सजन राई
दमक । कुनै समय प्रत्येक शनिबार बिहान दमकको ‘गोर्खा डिपार्टमेन्ट’ अगाडि बेग्लै रौनक र ऊर्जा देखिन्थ्यो । जम्मा भएका सय÷डेढ सय युवा–युवतीहरू, खेलप्रेमीहरू र व्यावसायिक धावकहरूको जोशिलो उपस्थिति देख्दा लाग्थ्यो– दमक खेलकुदको, विशेष गरी एथलेटिक्सको नयाँ केन्द्र बन्दैछ । शारीरिक व्यायाम, दौडको नियमित अभ्यास र ऊर्जाशील नयाँ पुस्ता उत्पादनको त्यो एउटा गतिलो अभियान थियो, ‘दमक रन’ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा दमकको नाम रोशन गर्ने उत्कृष्ट धावकहरू उपहार दिने त्यही ‘दमक रन’ आज पहिचान र अस्तित्वको संकटमा छ । एउटा समय दमककै गरिमा र गौरव बढाउने यो अभियानको नामनिसान अहिले मियो हराएझैँ भएको छ । नगरको खेलकुद इतिहासको एउटा स्वर्णिम खण्ड मानिएको यो संस्था किन अचानक ठप्प हुन पुगेको छ ।
२०७२÷०७३ सालमा दर्ता हुनुभन्दा अगाडिदेखि नै दमकमा अनौपचारिक रूपमा ‘दमक रन’ सुरु भइसकेको थियो । सुरुवातका दिनहरू सम्झँदै संस्थाका सरोकारवालाहरू भावुक बन्छन् । संस्थाका संस्थापक अध्यक्ष रणदिप राईले बेलायतबाट निरन्तर आर्थिक सहयोग पठाएर संस्थालाई बलियो जग दिने र चलायमान बनाउने काम गरेका थिए ।
संस्थाका पदाधिकारीहरू, खेलप्रेमीहरू र निजी दाताहरूको गोजीको पैसा र स्पोन्सरशिपको भरमा दमक रनले सफलताका साथ तीनवटा संस्करणहरू समेत सम्पन्न ग¥यो । त्यतिबेलासम्म यो केवल एउटा दौड प्रतियोगिता मात्र थिएन, दमकलाई खेलकुदमार्फत देश–विदेशमा चिनाउने भरपर्दो माध्यम र ब्रान्ड बनिसकेको थियो । तर, अहिले दमक रन गुमनाम छ । दमकले विस्तारै दमक रनलाई बिर्सँदै गएको छ । ‘एक समयमा दमककै साख बोकेको दमक रन बन्द हुदा धेरैजना दुखी छन् । हामी पनि दुखी छौँ । देशको अवस्थाले गर्दा नै बन्द हुन पुगेको हो । समितिको सदस्यहरू धेरै वैदेशिक रोजगारीको लागि गएको छन् । भएको केही सदस्यहरू आफ्नै दैनिक कार्यमा व्यस्त हुँदा समय दिन नसकिएको हो,’ दमक रनका कार्यवाहक अध्यक्ष दिवस राई भन्छन्, ‘तेस्रो संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरेको दमक रन कोभिडको समयमा दुई वर्ष ठप्प भयो । कोभिड महामारी पछि पुनः सञ्चालन आएको दमक रन अहिले ठप्प छ ।’
दमक रनमा अब आफूहरूले नेतृत्व गर्न नसकेको आभाष भएका कारण नयाँ पुस्ताले नेतृत्व गरेर दमक रन बचाउनुपर्ने उनको भनाइ छ । ‘ हामीले राम्रो नेतृत्व गर्न सकेनौँ । अब आउने पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहन्छौँ । हामी सल्लाहकार समितिमा बसेर सक्दो सहयोग गर्न चाहन्छौँ । तर, नयाँ पुस्तालाई पनि समस्या त्यस्तै छ,’ उनी भन्छन्, ‘आफ्नो रोजिरोटीको लागि काम गर्नैपर्ने हुन्छ । सरकारले सहयोग गरेन भने समस्या उही रहन्छ ।’
दमक रनको सबैभन्दा ठूलो दुःख र गुनासो भनेकै राज्य र स्थानीय सरकारको चरम उदासीनता हो । खेलाडीहरूलाई जुत्ता, जर्सी लगायतका आधारभूत सामग्री संस्था आफैँले वा वैदेशिक सहयोगको भरमा जुटाउनुपथ्र्यो । प्रतियोगिता गराउन पुरस्कार राशि जुटाउन उत्तिकै धौ–धौ हुन्थ्यो, किनकि पुरस्कार राशि धेरै राख्नुपर्ने हुन्थ्यो । तर, दमक नगरपालिकाले भने यस अभियानलाई कहिल्यै अपनत्व ग्रहण गरेन, न त कुनै ठोस बजेट नै छुट्यायो ।‘दमक रनलाई अहिलेसम्म सरकारी पक्षबाट वास्ता गरिएन । अबको समयमा स्थानीय सरकारले सहकार्य गर्नुपर्छ,’ कार्यवाहक अध्यक्ष राई भन्छन्, ‘दोस्रो दमक नगर खेलकुद महोत्सवमा म्याराथुनलाई समावेश गरेर नगरले केही राहत भने दिएको महसुस भएको छ । राज्यले केही दिन सक्दैन ।’ दमक रनका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौडमा थुप्रै पदक जितेको उनको दाबी छ ।
