सुजता लिम्बू
विराटनगर । विराटनगर–१२ की आरजु कार्की पोखरेलले स्नातक तह पूरा गर्दा भविष्यप्रति निकै ठूलो भरोसा राखेकी थिइन् । तर, रोजगारको खोजीमा शैक्षिक प्रमाणपत्र बोकेर भौतारिँदा उनले एउटा तीतो यथार्थ बोध गरिन्, केवल शैक्षिक योग्यताले मात्रै भोक मेटिनेवाला छैन । ‘ब्याचलर सकेर पनि भनेजस्तो जब नपाएपछि सीपमूलक केही गरौँ भन्ने लाग्यो र मैले पार्लर रोजेँ,’ आरजु आफ्नो सुरुवाती संघर्ष सम्झिन्छिन्, ‘सिक्दै जाँदा यसैमा मेरो रुचि बस्यो र आफैँ पार्लर खोलेँ । यसले मेरो व्यक्तिगत खर्च मात्र होइन, परिवारलाई पनि ठूलो आर्थिक सपोर्ट पुगेको छ ।’
आरजुको यो भोगाइ नेपालको एउटा प्रतिनिधि तस्बिर मात्र हो, जसले लाखौँ महिलाहरूलाई चुल्होचौकोबाट निकालेर उद्यमी बन्न प्रेरित गरिरहेको छ । सामान्य हिसाबले बुझ्दा नेपालको अर्थतन्त्र केवल रेमिट्यान्स र वैदेशिक सहायताको जगमा उभिएको देखिन्छ । तर, सिंहदरबारका योजनाको खाकामा विरलै अटाउने तर देशको कुनाकाप्चामा गुञ्जिरहेको यो सौन्दर्य व्यवसायले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बलियो अनौपचारिक योगदान दिइरहेको छ । विडम्बना राज्यले यसलाई केवल महिलाहरूको शृंगार गर्ने थलोका रूपमा हल्का ढंगले हेरिरहँदा यो व्यवसायभित्र संकटको एउटा ठूलो बादल मडारिइरहेको छ ।
उदयपुरको कटहरीकी ४० वर्षीया सम्झना तामाङ विगत एक दशकदेखि यो पेसामा सक्रिय छिन् । उनले आफ्नो सन्तान र परिवारलाई समय दिने क्रममा केही समय विश्राम त लिइन्, तर अहिले उनी पूर्णरूपमा सक्रिय छिन् । सम्झनाका लागि यो पेसा केवल जीविकोपार्जन मात्र होइन, एउटा निरन्तरको संघर्ष पनि हो । ‘यो पेसाले महिलाको आर्थिक समृद्धि र कलासँग गहिरो सम्बन्ध छ । तर, हाम्रो जस्तो सानो क्षेत्रमा १८ वटा पार्लर हुँदा जति आम्दानी हुनुपर्ने हो, त्यति छैन,’ उनी भन्छिन्, ‘हामीले श्रम बेचिरहेका छौँ, तर ग्राहक पाए मात्र आम्दानी हुने हो । श्रमअनुसारको आर्थिक उपलब्धि अहिले निकै न्यून छ ।’ एसएलसी सकेपछि घरेलु कार्यालयमार्फत उनको कान्छा दाइको माध्यमबाट तालिम लिएकी सम्झना पत्रपत्रिकामा आउने सौन्दर्य लेखहरू पढेर यो पेसामा आकर्षित भएकी थिइन् । ‘मैले सोचेकी थिइनँ यो पेसामा आबद्ध हुन्छु भनेर, तर पत्रिका
पढेरै म यसमा जोडिएँ,’ उनले भनिन् ।
यो व्यवसायमा व्यवसायीहरुलाई केमिकलको असररले स्वास्थ्यमा समेत गम्भिर असर पर्ने बताउँछिन् । सम्झनाका अनुसार हेयर केराटिन, कलरिङ र न्यानोप्लास्टियाजस्ता प्रोडक्सनहरूले व्यवसायीहरूको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । ‘केमिकल प्रोडक्टले स्किन, पाठेघरको समस्या र क्यान्सरजस्ता रोग लाग्ने जोखिम हुन्छ,’ उनी भन्छिन्,‘ हामी स्वास्थ्य प्रोटकल त अपनाउँछौँ, तर पछिल्लो समय एचआईभीको जोखिम पनि बढेको छ । यदि कुनै संक्रमित ग्राहक आए र बिना ग्लोभ्स पिम्पल्सको ट्रिटमेन्ट गरियो भने लड टु ब्लड कन्ट्याक्ट भएर संक्रमण सर्ने सम्भावना उच्च रहन्छ। त्यसैले यो विषयमा ख्याल गर्न जरुरी छ ।’
यसलाई राष्ट्रिय जनस्वास्थ्य संकटको रूपमा चित्रण गर्छिन्, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीकी पूर्वअध्यक्ष एवं जिफन्ट कोशी प्रदेशकी युवा अध्यक्ष भलि सुब्बा । ‘सौन्दर्यकर्मी महिलाहरू केमिकलसँग खेल्ने भएकाले स्वास्थ्यमा ठूलो चुनौती छ । प्राय ब्युटिसियनलाई क्यान्सर, घुँडा र ढाडको समस्या हुन्छ,’ उनले भनिन् ।
