्यालयसँग मौखिक सम्झौता गर्दै २५ देखि ४० वर्षका लागि उक्त जग्गा उपयोग गर्ने सहमति जुटाइयो । त्यसपछि सुरु भयो मैदान निर्माणको काम ।

स्थानीय खेलप्रेमी गजेन्द्र देवान र जय श्रेष्ठले आर्थिक सहयोग गरे । शैलेन्द्र श्रेष्ठ, तेजु धिमाल, भिष्म उप्रेतीलगायतको सक्रियताले मैदान तयार पार्ने कामले गति लियो । सुरुमा सामान्य मर्मत सम्भारबाट सुरु भएको पहल विस्तारै प्रशिक्षण केन्द्रको स्वरूपमा विकसित भयो । ०८० सालमा यसलाई औपचारिक रूपमा ‘दमक भलिबल प्रशिक्षण केन्द्र’ का रूपमा दर्ता गरियो ।
अहिले यो केन्द्र खाली मैदान होइन, खेलाडीहरूको सपनाले भरिएको थलो बनेको छ । यहाँ दैनिक रूपमा करिब १२० जना खेलाडीहरूले प्रशिक्षण लिइरहेका छन् । बिहान र दिउँसो गरी विभिन्न समयमा सञ्चालन हुने प्रशिक्षण सत्रहरूमा विद्यालयस्तरका विद्यार्थीदेखि व्यवसायिक खेलाडीहरूसम्म सहभागी हुने गरेको कोशी प्रदेश भलिबल संघका अध्यक्ष खेम राई बताउँछन् ।
दैनिक यति ठूलो संख्यामा खेलाडीहरूको उपस्थिति हुनु आफैँमा प्रशिक्षण केन्द्रको प्रभावकारिताको प्रमाण हो । सीमित स्रोत र संरचनाका बीच पनि खेलप्रेमीहरूको यस्तो आकर्षण हुनु राज्यका लागि संकेत हुनुपर्ने हो । तर, सरकारी चासो भने अझै न्यून रहेको छ ।
दमकले विगतदेखि नै भलिबलमा आफ्नो पहिचान बनाउँदै आएको छ । यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन भएका छन् । पूर्वअन्तर्राष्ट्रिय खेलाडी शैलेन्द्र श्रेष्ठ अहिले प्रशिक्षक, राष्ट्रिय रेफ्री तथा झापा जिल्ला भलिबल संघका अध्यक्षको रूपमा सक्रिय छन् ।
विशेषगरी महिला खेलाडीहरूलाई प्रशिक्षण दिँदै आएका श्रेष्ठले निःशुल्क रूपमा प्रशिक्षण सञ्चालन गरिरहेका छन् । ‘भलिबलमा पैसा लिएर प्रशिक्षण गराउने अवस्था नै छैन,’ उनी भन्छन्, ‘विद्यालयले जग्गा दिएको छ, आउने धेरैजसो विद्यार्थी नै छन् । खान, बस्नको व्यवस्था गरेर प्रशिक्षण गराउँदा पनि सहभागिता सीमित हुन्छ ।’
जर्सीका लागि भने सामान्य शुल्क लिने गरिएको उनी बताउँछन् । ‘नाम र इज्जतका लागि पनि केही योगदान त गर्नैपर्छ,’ उनी भन्छन् । अहिले यस केन्द्रबाट उत्पादन भएका खेलाडीहरू दमककै करिब १० वटा विद्यालयमा प्रशिक्षकको रूपमा कार्यरत छन् । जसले स्थानीयस्तरमै खेलको दायरा विस्तार गरिरहेको प्रशिक्षक श्रेष्ठको बुझाइ छ ।

प्रशिक्षण केन्द्रले अभ्यास स्थलको भूमिका मात्र खेलेको छैन । यहाँ मुख्यमन्त्री कप, प्रदेशस्तरीय अन्तरपालिका प्रतियोगिता, जिल्ला तथा विद्यालयस्तरीय प्रतियोगिताहरू नियमित रूपमा आयोजना हुँदै आएका छन् । साथै, प्रशिक्षक प्रशिक्षण, रिफ्रेस कोर्सजस्ता कार्यक्रमहरूले खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । स्थापनाकालमै एक वर्षका लागि नेपालकै महँगो प्रशिक्षक मानिने कपिल श्रेष्ठलाई नियुक्त गरिएको थियो ।
छैन राज्यको लगानी
यस केन्द्रको अर्को महत्वपूर्ण पक्ष भनेको निजी लगानी हो । खेम राईले भलिबलका लागि व्यक्तिगत रूपमा करोडौँ रुपैयाँ खर्च गरिसकेका छन् । तर, यो लगानी कुनै प्रतिफलको अपेक्षा नभएको उनी बताउँछन् । ‘कोही न कोहीले त जिम्मेवारी लिनै पथ्र्यो,’ उनी भन्छन्, ‘सरकार अभिभावक हो । अभिभावक कमजोर हुँदा सन्तानले गुनासो गर्नुभन्दा आफैँ अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ उनका अनुसार स्थानीयको सहयोग, आवश्यक सामग्रीको उपलब्धता र दमकको अनुकूल मौसमका कारण यहाँ प्रशिक्षण सञ्चालन गर्न सहज भएको छ । दिउँसो ३ बजेपछि मैदान शीतल हुने भएकाले खेलका लागि उपयुक्त वातावरण बन्ने उनी बताउँछन् । यही कारणले पनि प्रदेशस्तरीय प्रशिक्षणका लागि दमक उपयुक्त स्थान बनेको उनको भनाइ छ ।
खेल पत्रकार तथा भलिबल प्रशिक्षक उत्तम रिजालका अनुसार कोशी प्रदेशमा भलिबल केही व्यक्तिमा निर्भर छ । ‘खेम राईपछि भलिबल ओझेलमा पर्ने खतरा छ,’ उनी भन्छन्, ‘दमकमा जय श्रेष्ठ र गजेन्द्र देवान नहुँदा प्रतियोगिता नै शून्य हुने अवस्था आउन सक्छ ।’ यति ठूलो निजी लगानी हुँदा पनि राज्यले चासो नदिएको उनको गुनासो छ । ‘यदि सरकारले साथ दिएको भए यहाँबाट कति खेलाडी उत्पादन हुन्थे भन्ने सहजै अनुमान गर्न सकिन्छ,’ रिजाल भन्छन् ।

