दमक नगरपालिकाको भौगोलिक रूपमा सबैभन्दा ठूलो र ग्रामीण परिवेश बोकेको वडा हो, दमक ३ । संघीयता कार्यान्वयनपछिको पहिलो र दोस्रो कार्यकालको नेतृत्व सम्हालिरहेका युवा वडाध्यक्ष नवीन बराल विकासप्रेमी र सक्रिय जनप्रतिनिधिको रूपमा चिनिन्छन् । पहिलो कार्यकालमा विधि र कानुन निर्माणको जग बसालेका बरालले दोस्रो कार्यकालसम्म आइपुग्दा सडक सञ्जाल, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्वास्थ्य सेवाको विस्तारमा उल्लेख्य सफलता हासिल गरेका छन् । वडाको भौतिक पूर्वाधारदेखि विपन्न वर्गको आवास निर्माणसम्मका योजनालाई कसरी मूर्तरूप दिइयो भन्ने विषयमा वडाध्यक्ष बरालसँग सप्ताहिक बहसले गरेको कुराकानी :
दोस्रो कार्यकालसम्म आइपुग्दा वडाको काममा कस्तो अनुभूति गर्नुभएको छ ?
पहिलो कार्यकाल संघीयताको अभ्यास र विधि सिक्दैमा बित्यो । कुन कार्यक्रमले जनतालाई वास्तविक लाभ दिन्छ भन्ने बुझ्न समय लाग्यो । दोस्रो कार्यकालमा भने ती सिकिएका कुरालाई कार्यान्वयन गर्न सहज भएको छ । अधुरा योजनाहरू पूरा भएका छन् र काम गर्ने शैलीमा थप परिपक्वता आएको छ । अहिले चाहिँ काम गर्ने कुरामा पनि सहज भएको छ ।
संघीयता कार्यान्वयनको पहिलो वडाध्यक्ष र दोस्रो वडाध्यक्ष हुँदा के फरक पाउनुभयो ?
पहिलो कार्यकाल सिक्दा, विधि बनाउँदा र कानुन बनाउँदामै समय लाग्यो । बजेटलाई व्यवस्थापन कसरी गर्ने, कार्यक्रम कसरी गर्ने, कुन कार्यक्रमले जनता कसरी लावाम्भित हुँदा रहेछन् भन्ने सिकियो । अहिले ती कुराले कार्यान्वयनको चरणमा सहज भएको छ ।
तपाईंले दुई कार्यकाल वडाध्यक्ष भएर वडामा के परिवर्तन गर्नु भएको छ ?
पहिलोपटक वडाध्यक्ष हुँदा दमक ३ मा कृष्णमन्दिर–ढुकुरपानी सडक मात्रै कालोपत्रे थियो । अहिले दमक ३ का लामो र ठूलो बाटो कालोपत्रे भएको छ । भित्रि बाटो पनि कालोपत्रे भएको छ । ढुकुरपानी माध्यमिक विद्यालयको भवन बनेको छ । शिक्षामा गुणस्तर थिएन, त्यसलाई सुधार गरेका छौँ । भवनको व्यवस्थापन भएको छ । चुलाचुलीलाई माध्यमिक विद्यालय बनाउन सफल भयौँ । अंग्रेजी मध्यममा पढाई हुँदैन थियो । अहिले अंग्रेजी माध्यममा पढाई हुन थालेको छ । शिक्षकको व्यवस्थापन गरेका छौँ । स्वास्थ्य क्षेत्रमा पनि सुधार भएको छ । दमक ३ मा ठूलो भूगोल हुँदा स्वास्थ्य क्षेत्र एकतिर मात्र थियो । त्यसलाई अहिले दुई भागमा विभाजन गरेर स्वास्थ्य सेवा दिइरहेका छौँ । ल्याब व्यवस्थापन गरेका छौँ । अहिले डाक्टरहरु हप्तामा दुईपटक पुगेर सेवा दिइरहनुभएको छ । पहिलो कार्यकाल सुरु गर्नुभन्दा अहिले दोस्रो कार्यकालमा यहाँ आउँदा धेरै पूर्वाधार बनेका छन् । गाउँसम्म सडक, खानेपानीको पहुँच पुगेको छ । पहिला ट्युबेलको पानी खान्थ्यौँ । अहिले धाराको शुद्धपानी आउँछ ।धेरै कुरामा सुधार भएको छ ।
दमक ३ ग्रामिण वडा हो । शहरी र ग्रामिण वडामा के फरक हुने रहेछ ?