आर्थिक रूपमा सक्षम भएर समाजमा आत्मनिर्भर बन्न सफल भएका छन् । तर, राज्यको नीतिले कहिल्यै छुन नसकेको उनको गुनासो छ । सुब्बाले विराटनगर महानगरपालिका समक्ष ब्युटिसियनको श्रम डेस्क, परिचय पत्र र स्वास्थ्य बिमाको माग राखे पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरिन् । ‘हामीले महानगरमा व्युटीसियनको डेक्स, परिचय पत्र र स्वास्थ्य बिमा सम्बन्धी पनि कुरा उठाएका छौँ, तर सुनुवाइ भएको छैन,’ उनी भन्छिन् । भर्खरै यो पेसामा भविष्य खोज्न आएका नयाँ पुस्तालाई यसैमा टिकाउन सकस भइरहेको उनी बताउँछिन् । यसमा सरकारको साथै सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
नाबुन विराटनगरकी अध्यक्ष बसन्ती गुरुङ पनि बजेट वितरणमा राजनीतिक सिन्डिकेट हाबी भएको स्वीकार गर्छिन् । संस्थामा आबद्ध करिब २ सय जना सदस्यहरूको प्रतिनिधित्व गर्दै उनी भन्छिन्, ‘सरकारले दिएको बजेट पहुँचवालाको मात्र भएको जस्तो देखिन्छ । राजनीतिक अगुवाको भनाइ र चिनजानको आधारमा कार्यक्रमहरू वितरण गरिँदा वास्तविक ब्युटिसियनहरूको अधिकार खोसिएको छ । यसमा व्यक्तिवादी नहेरी सबैलाई मिल्दो जुल्दो कार्यक्रम वितरण गर्न हामी सरकारसँग माग गरिरहेका छौँ ।’
सौन्दर्यकर्मीहरुको हक अधिकारका लागि महानगरपालिकामा बजेट माग गरिरहँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले यसको विषयमा तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
हुन त पहुँच र राजनीतिको यो कुरूप खेलले नयाँ पुस्तामा निराशा पैदा गरेको छ । तर, पनि विराटनगरी २५ वर्षीया उषा चौधरी अहिले दिदीको पार्लरमा काम गर्दै व्यावसायिक रूपमा अगाडि बढिरहेकी छिन् । नयाँ प्रविधिसँग अपडेट हुँदै प्रतिस्पर्धात्मक बजारमा टिक्न उनी संघर्षरत छिन् । ‘पुरानो शैलीभन्दा अहिले धेरै फरक छ,’ उनी भन्छिन्, ‘नयाँ प्रविधिसँगै आफूलाई अपडेट गराउन सके सजिलो छ, नत्र धेरै चुनौती छ ।’ तर, उनी पनि सरकारी बजेट वितरणमा असन्तुष्टि व्यक्त गर्छिन् । उषाको अनुभवमा वडाले बजेट दिए पनि त्यो पहुँचको आधारमा मात्र वितरण हुन्छ । ‘पहुँच हुनेले तालिम र कार्यक्रम पाइरहन्छन्, नहुनेले चाहिँ ग्राहक कुरेर आफ्नो परिश्रम मात्र बेचिरहनुपर्ने अवस्था छ,’ उषा भन्छिन् । उषको कुरामा समर्थन जनाउँदै आरजुले पनि यो व्यवसायमा पनि राजनीतिक घुसेको बताउँछिन् । ‘सिनियरहरूले नयाँलाई प्राथमिकता दिँदैनन्, जसले गर्दा धेरै चुनौती हुन्छ,’ उनले भनिन्,‘कतिपय अवस्थामा राजनीतिक लिगेसी घुसेको छ, जसले गर्दा व्यवसाय नै पार्टीगत हिसाबले चले जस्तो हुन्छ । तालिमको विषयमा पनि पहुँचको आधारमा एकजनाको मेकअप स्टुडियोमा मात्र कार्यक्रम हुन्छ ।’
त्यसो त यो व्यवसायले नेपालको सामाजिक संरचनामा ल्याएको परिवर्तन निकै गहिरो छ । विशेषगरी मुस्लिम र मधेसी समुदायका महिलाहरू, जो हिजोसम्म घरबाहिर निस्कन पनि कठिन थियो, आज उनीहरू ब्युटीपार्लरमार्फत आर्थिक रूपमा सबल भएका छन् । यो समावेशीकरणको एउटा उत्कृष्ट नमुना र नेपालको सन्दर्भमा एउटा ठूलो आर्थिक क्रान्ति रहेको प्रशिक्षक सायदा तबसुम बताउँछिन् । तर, राज्यले यस्तो महत्वपूर्ण क्षेत्रलाई अनौपचारिक भनेर पन्छाइरहन नमिल्ने बताउँदै उनले अबको राष्ट्रिय बहस महिलाहरूको श्रमको मूल्य उनीहरूको स्वास्थ्यको सुरक्षा र बजेटको पारदर्शी वितरणमा केन्द्रित हुनुपर्नेमा उनको जोड छ । सामाजिक सुरक्षा कोष र विशेष स्वास्थ्य बिमाको दायरामा ल्याउनु राज्यको दायित्व रहेको र सौन्दर्य कला व्यवसाय नेपालको अर्थतन्त्रको खम्बा रहेको बताउँदै उनले जसले धेरै महिलाहरुको हातमा सीप दिएको र हजारौँ घरमा चुल्हो बालेको बताइन् । तर, यो पेसा अहिले नीतिगत शून्यता र राजनीतिक सिन्डिकेटको धमिराले खिइयाइरहेको प्रति उनीहरु चिन्तित छन् ।




