आजको मिति: बिहिबार, जेठ २१, २०८३
१२:२७ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

उपेक्षामा प्रधानमन्त्री बालेनको निर्वाचन क्षेत्र

वाचा पत्रमा देखाइयो आश्वासन, चुनाव जितेपछि पहिलो बजेटमा शून्य

Infinite Scroll Ad


दमक ।
झापा क्षेत्र नम्बर ५ विगतका बजेटमा सर्वाधिक चर्चामा रहने निर्वाचन क्षेत्र हो । यो निर्वाचन क्षेत्रमा बजेट वक्तव्यमा योजनाको चाङ लाग्थ्यो । सधैँ शक्तिमा रहने व्यक्ति जिताउने यो निर्वाचन क्षेत्रमा यसपटक भने बजेट वक्तव्यमा योजनाहरू शून्यजस्तै छन् । यो निर्वाचन क्षेत्रबाट सधैँ निर्वाचित हुने केपी शर्मा ओली सत्तामा हुँदा होस् या प्रतिपक्षमा हुँदा बजेटको ओहिरो लाग्थ्यो । यसपटक पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बोलेन्द्र शाह (बालेन) प्रधानमन्त्री छन् । तर, यो क्षेत्रलाई बजेट भने शून्य छ ।

बजेट वक्तव्यभरि झापा ५ को एउटा स्थानीय तह दमक एक ठाउँ र झापा एक ठाउँमा मात्र समेटिएको छ । बालेननिकट चाहिँ यतिबेला बजेटमा नआए पनि रातो किताबमा योजना पर्ने भन्दै बचाउ गरिरहेका छन्प्धानमन्त्री शाहले आफ्नो चुनावी वाचा पत्रमा दमक–रवि–चिसापानी सडक खण्डको निर्माण, आदिवासी जनजाति रंगशाला, दमक अस्पतालको स्तरोन्नति, र गौरादह कृषि भण्डारण केन्द्रलगायत आयोजनालाई प्राथमिकताका साथ अघि सारेका थिए । तर, हालै सार्वजनिक बजेटको मुख्य वक्तव्यमा यी योजनाहरूका लागि कुनै ठोस बजेट र कार्यक्रम परेनन् । दमक १० को साइन्स पार्क र दमक बहुप्राविधिक शिक्षालय जस्ता शैक्षिक पूर्वाधारका विषय पनि यो बजेटमा ओझेलमा परेका छन् । जसले प्रधानमन्त्री बालेनले यो क्षेत्रलाई चुनाव जित्ने भ¥याङ मात्र बनाए भन्ने पुष्टि हुन्छ ।

नेपालको संसदीय राजनीतिमा एउटा स्थापित र कतिपय अवस्थामा विकृत मानिएको ‘परम्परा’ छ । जो नेता शक्तिशाली कुर्सीमा पुग्छ, राज्यको ढुकुटी र बजेटको ठूलो हिस्सा उसैको निर्वाचन क्षेत्रमा खनिन्छ । विगतका प्रधानमन्त्री र अर्थमन्त्रीहरूका जिल्ला र निर्वाचन क्षेत्रका सुगम गाउँहरूमा समेत अर्बौंका योजना थुप्रिने तर दूरदराजका बस्तीहरू सामान्य पूर्वाधारका लागि पनि छटपटाउनुपर्ने नियति नेपाली जनताका लागि नयाँ होइन । यही पृष्ठभूमिबीच, मुलुकको पछिल्लो राजनीतिक समीकरण र परिवर्तनको लहरसँगै झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न पुगेका बालेनको पहिलो बजेट वक्तव्य सार्वजनिक भएको छ । तर, यो बजेट सार्वजनिक भएसँगै प्रधानमन्त्री शाहकै निर्वाचन क्षेत्र ‘झापा–५’ मा भने खुसीयाली छाउनुको साटो एउटा गम्भीर, पेचिलो र चौतर्फी बहसले जन्म लिएको छ ।