शहरको वडा विकास गर्न पनि फरक प्रकृतिको हुन्छ । हाम्रो वडा गाउँको हो । पहिलाको तीनवटा वडा जोडिएर बनेको छ । भूगोल र जनसंख्याको हिसाबले पनि दमकको सबैभन्दा ठूलो वडा हो । अरू वडालाई सहज छ । हाम्रोमा चाहिँ विकास सबै क्षेत्रमा गर्नुपर्ने छ । ग्रामिण वडामा धेरै चुनौती हुन्छ । तर, चुनौतीका बीच धेरै काम गर्न सफल भएको अनुभूति भएको छ ।
नागरिकको अपेक्षा चाहिँ कस्ता छन् ? स्थानीय तहको बजेटले ती अपेक्षा पूरा हुन्छ ?
वडा र पालिकाको बजेटले त धेरै परिवर्तन गर्न सकिँदैन । विगतमा संघीय र प्रदेश सरकारबाट बजेट उल्लेखीय रूपमा ल्याउन सफल भएका कारण ठूला आयोजना सम्पन्न गर्न पनि सफल भयौँ । प्रस्तावना भएको मदन भण्डारी रंगशाला मात्रै पूरा हुन सकेन । विभिन्न कारणले ओझेलमा प¥यो । जनताको अपेक्षा सुरुमा त सडककै हुन्छ । त्यसपछि विपन्नलाई औषधी उपचारसम्मको कुरा हुन्छ । विपन्नलाई विपन्नकै समस्या, मध्यम वर्गलाई त्यहीअनुसारका अपेक्षा हुन्छ । जनताका अपेक्षा धेरै हुन्छन् । तर, सबै अपेक्षा त पूरा गर्न सकिँदैन । कतिपय कानुनी अड्चनले गर्दा चाहेर पनि पूरा गर्न सकिँदैन । जनताका धेरै ठूला अपेक्षा हुँदैन । साना अपेक्षा पूरा गर्न प्रयत्न गरिरहेका छौँ ।
लक्षित वर्गको जीवनस्तर उकास्न के के गर्नुभएको छ ?
विपन्न वर्गका लागि वडा र नगरको बजेटबाट सीपमूलक तालिम दिएको छ । धेरै जनाले तालिमपछि रोजगार पनि गरिरहनुभएको छ । यहाँ सीप लिएर विदेशका प्रयोग पनि गरिरहनुभएको छ । जस्तो कि वारिष्टा तालिम दिएकाले विदेशमा राम्रो गरिरहनुभएको छ । क्षमता विकासका तालिम पनि दिएका छौँ । यसले धेरै जनाको क्षमता विकास पनि भएको छ । हाम्रो वडा खेलसँग पनि जोडिएकाले खेल क्षेत्रमा पनि लगानी गरेका छौँ । खेलाडीलाई प्रोत्साहनसँगै खेल सामग्री पनि दिएका छौँ । विपन्नलाई संघीय सरकारको सहयोगमा जस्तापाता दिएका छौँ । ३३ वटा त आवास नै निर्माण गरिदिएका छौँ । यसमा संघीय सरकारले दिएको बजेटलाई नगरपालिकाले थप गरिदिएको हो । हामीले जस्तापाता चाहिँ तीन सय घर विपन्नलाई दिएका छौँ ।