सबै राम्रै लयमा चल्दै थियो, तर विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारी दमक रनका लागि प्रत्युत्पादक बन्यो । कोरोनाकालमा लगातार दुई वर्ष खेलकुदका सम्पूर्ण गतिविधि देशैभर ठप्प भए । महामारी सकिएपछि अभियानलाई पुनः ब्युँताउने र सडकमा उतार्ने प्रयास त भयो, तर देशको आर्थिक मन्दी र परिस्थितिले संस्थालाई अघि बढ्न दिएन । दमकको रौनक बनेको दमक रनलाई निरन्तरता दिन नसक्दा आफूहरू पनि दुखी बनेको दमक रनका सचिव कृष्णराज दाहाल बताउँछन् । ‘कुनै समय दमक रनमा झण्डै एक सयदेखि डेढ सयको संख्यामा मानिसहरू आबद्ध थिए,’ उनले भने,‘दमक रनको रौनक र माहोल नै बेग्लै हुन्थ्यो । अहिले यसलाई निरन्तरता दिन नसक्दा असाध्यै दुःख लाग्छ ।’
हालै सम्पन्न चौथो राष्ट्रिय लेजर रन प्रतियोगिताको सिनियर क्याटगोरीमा स्वर्ण पदमक विजेता दमकका धावक सरोज सिंह अहिले पनि दमक रनकै नाममा विभिन्न प्रतियोगिताहरूमा भाग लिइरहेका छन् । तर, उनको भोगाइ र अनुभव तीतो छ । ‘पहिले दमक रनको अवस्था निकै राम्रो थियो, कार्यबाहक अध्यक्ष दिवस राईले आर्थिक व्यवस्थापन गरिदिनुहुन्थ्यो । तर, अहिले हामी आफ्नै तरिकाले दौडिरहेका छौँ । दुःखले अभ्यास गर्दै दमक रनको नाममा विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाएर उपाधि जितिरहेका छौँ,’ उनी भन्छन्, ‘धेरै पटक नगरको नाममा उपाधि जिताउँदासमेत नगरले वास्ता गर्दैन । विजेताहरूलाई ठूलो नगद नभए पनि कम्तीमा एउटा सम्मान पत्र मात्र दिएर हौसला बढाइदिएको भए खेलाडीहरूको मनोबल कति उच्च हुन्थ्यो होला !’
सिंहका अनुसार अहिले पनि १६ जना महिलासहित झण्डै ६० देखि ७० जना खेलाडीहरूको समूह दमक रनको नाममा निरन्तर अभ्यास गरिरहेको छ । विडम्बनाको कुरा, खेल क्षेत्रको हब भनिने दमकमा यी धावकहरूका लागि अभ्यास गर्ने एउटा राम्रो खेलमैदान समेत छैन । खेलाडीहरू अभ्यासका लागि छिमेकी स्थानीय तह कमल गाउँपालिका–५ स्थित सिम्ले पुग्नुपर्ने बाध्यता छ । आगामी जेठ महिनामा प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट खेलाडी छनोट हुँदैछ, जसका लागि खेलाडीहरू मैदान अभाव र आर्थिक संकटका बीच पनि कडा मिहिनेत गरिरहेका छन् । कतिपय अवस्थामा त खेलमा जाँदा कुनै दाताहरूबाट सहयोग नपाएमा आफूहरूले नै अघिल्लो खेलमा पुरस्कारबापत पाएको रकम खर्च गरेर प्रतियोगितामा जानुपर्ने बाध्यता छ ।
दमक रनको साख र यसको प्रभाव कति ठूलो थियो भन्ने कुरा अन्तर्राष्ट्रिय म्याराथुन धाविका पुष्पा शेर्माको अनुभव छ । सन् २०२६ जनवरी ३१ मा हङकङमा भएको ‘गोर्खा ट्रेल ब्रेजर’ र फेब्रुअरी ८ मा भएको ‘फोर मिनी ट्रेल’ मा प्रथम स्थान हासिल गरेकी शेर्माको स्थायी घर पाँचथर भए पनि हाल लामो समयदेखि दमक बस्दै आएकी छिन् । नेपालका विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा प्रथम भइसकेकी पुष्पा आफूलाई दमक रनकै एउटा हिस्सा मान्छिन् र यहाँका स्थानीय अग्रजहरूसँग नजिक छिन् । झापा जिल्ला र पाँचथर जिल्लालगायतका अन्य संस्थाहरूले उनको अन्तर्राष्ट्रिय सफलताको कदर गर्दै सम्मान गरे पनि उनी दमक रनको ब्यानरबाट खेल्न नपाएकोमा खिन्न छिन् । ‘मलाई दमक रनबाट खेल्ने ठूलो इच्छा नभएको होइन, तर हाल संस्था निष्क्रिय भएकाले म हङकङको ‘गोर्खा ब्लड’ भन्ने संस्थाबाट खेल्दै आइरहेकी छु,’ पुष्पा भन्छिन्, ‘स्थानीयस्तरमा प्रतियोगिता हुनु र संस्था सक्रिय हुनु धेरै महत्वपूर्ण छ । दमक रन भइरहेमा यहाँका खेलाडीहरूलाई अन्य प्रतियोगितामा निमन्त्रणा आउँछ र अवसर पाइन्छ । नत्र दमकमा खेलाडी छन् कि छैनन् भन्ने नै कसैलाई थाहा हुँदैन । आफ्नो ठाउँमा प्रतियोगिता नहुँदा अन्य ठाउँमा मात्र खेल्नु पर्दा नमज्जा हुन्छ । दमक रनले निरन्तरता पाएमा यहाँका स्थानीय खेलाडी उत्पादनमा ठूलो फाइदा पुग्ने थियो ।’