Sidebar Premium Ad

बहसको केन्द्रमा निर्वाचनका बेला दमक, गौरादह, कमल र गौरीगञ्जका गल्ली–गल्लीमा बाँडिएको त्यो निलो रंगको ‘वाचा पत्र’ रहेको छ, जसमा झापा–५ को काँध फेर्ने अनेकौँ महत्वाकांक्षी बुँदा र सपनाहरू कोरिएका थिए । अहिले पनि नागरिकसँग सुरक्षित रहेको सो वाचा पत्रमा रहेका चुनावी योजनाहरू यसपटकको सङ्घीय बजेटको वक्तव्यमा लगभग ‘शून्य’ जस्तै देखिएका छन् । अहिले झापा–५ का चियापसल, चौतारी, युवा क्लबदेखि लिएर सामाजिक सञ्जालका भित्ताहरू तातेका छन् । मतदाताहरूले आफ्नै क्षेत्रका बुँदा समेट्न नसक्ने प्रधानमन्त्रीले देश कसरी बदल्लान् भन्दै प्रश्न उठाइरहेका छन् भने अर्कातर्फ नीतिगत बहस गर्नेहरूले यसलाई नेपालमा नयाँ राजनीतिक संस्कारको ऐतिहासिक सुरुवातका रूपमा व्याख्या गरिरहेका छन् ।

प्रधानमन्त्री शाहको पहिलो बजेटमा झापा–५ का चुनावी बाचाहरू हुबहु नदेखिनुलाई यहाँका नागरिकप्रति ‘चुनावी धोका’ का रूपमा मात्रै चित्रण हुन थालेको छ । देशको सर्वोच्च कार्यकारी पदमा पु¥याउने झापा–५ का रैथाने जनताका आधारभूत आवश्यकता र सपनाहरू कतै अलपत्र त पर्ने होइनन् भन्ने संशय उत्पन्न भएको छ । झापा–५ का मतदाता र सिंगो देशले अहिले उनको प्रत्येक कदमलाई नजिकबाट नियालिरहेका छन् ।
निर्वाचनका बेला बालेन झापा–५ का जनतासामु वाचा पत्रको नाममा आश्वासनको पोको बाँडेका थिए । तर, त्यो वाचा अहिले देशको शक्तिशाली प्रधानमन्त्री हुँदा डस्टबिनमा फालिएको छ । वाचा पत्रमा यस क्षेत्रका वर्षौँदेखिका अधुरा र माग गरिएका विकासका एजेन्डाहरू थिए । वाचा पत्रको सबैभन्दा ठूलो र आकर्षक खण्ड पूर्वाधार विकासको थियो, जसमा इलाम र पाँचथरलाई जोड्ने व्यापारिक तथा रणनीतिक दमक–रवि–चिसापानी सडक खण्डलाई यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

तर, बजेट भाषणमा यो सडकको नाम कतै देखिएन । त्यसै गरी ‘हाम्रो रंगशाला, हाम्रो पहिचान’ को नारासहित आदिवासी जनजातिको संस्कृति र इतिहास झल्कने गरी आदिवासी जनजाति रंगशाला निर्माण गर्ने वाचा थियो । कमल ५ मा निर्माणाधीन यो रंगशाला एउटा योजना मात्र हैन, राज्यले आदिवासी जनजातिमाथि गरेको ज्यादतीको रूप थियोे । यो रंगशाला आदिवासी जनजातिको राज्यविरुद्धको लडाइँ थियो । खासगरी बालेनसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको लडाइँ थियो । यही मुद्दा लिएर बालेन चुनावमा होमिए । तर, उनले पनि यो रंगशालालाई बिर्सिए । वाचा पत्रमा प्राथमिकता पाए पनि यो रंगशाला बजेटमा कतै देखिएन ।

Sidebar Premium Ad

यस्तै, दमकमा बन्ने भनेको विराट बुद्ध पार्कको निर्माण सम्पन्न गर्ने वाचा गरिएको थियो, जसलाई बजेटको प्राथमिकतामा समेटिएन । दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गर्ने, गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन केन्द्र बनाउने, र दमक १० मा अवस्थित साइन्स पार्कलाई व्यवस्थित गर्ने वाचा पत्रमा उल्लेख थियो । स्वास्थ्य क्षेत्रतर्फ दमक अस्पताललाई पहिलो चरणमा ३०० शैय्याको अस्पतालका रूपमा स्तरोन्नति गर्ने, २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने, र ‘प्रत्येक घरमा शुद्ध पानी, परिवारमा स्वस्थ कहानी’ नारासहितको कार्यक्रम ल्याउने वाचा थियो ।