दमकको यो भलिबल प्रशिक्षण केन्द्र एउटा उदाहरण हो, जहाँ व्यक्तिको सपना, समर्पण र लगानीले खेलकुदको आधार तयार गरेको छ । तर, राज्यको भूमिकाविना यस्तो पहल दीर्घकालीन रूपमा टिकाउ हुन कठिन छ । खेलकुद केबल मनोरञ्जन होइन, युवाको ऊर्जा व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्र हो । तसर्थ यसमा राज्यले लगानी गर्न जरुरी पनि छ ।
संरचनाको अभाव, कभर्ड हल अझै सपनामै सीमित
यति धेरै गतिविधि र सम्भावना हुँदाहुँदै पनि एउटा आधारभूत आवश्यकता अझै पूरा हुन सकेको छैन—कभर्ड हल । भलिबल इन्डोर खेल भएकाले वर्षा, हावाहुरी वा अत्यधिक घामका कारण प्रशिक्षण प्रभावित हुने गरेको छ । अध्यक्ष राईका अनुसार सरकारलाई पटक–पटक अनुरोध गर्दा पनि कभर्ड हल निर्माण हुन सकेको छैन । ‘प्रतियोगितामा सहयोग गर्ने तर संरचना निर्माणमा बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ,’ उनी भन्छन् ।
यस भलिबल प्रशिक्षण केन्द्रबाट निरूप बस्नेत र सन्तोष राईजस्ता खेलाडी राष्ट्रिय टोलीसम्म पुगेका छन् । रोमन बस्नेत र अभिषेक थापा टप १४ खेलाडीमा परेका छन् । यसले यो प्रशिक्षण केन्द्रको महत्व अझै बढाएको छ । तर, खेलाडीहरूका लागि आधारभूत सुविधा अझै पुगेको छैन । राष्ट्रिय खेलाडी निरूप बस्नेत भन्छन्, ‘सरकारले गाँसबास र कपासको व्यवस्थापन गरिदिए खेलाडीहरूको प्रदर्शन अझ राम्रो हुन सक्छ ।’
कोशी प्रदेशका रेफ्री रोशन दाहाल खेल तालिकाको अभावलाई मुख्य समस्या मान्छन् । ‘नियमित सेड्युल नहुँदा खेलाडीहरू तयारी गर्न सक्दैनन्,’ उनी भन्छन् । राष्ट्रिय खेलझैँ व्यवस्थित तालिका आवश्यक रहेको उनको भनाइ छ । साथै प्रशिक्षक र रेफ्रीहरूको नियमित प्रशिक्षणको आवश्यकता भए पनि त्यसतर्फ सरकारले ध्यान नदिएको उनको भनाइ छ ।
भलिबल खेलबाट पनि आत्मनिर्भर बन्न सकिने उदाहरण पनि छन् । तसर्थ, भलिबल खेललाई राज्यले लगानी गर्नुपर्ने खेलाडी तथा प्रशिक्षकको बुझाइ छ । यही केन्द्रमा तालिम लिएका सुजन बुढाथोकी अहिले बुद्धशान्ति गाउँपालिकाका चार विद्यालयमा प्रशिक्षकका रूपमा कार्यरत छन् । कमल गाउँपालिकाले भलिबल प्रशिक्षक नियुक्त गर्ने झापाको पहिलो पालिका बनेर उदाहरण प्रस्तुत गरेको छ ।
शैलेन्द्र श्रेष्ठले दमकमा रहेको आफ्नो स्विमिङ पुलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूलाई निःशुल्क प्रवेश दिने व्यवस्था गरेका छन् । यसले खेलाडीहरूको मनोबल बढाउन सहयोग गरेको उनको भनाइ छ ।