दमकमा निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको दमक भ्युटावर र दमक सभागृहलाई उच्चतम् नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याउने वाचा पत्रमा उल्लेख थियो । तर, बालेनको पहिलो बजेटसम्म आउँदा यी योजना कहीँ कतै देखिएका छैनन् । दमकलाई पूर्वी नेपालको आइटी हब बनाउने दाबी वाचा पत्रमा थियो । तर, यो वाचा पनि निर्वाचन सकिएसँगै डस्टबिनमा फालिएको अनुभूति यहाँका नागरिकले गरेका छन् । जब अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरे, तब यी दमक र आसपासका क्षेत्र केन्द्रित विशिष्ट योजनाहरू कतै पनि उच्चारण भएनन्, जसले गर्दा स्थानीय स्तरमा ‘वाचा एउटा, बजेट अर्को’ भएको महसुस जनताले गरेका छन् ।

सरकारको बजेटमा झापा ५ नसमेटिनु मतदाताप्रतिको उपेक्षा भएको दमक उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष भगवान बस्नेतको भनाइ छ । यसले झापा ५ विकासमा पछि पर्ने देखिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले झापा ५ लाई त्यति धेरै महत्व नदिएको जस्तो भएको छ । समग्र देश बनाउन गएको हो भन्ने बुझाइ उहाँको भयो होला । तर, यहाँबाट त हामीले हाम्रो प्रतिनिधित्व गर्न पठाएको हो । झापा ५ मा बजेट नपर्दा यहाँका मतदातालाई उपेक्षा गरेको हो भन्ने बुझेका छौँ । मतदाताको महत्व नबुझेको देखियो,’ उनले भने, ‘बन्दै गरेका आयोजनालाई निरन्तरता नदिनु भनेको उपेक्षा नै हो । हाम्रो क्षेत्र त विकासमा पछि पर्ने देखियो । गौरवका योजनाहरू पनि परेनन् । निर्वाचन जितेको केही महिनामा नै वाचा बिर्सनु भयो ।’

Above Content Ad
Header Top Ad

बजेट सार्वजनिक भएको केही दिनभित्रै यहाँका चोक, बजारहरूमा प्रतिक्रियाहरू सुनिन थालेका छन् । विगतमा ठूला दलका हेभीवेट नेताहरूलाई जिताएर पठाउँदा मन्त्री बन्नासाथ जिल्लामा बजेटको बाढी आउने गरेको देखेका झापाली मतदाताका लागि देशकै कार्यकारी प्रमुख आफ्नै क्षेत्रको हुँदा बजेटमा नामसमेत नपर्नु अनौठो र बिझाउने विषय बनेको छ ।

स्थानीय युवाहरूले परम्परागत पार्टीहरू भन्दा फरक सोच र नयाँ भिजन भएका बालेन शाहलाई विश्वास गरेर जिताएको तर देशको प्रधानमन्त्री भएपछि झन् झापा–५ का यी अधुरा र राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ्नुपर्नेमा पहिलो बजेटमै मुख्य मागहरू शून्य पारिएको भन्दै आक्रोश पोखिरहेका छन् । झापा ५ मा बजेट नपर्नु दुःखद् भएको दमक बहुमुखी क्याम्पसकी अर्थशास्त्र विभाग प्रमुख सहप्राध्यापक राधिका ओझा बताउँछिन् । ‘त्यहाँबाट यसअघि प्रधानमन्त्री हुँदा विभिन्न नाममा योजनाका आएको देखिएका थियौँ । तर, ती योजना सही कार्यन्वयन हिजो पनि भएको थिएन । यो क्षेत्रमा बजेट नआउनु दुःखको कुरा हो । त्यहाँ हाम्रो बल पुगेन या बजेट थोरै हुन पुग्यो । देशको बजेट नै थोरै हुन्छ । तसर्थ समेटिएन कि ! या त हाम्रो क्षेत्र प्राथमिकतामा परेन या पहुँच पुगेन,’ उनले भनिन्, ‘विगतदेखि नै चलिरहेका आयोजनाप्रति विचार गर्नुपर्ने हो । बजेटमा यो क्षेत्रमा केही नपर्नु कमजोरी भयो । प्रधानमन्त्रीले चुनावमा गरेको वाचा पूरा गर्नुपर्ने जिम्मेवारी हो । चुनावमा गरे जति वाचा त पूरा हुँदैन । केही नपर्नु दुखको कुरा हो । अझै पनि समेट्नुपर्ने हुन्छ । यसका लागि जनताको तर्फबाट झकझक्याउनुपर्ने आवश्यकता छ ।’

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *